१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पूर्वमन्त्री र सचिव समेत थुनामा रहेको प्रकरणमा आज के आदेश आउला?

नक्कली भुटानी शरणार्थी प्रकरण

विशिष्ट व्यक्तिहरू जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश विरूद्ध परेका निवेदनमा आज आदेश आउने सम्भावना छ।

पूर्व मन्त्रीहरू बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायत ‘हाई प्रोफाइल’हरू समेत थुनामा रहेको निकै चर्चित यो मुद्दामा जोडिएका व्यक्तिलाई अदालतले छोड्ने वा थुनामै पठाउने आदेश दिने भन्ने सबैको चासोको विषय छ।

जिल्लाको आदेश बदर गर्ने वा थुनामै पठाउने आदेश सदर गर्ने भन्नेबारे उच्च अदालतको निर्णयमा भर पर्नेछ। उच्च अदालतले आज आदेश दिन सक्ने बताइएको छ।

उच्च अदालत पाटनमा  हिजो बहस सकिएको थियो। मङ्सिर ५ गतेदेखि सुनुवाइ सुरु भएको नक्कली भुटानी शरणार्थी प्रकरणमा धेरै जना कानुन व्यवसायी भएका एक साताभन्दा बढी समय लागेको हो। 

करिब ५ महिनादेखि थुनामा रहेका नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, काँग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहितको मुद्दा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा रहेको छ। 

२२ जना प्रतिवादी रहेको मुद्दामा भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध थुनामा रहेकाहरूले उच्च अदालत पाटनमा आफूहरू थुनाबाहिरै रहेर मुद्दा लड्न पाउने गरी निवेदन दिएका थिए।

काठमाडौँ जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ बिहीबार न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा सकिएको थियो।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले उक्त मुद्दामा आज आदेश हुनसक्ने जानकारी दिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो। जसमध्ये १७ जनालाई पुर्पक्षका लागि थुनामा र तीन जनालाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको थियो।

थुनामा रहेका बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित  १५ जना जिल्ला अदालतको निर्णयविरूद्ध उच्च अदालत पुगेका थिए। भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने उच्च अदालत गएका छैनन्।

ठगी, किर्ते, सङ्गठित अपराध र राज्य विरूद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा पेस गरेको थियो। जसमा १० जना फरार छन्।

यस प्रकरणमा नेकपा ९एमाले० का नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हरिभक्त महर्जन र आशिष बुढाथोकी पुर्पक्षका लागि थुनामा छन्।

अदालतले टंक गुरूङलाई १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख र केशव तुलाधरसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको थियो। यो प्रकरणमा ३० जनाविरूद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो।

प्रकाशित: १५ मंसिर २०८० ०३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App