५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

रास्वपा सभापति रवि लामिछानेले भने, ‘हामी राजनीतिज्ञ जस्ता पनि देखिँदैनौँ’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालको ‘पोलिसि डिस्कसन’मा विदेशमा बसेका नेपालहरूको सहयोग लिने उद्देश्यले आफू बेलायत पुगेको बताएका छन्।  

सङ्गठन विस्तार र निर्माणका लागि बेलायत पुगेका उनले सोमबार त्यहाँ आयोजित एक कार्यक्रममा उक्त कुरा बताएका हुन्।  

‘नेपालमा पोलिसि लेभलमा सहयोग गर्न हामीलाई तपाईँहरूको योगदान चाहिएको छ’, सभापति लामिछाने सोमबार दिउँसो बेलायतको मिडल्याण्डमा आयोजित ‘भेटघाट तथा अन्तरक्रिया कार्यक्रम’मा भने, ‘तपाईँहरू यहाँ थिङ ट्याङ्क रूपमा काम गर्नुहुन्छ। तपाईँहरूको योगदान नेपालको विकासका लागि आवश्यक पोलिसि डिस्कसनमा छ।’  

उनले विदेशमा रहेका प्रवुद्ध व्यक्तिहरूले त्यहाँ भएका ‘गुड प्राक्टिस’हुलाई नेपालमा ल्याउन योगदान दिनसक्ने उल्लेख गरे। सभापति लामिछानेले आफूहरूले त्यस्ता व्यक्तिहरूलाई राजनीतिक सदस्यता प्रदानका लागि मात्र आग्रह नगरेको राजनीति र विकास तथा योगदान फरक कुरा रहेको बताएका थिए।

उनले नेपालका राजनीति दल र तीनका नेताहरूले आफ्नो र आफ्नो दलको भक्तिगान गाउनेलाई मात्र देशका महत्वपूर्ण पदहरूमा नियुक्ति दिइरहेको उल्लेख गर्दै भने, ‘हामी त्यस्तो गर्ने पक्षमा छैनौँ।  राजदूत, सङ्घसंस्थाका डिजी, सांसद सबैका योग्यता बेग्लै बेग्लै छन्। तर नेपालमा भक्तिमान गर्नेलाई मात्र यी पदमा बनायौँ । खुला रूपले पैसा दिनेलाई पनि पद दिने गर्‍यौ।’

सभापति लामिछानेले आफ्नो दलमा अहिले देशमा भइरहेको जस्तो रङ्ग र ढङ्गको राजनीति गर्ने मान्छेहरू नभएको दाबी पनि गरे।  

‘हामी राजनीति गर्ने मान्छे जस्ता पनि देखिँदैनौ’, उनले भने, ‘हामी पोलिटिसिएन जस्तो पनि लाग्दैनौ, हामी राजनीतिज्ञ जस्तो पनि लाग्दैनौ।’

सभापति लामिछानेले आफू र आफ्नो दललाई पुराना दलहरूले विचार र सिद्धान्त नभएको भन्दै टिप्पणी गरिरहेको उल्लेख गर्दै भने, ‘अहिलेको जस्तो ढङ्गको राजनीति हामीलाई सिक्नु नै छैन।’

उनले गत संघीय निर्वाचनमा आफू र आफ्नो दलका उम्मेदवार स्वर्णिम वाग्लेलाई हराउन पूर्व प्रधानमन्त्रीहरूले राज्यकोषको दुरुपयोग गरी हेलिकप्टर चार्टर गरेको समेत बताए।  

‘राज्यकोषको दुरुपयोग गरेर चुनाव प्रचारमा गएर यसलाई हराएस् म तँलाई मन्त्री बनाउँछु सम्म भनियो, यति भद्दा मजाक संसारमा कोही हुँदैन’, सभापति लामिछानेले भने, ‘चुनावमा गएर यसलाई हराएस् म तँलाई मन्त्री बनाउँछु सम्म भनियो यति भद्दा मजाक संसारमा कोही हुदैन् संसारमा यो जस्तो भद्दा मजाक गरेको देखियो।’

प्रकाशित: २६ मंसिर २०८० ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App