१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सहिद परिवार भन्छन्ः आँसु पुछ्ने कोही भएन

शुक्रबार लहानको सहिद चोकमा छोराको प्रतिमामा माल्यार्पण गर्न आएका मधेस आन्दोनलका पहिलो सहिद रमेश महतोका मातापिता (रानोदेवी महतो(दायाँ, रबी महतो(बायाँ)। तस्बिर: मिथिलेश यादव

लहान- माघ ५ गते पहिलो मधेस विद्रोहले (०६३) दशक पार गरेको छ। यो दिनलाई मधेस केन्द्रित दलले मधेस बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन्। यही दिन (०६३) मधेस आन्दोलनको क्रममा लहानमा रमेश महतोले सहादत पाएका थिए। राज्यले महतोलाई मधेस आन्दोलनको पहिलो सहिद घोषणा गरिसकेको छ।

यो दिन लहानको सहिद रमेश चोकमा मधेसी नेता र सहिद परिवारको जमघट हुन्छ। सहिदहरुको प्रतिमामा माल्यार्पण गरी उनीहरुको योगदानलाई सम्झना गरिन्छ । शुक्रबार लहानमा राजपा फोरमको संयुक्त आयोजनामा बलिदानी सभा आयोजना गरिएको छ। जसमा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका अध्य सहित छ वटै सदस्य उपस्थित हुने प्रचार गरिएको थियो। तर, कार्यक्रममा राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवबाहेक कुनैपनि शिर्ष नेता उपस्थित भएनन्।

यादव सहिद पार्कमा सहिदहरुको प्रतिमामा माल्यार्पण गरेर पशुपति आदर्श उमाविको चौरमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

मधेसी दलले लहानमा ११ औं मधेस बलिदानी दिवस मनाईरहँदा छोराको सम्झनामा सहिद रमेश महतोका मातापिताको आँखा रसाएका थिए।

सहिद रमेशका पिता रबिले मधेसी नेताहरु अव सहिदलाई समेत विर्सिन थालेकोप्रति दुःख व्यक्त गरे। ‘छोराको बलिदानी खेर गएजस्तो लाग्छ’ उनले नागरिकसँग भने,‘सहिदहरुको सम्झनामा मनाईने दिवसका लागि समेत मधेसी नेताहरुलाई समय अभाव हुन थाल्यो।’ ०६३ को मधेस आन्दोलन सम्झँदै उनले भने,‘म जस्ता धेरै पिताले पुत्र गुमाएर स्थापित भएको अधिकार पनि खोसिएको सुन्दा ज्यादै दुःख लाग्छ।

मधेस आन्दोलनको क्रममा ०६३ माघ ५ गते लाहानमा तत्कालीन नेकपा माओवादी कार्यकर्ताले चलाएको गोलीबाट रमेशको निधनको भएको थियो। त्यससँगै मधेस आन्दोलन उठेको थियो। ‘आन्दोलनबाट धेरै मधेसी नेताको उदय भयो उनीहरु स्थापित पनि भए, धेरै मन्त्री भए,’ रविले गुनासो गर्दै भने, ‘खै त मधेसी जनताले के पाए त, रमेशको बलिदानी खेर गयो।’

छोराको निधनपछि मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले घरमै आएर दिएको बचन सम्झदै रमेशकी आमा रानोले भनिन, ‘मधेसी जनताको अधिकार स्थापित गर्न एउटा छोरा सहादत दिएपनि हामीजस्ता धेरै छोराहरु तपाईलाई सहारा दिन्छौ भनेका थिए, त्यसपछि फर्केकेर पनि कोही आएका छैनन्।’ मधेसी जनताले अधिकार पाएका छैनन् झन बेहाल भएको सुनाउँदै नेताहरु एकपछि अर्को गर्दै टाढा हुन थालेको गुनासो गरिन।

प्रत्येक वर्ष माघ ५ गते आयोजना हुने बलिदानी दिवसमा लहान पुगेर छोरा(रमेश)को प्रतिमामा माल्यार्पण गरी आँसुको भारी बिसाएर मन हल्का गर्दै अएको रमेशका आमाले सुनाईन।

आफ्ना वरिपरिका सबै केटाहरु पैसा कमाउन विदेश गएको सुनाउँदै उनले भने, ‘अरुको त आर्थिक अवस्था राम्रो भयो हाम्रो उस्तै छ, छोरो भएको भए पैसा कमाउने थियो, हाम्रो पनि राम्रो हुन्थ्यो।’ रानो छोरा सम्झेर भक्कानिदै भनिन्, ‘म जस्तो धेरै छोराका आमाहरु यसरी नै बेदनासहित रोही रहेका छौं, आसु पुछ्ने कोही भएन्।’

 

प्रकाशित: ५ माघ २०७४ ०८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App