५ माघ २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखरामा दाइँ महोत्सव हुने

फाइल तस्बिर: नागरिक

पोखरामा दाइँ महोत्सव हुने भएको छ। पोखरा पर्यटन परिषद्को आयोजनामा यही माघ ६ गते आइतबार पोखरामा प्रथम दाइँ महोत्सव हुन लागेको हो।

दाइँ महोत्सव पोखरा–२३ फेवा फाँट, मार्गी (पामे) मा हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए। दाइँ महोत्सव हुने स्थल रोपाइँ महोत्सव भएकै स्थान भएको उनले बताए।

गत असार १५ मा सोही स्थानमा पोखरा पर्यटन परिषद्कै आयोजनामा रोपाइँ महोत्सव भएको थियो।

सो दिन बिहान ८ बजेदेखि हुने दाइँ महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए।

उनका अनुसार दाइँ महोत्सवमा धान चुट्ने, धानको रास बनाउने र बत्ताउने कार्य हुनेछ भने १० वटा गोरु र ३० जना दाइँ हाल्ने मानिस सहभागी हुनेछन्। परम्परागत दाइँको झल्को दिन खाजा र खाना पनि परालमाथि र बारीको पाटामा बसेर खाने व्यवस्था गरिने अध्यक्ष पहारीले बताए।

दाइँ महोत्सवमा स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि सहभागी गराइने उनले जानकारी दिए। उनका अनुसार दाइँ महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थी पनि सहभागी गराइनेछ।

मौलिक तथा परम्परागत दाइँको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको परिषद्ले जनाएको छ। ‘लोपोन्मुख अवस्थामा पुगेको गोरुले दाइँ गर्ने परम्परा संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य हो’, उनले भने, ‘यसले लोपोन्मुख जेठो बुढो धानको संरक्षणमा पनि योगदान दिन्छ भन्ने विश्वास छ।’

दाइँ महोत्सव हुने स्थान मार्गी फाँट वरपर लगाएको धानमा यस वर्ष गबारो किरा लागेर आधा भन्दा बढी धान नष्ट भएको थियो। सोबारेपनि राज्यको ध्यानाकर्षण गराउन दाइँ महोत्सवले भूमिका खेल्ने उनको भनाइ छ।

प्रकाशित: ४ माघ २०८१ १९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App