काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन्। प्रमुख शाहको कार्यकक्षमा भएको भेटघाटमा आपसी विषयमा कुराकानी भएको थियो।
भेटका क्रममा प्रमुख शाहले भने, ‘आपसी कार्यक्रमका रुपमा हामीले आइटी (सूचना प्रविधि) को तालिम चलाउन सक्छौँ। यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन्। नेपाली युवाहरुले आय आर्जन गर्न पाउँछन्। यससँगै उनीहरु विश्वबजारका लागि दक्ष जनशक्ति बन्न सक्छन्।’
युनेस्को रचनात्मक सहर सञ्जाल अन्तर्गत चलचित्र विधामा जोडिएर काठमाडौँले काम गरिरहेको बताउँदै उनले भने ‘यसमा हलिउडका चलचित्र निर्माता, निर्देशक, कलाकार, वितरकसँग आपसी कार्यक्रम तय गर्न दूतवासले सहजीकरण गरिदिनेछ भन्ने अपेक्षा गरेका छौँ।’
भेटका क्रममा राजदूत थम्प्सनले अमेरिकाकातर्फबाट सहजीकरण गर्न सकारात्मक रहेको बताए। ‘हामी यहाँका सिर्जनात्मक कार्यक्रमहरुमा सहभागी हुन तथा यस्ता कार्यक्रममा अमेरिकाकातर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन सहजीकरण गर्न सकारात्मक छौँ।’ उनले भने।
थम्प्सनले प्रमुख शाहलाई अमेरिका भ्रमणको निमन्त्रणा समेत दिएका छन्।
प्रकाशित: १८ माघ २०८० १२:४९ बिहीबार