४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेसपाले उच्चस्तरीय समिति बनाइसक्यो, माओवादीले अझै बनाएन

नेकपा (माओवादी केन्द्र)र नेपाल समाजवादी पार्टी (नेसपा) बिच पार्टी एकीकरण गर्ने सहमति  अनुसार नेसपाले पार्टी अध्यक्ष डा बाबुराम भट्टराईको संयोजकत्वमा उच्च स्तरीय वार्ता संयोजन समिति गठन गरीसकेको छ। तर माओवादी केन्द्रले भने अझैसम्म उच्च स्तरीय वार्ता समिति गठन गरेको छैन। 

यही मंसिर १ गते दुई पार्टीका शीर्ष नेताहरूले बैठक गरी माओवादी केन्द्र र नेसपावीच पार्टी एकीकरण गर्ने र पार्टी एकीकरणको लागि थप  प्रक्रिया अघि बढाउन माओवादी केन्द्रबाट पार्टी अध्यक्ष पुष्पकमल दाहालकै अध्यक्षता र नेसपाबाट नेसपा अध्यक्ष भट्टराईको अध्यक्षतामा उच्च स्तरीय वार्ता समिति गठन गर्ने सहमति भएको थियो। उक्त सहमति अनुसार नेसपाबाट उच्च स्तरीय वार्ता समिति गठन भइसकेको तर माओवादीबाट अझै वार्ता समिति गठन हुन नसकेको नेसपाका महासचिव रमेश यादवले बताए। ‘उहाँहरूबाट उच्च स्तरीय  वार्ता समिति गठन नभए पनि कृष्णबहादुर महराको नेतृत्वमा गठित  वार्ता समितिले काम गरिरहेको छ’यादवले भने,‘सम्भवत उहाँहरूले पनि चाँडै उच्च स्तरीय वार्ता समिति गठन गर्नुहुनेछ।’

माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्नु अघि नै माओवादीले विधान अधिवेशन बोलाइ पार्टीको नाम  फेर्नु पर्ने यादवले बताए। उनका अनुसार मंसिर १ गते बसेको बैठकमा माओवादीले पार्टीको नाम फेरेर नेकपा (समाजवाद) राख्ने सहमति भएको छ। 

एक वर्ष अघि सम्पन्न प्रतिनिधि सभाको निर्वाचन अघि नै माओवादी र नेसपावीच पार्टी एकीकरण गर्ने अनौपचारिक सहमति भएको थियो।

प्रकाशित: २२ मंसिर २०८० १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App