२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचन: गठबन्धन बैठक विना निष्कर्ष टुङ्गियाे

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि राष्ट्रिय सभामा समेट्नका लागि भन्दै बसेको गठबन्धन बैठक विना निष्कर्ष टुङ्गिएको छ।

बैठकमा राष्ट्रिय सहमतिका नाममा एमालेले ६ सीट मागेको ब्रिफिङ गरेपछि कुनै पनि निर्णय नगरी टुङ्गिएको हो। 

बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट सहयोग अपेक्षा गर्न नहुने विगतमा पनि सहयोग गर्ने नाममा समितिका सभापति खुस्काएको बताउँदै अहिले पनि संक्रमणकाली न्यायसम्बन्धी विधेयकमा एमालेले सहयोग गर्ने कुनै पनि आधार नदेखिएको भन्दै विरोध गरेका थिए। एसका अध्यक्ष माधव नेपालले विरोध गरेपछि बैठक टुङ्गिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेबाट ६ सिट मागेको र त्यसमा के गर्ने भन्ने बारेमा छलफल सुरु भएको थियो। गठबन्धन दलहरूले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पनि एमालेलाई साथमा ल्याउनका लागि ३ सिट दिने गरी सहमति गर्ने छलफल भएपनि नेपालले त्यसमा असहमति राखेको स्रोतको दाबी छ। माओवादीका नेताहरुले एमालेको ९ सिट गठबन्धनले दलहरूले सबै आफ्ना नाममा बाड्नु भन्दा एमालेलाई पनि समेट्न दबाब दिएका थिए। तर गठबन्धन दलहरूले यो विषयमा असहमत भएका छन्।

प्रधानमन्त्रीले पनि संक्रमणकालीन न्याय सम्बन्धी कानुन निर्माणमा साथ खोज्दै एमालेलाई साथ दिने वचन दिएका थिए। प्रधानमन्त्रीको सो वचनपछि एमालेले गठबन्धन दलमध्ये जसले साथ दिन्छ उससँग सहकार्य गरेर जाने खुला नीति लिएको छ। आज बिहानको बैठकपछि नेपाली काँग्रेसका नेता रमेश लेखकले एमालेसँग समसामयिक विषयमा छलफल भइरहेको बताए। ‘एमालेसँगको समसामयिक विषयमा संवाद जारी रहन्छ’, नेता लेखकले भने। उनका अनुसार बैठक आज साँझ वा भोली बिहान बस्नेछ।

गठबन्धन दलहरूबिच राष्ट्रिय सभाको निर्वाचनको विषयमा छलफल भइरहेको र एमालेसँग समग्र राजनीतिक विषयको सम्बन्धमा छलफल भइरहेको पनि बैठक पछि काँग्रेस नेता लेखकले भने। एमालेले गठबन्धन भित्रका दलहरूसँग पनि छुट्टा छुट्टै सहकार्य गर्न सकिने नीति लिएपछि सबैसँग खुला छलफल गरिरहेको छ। एमालेले यति बेला माओवादी। जसपा, काँग्रेससँग अलग अलग छलफल थालेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले एक्लैले राष्ट्रिय सभाको निर्वाचन नजित्ने भएकाले गठबन्धन र त्यसभित्र रहेका दलहरूसँग अलग–अलग छलफल गरी सहकार्य गर्न सकिने बताएका छन्।

उनले संक्रमणकालीन न्यायको विषय र राष्ट्रिय सभाको निर्वाचन अलग भएकाले शर्तसहितको सहकार्य भने संभव नभएको बताएका छन्। एमालेले यसरी समानान्तर रुपमा कुराकानी गर्न थालेपछि गठबन्धन दलहरूभित्र असन्तुष्टि समेत पैदा भएको छ। सुरुमा प्रधानमन्त्री दाहालले एमालेलाई साथमा लिएर जाने प्रस्तावलाई गठबन्धन दलमा राखेका थिए। गठबन्धन दलका नेताहरुले त्यसमा सर्त राख्नुपर्ने जनाएका थिए। एमालेले भने सर्त हो भने आफूहरूपछि हट्ने जनाइसकेको छ।

प्रकाशित: १९ पुस २०८० ०६:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App