१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

दोलखामा आधा घटे एमाले

बहुदलयताका प्रायः चुनावमा नेकपा एमालेले आफ्नो गढ मान्दै आएको दोलखामा एमालेका सदस्य आधाभन्दा बढी घटेका छन्।

आसन्न जिल्ला अधिवेशनको मुखैमा रहेको दोलखा एमालेले जिल्ला नेतृत्व छान्न चुनिएर आउने वडा प्रतिनिधि चयन गर्न वडा तहमा खटेर जाने प्रतिनिधिको हातमा अघिल्लो पटकको तुलनामा आधाभन्दा कम संख्यामा पार्टी सदस्यको सूची पठाउँदै छ।

दोलखामा यही महिनाको आगामी १९, २० र २१ गते एमालेको १०औं जिल्ला अधिवेशन हुँदै छ। १०औं अधिवेशनको प्रक्रियामा सहभागी हुनका लागी पार्टी केन्द्रले पठाएको अन्तिम नामावलीमा अघिल्लो अधिवेशनको तुलनामा ८ हजार ५ सयजना संगठित सदस्य घटेका छन्।

पार्टी जिल्ला कमिटीका अनुसार यसअघि नवौं अधिवेशनमा १५ हजार ७ सय जनाले पार्टी सदस्यता नवीकरण र नयाँ भरेका थिए। यस पटकको अधिवेशनअघि ७ हजार १ सय ३४ जनाले मात्र पार्टी सदस्यता नवीकरण र नयाँ भरेका छन्। अघिल्लो अधिवेशनको तुलनामा यो पटक ८ हजार ५ सय ७६ ले दोलखामा एमाले सदस्य घटेका हुन्।

नवीकरण गर्नेको संख्या भने दुई तिहाई हाराहारीले घटेको छ। यो अधिवेशन प्रक्रियामा जोडिँदै गरेका जम्मा सदस्य संख्या ७ हजार १ सय ३४ मा ११ सय ६६ जना नयाँ सदस्य छन्। यो हेर्दा अघिल्लो पटकका १५ हजार ७ सय सदस्यमध्ये ५ हजार ९ सय ५८ जनाले एमाले सदस्य नवीकरण गरेका छन्।

जिल्ला स्तरका नेताले भने आफैंले पैसा तिरेर संगठित नवीकरण गर्ने कडा नियम यस पटक लागु गरेका कारण पार्टी सदस्य घटेको दाबी गरेका छन्। ‘पार्टी कब्जा गर्नलाई यसअघि लाखौं पैसा हालेर प्रतिनिधि बढी ल्याउन गाउँबाहिर र देशविदेशमा रहेकाहरूसहितको फर्जी नाम नवीकरण गर्ने विकृत प्रचलन थियो,’ दोलखा एमालेका पूर्व जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलले भने, ‘यस पटक आफ्नो सदस्यता मात्र नवीकरण गर्न पाउने नियमका कारण यति ठुलो संख्यामा सदस्यता घटेको हो।’

पोखरेलले जिल्लाका ७४ मध्ये तीनओटा वडामा अझै पुरानै प्रवृत्ति दोहोरिएको आरोप लगाएका छन्। ‘अन्त साथीहरूले आफ्नो सदस्यता मात्र भर्ने सर्कुलर इमानदारिताका साथ कार्यान्वयन गर्नुभयो,’ उनले भने, ‘तर मेलुङ गाउँपालिकाका तीनओटा वडामा पुरानै प्रवृत्ति दोहो¥याएको भेटियो।’ मेलुङमा जिल्लाभरमा सबैभन्दा धेरै संगठित सदस्य बनेका छन्।

पार्टी जिल्ला कार्यालयको रेकर्डअनुसार जिल्लाका ९ स्थानीय तहका ७४ ओटा वडामा ७ हजार १ सय ३४ जना पार्टी सदस्यले वडा प्रतिनिधि छनोट प्रक्रियामा भाग लिँदै छन्। भीमेश्वर नगरपालिकामा १२ सय १८ संगठित सदस्य छन्। अघिल्लो अधिवेशनमा यो नगरमा ३१ सय सदस्य थिए। यस पटकका १२ सय १८ मध्ये ८ सय ९६ पुरुष र ३ सय २२ महिला छन्। तीमध्ये ८८ जना दलित छन्।

यस्तै जिल्लाको कालिञ्चोक गाउँपालिकामा ७ सय ३४, विगु गाउँपालिकामा ५ सय ८४, गौरीशंकर गाउँपालिकामा ८ सय २६, वैतेश्वर गाउँपालिकामा ७ सय १४, जिरी नगरपालिकामा ६ सय ३३, तामाकोसी गाउँपालिकामा ५ सय ९१, मेलुङ गाउँपालिकामा १२ सय ६३ र शैलुङ गाउँपालिकामा ५ सय ६१ संगठित सदस्य छन्।

पार्टी जिल्ला कार्यालयका अनुसार जिल्लाभरका ७४ ओटै वडासहित सबै निर्वाचन एकाइहरूमा मंगलबारदेखि जिल्ला अधिवेशनमा भाग लिने प्रतिनिधि छनोट कार्य हुँदै छ। मंगलबारदेखि आगामी शुक्रबारसम्म वडा प्रतिनिधि छनोटको कार्यतालिका रहेको छ। त्यसका लागी सबै स्थानमा खटेर जाने प्रतिनिधिलाई अनुशिक्षण गराइएको जिल्ला कार्यालयका सचिव रमेश श्रेष्ठले जानकारी दिए।

एमाले जिल्ला अधिवेशन आयोजक कमिटीका संयोजक नरबहादुर श्रेष्ठले आफ्नो पार्टी सदस्यता आफैंले नवीकरण गर्ने सर्कुलर कडाइका साथ कार्यान्वयन गराइएकाले संख्या घटेको बताए। ‘हाम्रो यति ठुलो जनशक्ति बिदेसिएको छ, गाउँघर रित्ता छन्,’ उनले भने, ‘पार्टीलाई थप चलायमान बनाउन फिल्डमै खटिने सदस्यबाट मात्रै पार्टी चलाउने अभियानका कारण आफ्नो पैसा आफैंले तिरेर नवीकरण गर्ने नीतिले गर्दा संख्या घटेको देखिएको हो, ढुक्क हुनुस् दोलखामा एमाले कहिल्यै घट्दैन।’

प्रकाशित: १० माघ २०८० ०६:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App