१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘व्यवस्था फाल्नुपर्छ’ भन्ने राप्रपा र रास्वपालाई मेलमिलापमा छैन निम्तो

नेपाली काँग्रेसले आज काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा ४८औँ मेलमिलाप दिवस मनाउँदै छ।

दिउँसो एक बजे सुरु हुने भनिएको मुख्य कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर लगायतलाई निम्तो गरिएको छ। यीमध्ये सबै कार्यक्रममा सहभागी हुने र वक्ताको रूपमा आफ्नो मन्तव्य राख्ने भएका छन्। काँग्रेसले  कार्यक्रममा मुख्य वक्ताका रूपमा ७/८ जना शीर्ष नेताहरूलाई कार्यक्रमको सूचीमा राखेको छ।

तर काँग्रेसले प्रत्यक्ष र समानुपातिक गरेर २० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र गणतन्त्र फालेर राजासहितको प्रजातन्त्रको वकालत गर्दै आएको र संघिय निर्वाचनमा १४ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत अन्य कुनैपनि स्वतन्त्र पार्टीहरूलाई निम्तो दिएको छैन।

‘हामीले चार वटा मुख्य विषयलाई आधार मानेर निम्तो पठाएका छौँ, ती चार वटा विषयलाई आधार बनाउँदा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी नपरेको हो’, नेपाली काँग्रेसका सूचना,  सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले नागरिक न्यूजसँग भने।

उनका अनुसार काँग्रेसले लोकतन्त्रका लागि लडेका, संविधानका पक्षधर, १२ बूँदे सम्झौतादेखि बृहत् शान्ति सम्झौता र संविधान निर्माणमा सहकार्य गरेका दलहरूलाई मात्र मेलमिलाप दिवसको मुख्य कार्यक्रममा निम्तो दिइएको हो।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको हक भने एउटा स्वतन्त्रलाई मात्र बोलाएर भएन, सबैलाई बोलाउन सम्भव नभएकाले नबोलाइएको हो’, विश्वकर्माले भने, ‘राजा ल्याउँछु भन्ने, यो व्यवस्था काम छैन भन्नेलाई कसरी बोलाउने?’ उनले सबैलाई समेट्दा वक्ताहरूको सङ्ख्या पनि बढ्ने कारणले जति सक्यो कार्यक्रमलाई छोटो र प्रभावकारी बनाउन यो पहल गरिएको जानकारी दिए।

काँग्रेसले आज ४८औँ राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउन लागेको हो। संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी)लगायतका नेताहरू राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई काँग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ।  

काँग्रेसले काठमाडौँमा मात्र होइन देशभर यो दिवस मनाउँदै आएको छ। राष्ट्रियता जोगाउनका लागि राजा र जनता मिलेर जानुपर्छ भन्ने सन्देशका साथ संस्थापक नेता वीपी कोइराला ८ वर्षे निर्वासन जीवन त्यागेर स्वदेश फकिएको दिन पनि हो पुस १६ गते ।

वीपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायतका नेताहरू राजासँगको मेलमिलापको नीति लिएर करिब आठ वर्ष लामो निर्वासित जीवनपछि भारतबाट २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए।

भारतमा निर्वासनमा रहँदा वीपीले सिक्किम भारतमा विलय भएको, पाकिस्तानबाट बङ्गलादेश अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन भएको देखे। त्यसैले देशको सार्वभौमसत्ता रक्षा गर्ने भन्दै उनको नेतृत्वमा सबै नेताहरू त्यति बेला स्वदेश फर्किएका हुन।

प्रकाशित: १६ पुस २०८० ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App