१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
अपराध

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

नवलपरासीका एक शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी शिक्षण सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ।

आयोगका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर खन्नाहाले गलत शैक्षिक कागजातका आधारमा शिक्षक पदमा नियुक्ति लिएर लाभ तथा सुविधा उपभोग गरेको पाइएपछि उनीविरुद्ध आरोपपत्र दायर गरिएको हो।

खन्नाहाले श्री भवानी माध्यमिक विद्यालय, नवलपरासीमा २०५९ मंसिर १ गते अस्थायी शिक्षकका रूपमा सेवा सुरु गरेका थिए। त्यसपछि २०७५ चैत २९ गते उनी सोही विद्यालयमा प्राथमिक तहका स्थायी शिक्षक बनेका थिए।

अनुसन्धानका क्रममा उनले भारतस्थित ‘नागाल्याण्ड बोर्ड अफ स्कूल एजुकेशन, कोहिमा’बाट जारी गरिएको भनिएको प्रवेशपत्र, लब्धाङ्कपत्र तथा माइग्रेसन सर्टिफिकेट नक्कली रहेको पाइएको अख्तियारले जनाएको छ। हाल उनी मणिसंगम माध्यमिक विद्यालय, विनयी त्रिवेणीमा प्राथमिक तह तृतीय श्रेणीका शिक्षकका रूपमा कार्यरत रहेको उल्लेख गरिएको छ।

अख्तियारले झुट्टा शैक्षिक प्रमाणपत्र प्रयोग गरी सरकारी सुविधा र पद प्राप्त गर्नु भ्रष्टाचारजन्य कार्य भएको दाबी गरेको छ। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कैद तथा जरिवानाको मागसहित मुद्दा दायर गरिएको जनाएको छ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार अदालतबाट यस विषयमा कानुनी प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित: ११ जेष्ठ २०८३ १८:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App