१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

भारतीय दूतावासका कन्सुलर उदयपुरमा

भारतीय दूतावासका कन्सुलर प्रसन्न श्रीवास्तव उदयपुर आइपुगेका छन्। बेलका नगरपालिका १ पुरन्दहस्थित जनता माविको भवन शिलान्यास गर्न कन्सुलर श्रीवास्तव पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्कासँगै उदयपुर आएका हुन्।

बेलका नगर प्रमुख अशोक कार्कीका अनुसार उदयपुर १ का प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काको पहलमा पुरन्दह माविका लागि ६ करोड हाराहारी लागतमा भवन निर्माण हुन लागेको छ।

सुविधासम्पन्न बहुतले विद्यालय भवन बनाउन पाँच करोड ९५ लाखको प्राविधिक इस्टिमेट तयार भएको छ, जसअनुसार भारत सरकारले ८० प्रतिशत अनुदान सहयोग गर्ने सम्झौता गरेको छ।

भवन निर्माणमा स्थानीय सरकारको सहभागितावापत बेलका नगरपालिकाले झन्डै ९० लाख हाराहारी बजेट सुनिश्चित गरिदिएको मेयर कार्कीले बताए। दूतावास र स्थानीय सरकारको साझेदारीमा बन्न लागेको भवनको डा. खड्का र कन्सुलर श्रीवास्तवले बुधबार संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रम रहेको मेयर कार्कीले बताए।

कक्षा शिशुदेखि १२ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालय भवन अभावमा जीर्ण टहरामा विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता छ। विद्यालय भवन अभावमा बालबालिकाको पठनपाठन प्रभावित हुँदै आएको सांसद खड्कालाई अवगत गराएपछि उनकै पहलमा  दूतावासले विद्यालयलाई नयाँ भवन बनाउन अनुदान सहयोग गरेको मेयर कार्कीले बताए।

भवन बनाउन चार करोड ५१ लाख हाराहारीमा ठेक्का लागिसकेको र शिलान्यास गरेलगत्तै दुई वर्षभित्र तोकिएकै समयमा निर्माण गरिसकेर हस्तान्तरण गर्ने सम्झौता छ।

विद्यालयका प्रधानाध्यापक नारायण रायमाझीले अब छिटै बालबालिकालाई सुविधासम्पन्न भवनमा राखेर पठनपाठन गर्न पाउने आशा जागेको बताए। डा. खड्काले विद्यालय भवन बनाउन भारतीय सरकारबाट करोडौं अनुदान दिलाएकोमा आफू र विद्यालय परिवार ऋणी हुने बताए। उनले जिल्लाकै पुरानो र गुणस्तरीय शिक्षा दिँदै आएको मावि पुरन्दहले यस्तो सहयोग पाएकोमा खुसी लागेको बताए।

प्रकाशित: २७ मंसिर २०८० ०७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App