१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सुरक्षा समितिको बैठकमै पुगेर जब मुख्यमन्त्रीले सिडियो थर्काए

मधेस प्रदेशको मुख्यमन्त्री सरोज यादवले जिल्ला सुरक्षा समितिको बैठकमै पुगेर बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नवराज सापकोटालाई थर्काएका छन्।

मुख्यमन्त्री यादवले आफ्नै गृहनगरमा भएको घटनालाई लिएर बुधवार राति प्रजिअ सापकोटालाई थर्काएका हुन्।

सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हाजिर गराउने विषयमा बुधवार भएको झडपमा प्रहरीको गोली लागेर मृत्यु भएको घटनालाई लिएर उनले प्रजिअलाई थर्काएका हुन्।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले नगरपालिकाका प्रमुख किशोरी साह र नयाँ प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रसँग गोली लागेर एक जनाको मृत्यु भएको घटनाबारे सुरक्षा समितिको बैठकमा छलफल गरिरहेकै बेला मुख्य मन्त्री एक्कासि त्यहाँ पुगेका थिए। समितिको बैठक बुधवार साँझ पौने आठ बजे सिडिओ कार्यालयमा भइरहेको थियो। त्यत्ति नै बेला मुख्यमन्त्री यादव त्यहाँ पुगेका थिए।

सुरक्षा समितिकै बैठकमा जानकारी बिना पुगेका मुख्य मन्त्री यादवले प्रजिअ सापकोटालाई ‘तपाई किन प्रमुख प्रशासकीय अधिकृतलाई नगरपालिकामा अहिले हाजिर हुन नजानु भन्नु भएको, प्रशासकीय अधिकृत नगए पछि कसले तलब खुवाउने?’ भन्दै घटनाको दोषीलाई कडा कारबाही गर्नुस् भनी आफूले प्रजिअलाई थर्काएको मुख्य मन्त्री यादवले स्विकारेका छन्।

थाहै नदिए सुरक्षा समितिको बैठकमा पुगेका यादवले नगरप्रमुख साह र प्रशासकीय अधिकृत मिश्रलाई सँगै लिएर निस्किएका थिए।

‘प्रदेशको मुख्यमन्त्री हो वहाँ, हाम्रो सुरक्षा समितिको बैठकमा किन बोलाउने?’, बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले प्रश्न गरे, बैठकमा मुख्य मन्त्री एक्कासि आफै आउनु भो र अनावश्यक कुरा गरेर जानुभो।’

‘मेरो सुझाव नमानेकै कारणले यो घटना घट्यो, अझ उल्टै मुख्यमन्त्री ज्युले मलाई त को होस उनीहरूलाई हाजिर नहोऊ भनेर थर्काउनु भयो’, प्रजिअ सापकोटाले गुनासो गरे, ‘कर्मचारीलाई हाजिर गर्न नजाऊ भन्ने अधिकार तपाईँलाई कसले दियो भन्दै थर्काउनुभयो।’

प्रजिअ सापकोटाले आफूले नगर प्रमुखलाई ‘तपाई मिलाएर कार्यालयमा जानुस् भनेको’ तर मुख्यमन्त्रीले अर्कै बुझेको बताए।  

कर्मचारीलाई तलब खुवाउनको लागि प्रशासन मन्त्रालयले एक जना कर्मचारी जयनारायण यादवलाई निमित्त प्रशासकीय अधिकृतमा खटाएको अवस्थामा अहिलेसम्म उक्त नगरपालिकामा तलब भत्ता नखुवाइएको जानकारी उनले दिए। कर्मचारीहरूलाई तलब भत्ता नखुवाएकै कारण बुधवार नगरपालिकामा झडप भएको थियो। 

प्रजिअ सापकोटाले भने, ‘तलब भत्ता बाहेक पनि त्यहाँ भित्री धेरै कुरा मिलाउनु बाँकी थियो, २५ प्रतिशत सदस्यले हस्ताक्षर गरेको नगर सभा बदर गर्ने नगर प्रमुखले साहले लिखित सम्झौता गरेका छन्। तर त्यसलाई कार्यान्वयन नगरेर जबरजस्ती पेलेर जाँदा यो घटना भएको हो।’

प्रजिअ सापकोटाका अनुसार सिम्रौनगढ नगरपालिकामा नयाँ प्रशासकीय अधिकृत हाजिर गर्न जाँदा असन्तुष्ट पक्षले विरोध गर्ने पहिलेदेखि नै जानकारी थियो । अप्रिय घटनालाई रोक्नकै लागि नगर प्रमुख किशोरी साहलाई र नयाँ प्रशासकीय अधिकृत मिश्रलाई नगरपालिकामा अहिले हाजिर नहुन सुझाव दिइएको थियो।

मधेस प्रदेशको मुख्य मन्त्री यादवको गृह नगरपालिका समेत रहेको सिम्रौनगढ नगरपालिका शिक्षक, स्वास्थ्यकर्मीलगायतका ४ सय ५० जना भन्दा बढी कर्मचारीहरूले विगत पाँच महिनादेखि तलब पाएका छैनन्। तलब नपाएपछि दसैँ अघिदेखि नै उनीहरूले आन्दोलन गरिरहेका छन्।

उनीहरूको मागप्रति बेवास्ता गर्ने नगर प्रमुख साहलाई संरक्षण दिएको भन्दै स्थानीयले मुख्यमन्त्री यादवको आलोचना गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई नगरपालिकामा हाजिर गराउने विषयमा झडप हुँदा सिम्रौनगढ नगरपालिका– १ का लक्ष्मी बिन मुखियाको प्रहरीको गोली लागेर बुधवार मृत्यु भएको थियो। प्रहरी तर्फ ११ जना घाइते भएको बाराका प्रजिअ सापकोटाले जनाएका छन्।

सिम्रौनगढमा बुधवारको झडप रोक्न प्रहरीले ४५ सेल आश्रुग्यास र १२ राउन्ड हवाई फायर गर्नु परेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताएका छन्।

प्रकाशित: २८ मंसिर २०८० ०५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App