१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

दुर्गा प्रसाईं प्रदर्शन: अराजकताको अन्त्य!

सुदूरपश्चिमतिर एउटा उखान छ, ‘तेल कम चडचडी झिक्क ।’ यसको अर्थ हुन्छ थोरै तेलले बढी चढहढाहट गर्नु अर्थात् थोरै उपस्थितिमा धेरै कोलाहल गर्नु।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि काठमाडौं उपत्यकामा सुरु गरेको ‘राजावादी प्रदर्शन’ करिब–करिब यही उखानसँग नजिक हुँदै अन्ततः तुहिएको छ। प्रसाईं समूहले प्रदर्शन थालेको एक साता भएको छ। यस अवधिमा प्रदर्शन खुम्चिएको छ।

प्रसाईंले गणतन्त्रविरुद्ध उपत्यकामा लाखौं मान्छे उतारेर प्रदर्शन गर्ने उद्घोष गर्दैगर्दा सरकार एवं प्रमुख राजनीतिक दल झस्किएका थिए। प्रसाईंले आफू नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति एवं नागरिक बचाउ महाअभियान’ को ब्यानरमा मंसिर ७ मा ‘बृहत् नागरिक मुक्ति आन्दोलन’ घोषणा गर्दा गणतन्त्र नढलेसम्म निरन्तर अघि बढ्ने दाबी गरेका थिए। यसबाट प्रधानमन्त्री पुष्पकमल दाहाल धेरै आत्तिएका थिए।

दाहालले बालुवाटारमा पटक–पटक प्रमुख पार्टीका शीर्ष नेताहरूलाई डाँकेर यस विषयमा छलफल गरे। उनले दलका शीर्ष नेताको बैठकमा व्यवस्थाविरोधी गतिविधि बढेको भन्दै त्यसविरुद्ध एकढिक्का हुन प्रस्ताव राखे।कतिपयले यसलाई राजतन्त्रको भूत देखाएर दाहालको सत्ता लम्ब्याउने रणनीतिका रूपमा पनि अर्थ्याए।

प्रसाईंको उद्घोषले उनका ‘हजुरबा’ अर्थात् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि पोलेको थियो। एमाले केन्द्रीय सदस्यसम्म भएका प्रसाईं ओलीका भित्रिया नाति बनेका थिए। तर प्रतिनिधिसभा सदस्य निर्वाचनमा टिकट नपाएपछि प्रसाईं ओलीसँग असन्तुष्ट भए। त्यसपछि २०७९ फागुन १ गतेदेखि प्रसाईंले राजावादी अभियान चलाउन थालेपछि एमालेले उनलाई पार्टीबाट निष्कासन गरेको थियो। त्यसयता प्रसाईं ओलीप्रति बढी नै आक्रामक देखिए। उनले कम्बोडियाको टेलिकम कम्पनीमा ओलीले अर्बौं रुपैयाँ लगानी गरेको भन्नसमेत भ्याए।

एमाले र ओलीविरुद्ध प्रसाईं चर्को सुनिन थालेपछि नेता महेश बस्नेतले प्रतिकार गर्न थाले। उनले आफू इन्चार्ज रहेको राष्ट्रिय युवा संघ नेपालाई प्रसाईंको गतिविधिविरुद्ध परिचालन गरे।

युवा संघका कार्यकर्ताले काठमाडौंमा प्रसाईंलाई कालोमोसो दले। उता प्रसाईं समूहले झापामा आयोजित बस्नेतको कार्यक्रम बिथोल्ने कोसिस गरे।

युवा संघले प्रसाईंको राजावादी प्रदर्शनको उद्घोष कार्यक्रममा अवरोध पुर्‍याउन प्रदर्शन गर्‍यो।

माइतीघरमा दुवै समूहले कार्यक्रम राखेपछि सम्भावित झडपलाई रोक्न भन्दै जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि नयाँबानेश्वरसम्मको क्षेत्रलाई निषेधित गर्‍यो। ललितपुर जिल्ला प्रशासन कार्यालयले त ६ महिनासम्म आफ्नो क्षेत्रलाई प्रदर्शन निषेधित घोषणा गर्‍यो। गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा ‘विशेष सुरक्षा योजना’ बनाएर लागु गरियो।

मंसिर ७ गते प्रसाईं समूहले बल्खु र युवा संघले तीनकुनेमा प्रदर्शन गरे। तर प्रसाईंको प्रदर्शनमा उनले दाबी गरेअनुसार न लाखौं मानिस सडकमा आए, न ठूलै सुरक्षा जोखिम देखियो। बरु गणतन्त्र नढलेसम्म जारी रहने भनिएको प्रसाईंको प्रदर्शन एकसाता नपुग्दै तुहिएको छ। प्रसाईंको प्रदर्शनको आकार बुझ्न नसकेर डराएको सरकारको कमजोर मानसिकता पनि उदांगो भएको छ।

प्रसाईंको हौवा र वास्तविकता

प्रसाईंले लाखौं मानिस उतारेर काठमाडौंमा प्रदर्शन गर्ने भनेका थिए। जसबाट सरकार र प्रमुख राजनीतिक दल त तर्सिएका थिए। जनमानसमा मंसिर ७ गते नै पूर्वराजा ज्ञानेन्द्र शाह नारायणीहिटी फर्किने हल्ला फैलाइयो। प्रसाईंले भनेका थिए, ‘श्रीलंका जस्तै १०औं लाख जनता गएर सिंहदरबारबाट भ्रष्ट नेतालाई लखेट्ने र पूर्वराजा ज्ञानेन्द्रलाई नारायणीहिटी दरबारमा पुनःस्थापित गर्नेछन्!’

प्रसाईं र उनका समर्थकले देशभरि र भारतबाट समेत गरी लाखौं मानिस काठमाडौं आउनलागेको हल्ला फैलाए। जसबाट त्रसित राज्यसंयन्त्रले विशेष सुरक्षा योजना बनाएर निगरानी गर्न थाल्यो, व्यापक रूपमा सुरक्षाकर्मी र गुप्तचर परिचालन गर्‍यो।

सुरक्षा निकायहरूले मंसिर ६ गते निष्कर्ष निकाले, ‘प्रसाईं र उनका समर्थकले भनेजस्तो लाखौं जनता सडकमा निस्कन्नन्। उनको दाबी हौवा मात्रै रहेछ।’

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी दीपक थापाले प्रसाईंको आन्दोलनमा ६ देखि ८ हजार मात्रै मान्छे उत्रिने ठोकुवा गरे।

मंसिर ७ गते प्रसाईं समूहले बल्खुमा गरेको प्रदर्शनमा १० हजारकै हाराहारीमा सहभागी भए। प्रसाईं समूहकै कुरा मान्ने हो भने पनि ३०० भन्दा बढी संघसंगठन र समूह प्रदर्शनमा सहभागी थिए। प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले सजिलै तितरबितर पार्‍यो। बल्खुमा सुरक्षा निकाय र प्रशासनले प्रसाईं समूहले सिर्जना गरेको हौवाको बेलुन फोडिदियो।

मौन पूर्वराजा, रणनीतिक लिङदेन

प्रसाईंले राजतन्त्र र हिन्दुत्वको मुद्दा उठाएर अभियान थाल्दा गणतन्त्रवादीभन्दा बढी त्यहीं अजेन्डामा राजनीति गरिरहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको टाउको दुखाइ बनेको थियो। लिङदेनकै अडानका कारण राप्रपा प्रसाईंको आन्दोलनमा संस्थागत रूपमा सहभागी भएन।

लिङ्देन र प्रसाईंबीचको सम्बन्धमा झापा राजनीति र एमाले पनि जोडिन्छ। प्रसाईं एमालेमा रहँदा झापा–३ बाट प्रतिनिधिसभा सदस्यको टिकटका आकांक्षी थिए।

एमाले अध्यक्ष ओलीले उनलाई वचन समेत दिएको बताइन्छ। झापा–३ राप्रपा अध्यक्ष लिङदेनको क्षेत्र पनि हो।

२०७९ मंसिरको निर्वाचनमा पाँचदलीय गठबन्धन भएपछि एमाले अध्यक्ष ओलीले आफूसमेत संकटमा पर्ने मूल्यांकन गरेर झापा–३ मा लिङदेनलाई सघाउने रणनीति लिए। प्रसाईं जिल्लिए। त्यसको तीन महिना नबित्दै प्रसाईंले राजतन्त्रको वकालत गर्न थाले। प्रसाईं र लिङदेनको निर्वाचन क्षेत्र एउटै भएकाले पनि समान अजेन्डामा दुवै एकअर्काविरुद्ध देखिन्छन्।

प्रसाईंका पछिल्ला गतिबिधिबाट राजतन्त्र र हिन्दुत्व मुद्दाको नेतृत्व आफूबाट खोसिने भय लिङ्देनमा छ। लिङदेनले राजधानीमा चलिरहेको प्रसाईंको आन्दोलन कमजोर पार्न मंसिर ९ गते पूर्वराजालाई झापा लगे।

बिर्तामोडमा पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रममा ‘शक्ति प्रदर्शन’ गर्ने भन्दै लिङदेनले प्रसाईंको आन्दोलनमा सहभागी राप्रपा नेताकार्यकर्ता र राजावादीलाई उतै लगे। जसबाट आफ्नो आन्दोलन कमजोर हुन पुगेको प्रसाईंको दाबी छ।

प्रसाईंको प्रदर्शन फिक्का हुनुमा पूर्वराजा ज्ञानेन्द्रले कुनै अभिव्यक्ति नदिनु पनि एक कारण रहेको अभियन्ता बताउँछन्। ‘राजतन्त्रकै लागि मानिस सडकमा ओर्लिएका छन्। राज्यको दमन सहिरहेका छन्। तर स्वयं पूर्वराजा नै नबोलिदिँदा आन्दोलन कमजोर हुनपुग्यो,’ प्रसाईं समूहका सहप्रवक्ता राजानन्द माण्डव्य भन्छन्, ‘जसका लागि आन्दोलनमा आइयो उही बोल्दैन भने किन सडकमा कुटाइ खाने?’

प्रशासनको सुभबुझ

प्रसाईंको प्रदर्शन तुहिनुको अर्को कारण उनको अराजक बोली हो। प्रसाईं स्वयंले श्रीलंकाजस्तै सिंहदरबार कब्जा गर्ने, नेताहरूलाई सडकमा ल्याएर लघार्ने, बैंक तथा वित्तीय संस्थामा आगो लगाउने, वैदेशिक नियोग, व्यापारिक प्रतिष्ठानविरुद्ध पनि हिंस्रक अभिव्यक्ति दिए। जसले उनका समर्थक पनि भड्किने अवस्था देखियो भने स्थानीय प्रशासन र सुरक्षा निकायलाई कठोर हुन बाध्य बनायो। यसैकारण प्रसाईं समूहले मंसिर ८ गते तीनकुनेमा गर्ने भनेको प्रदर्शन जिल्ला प्रशासन कार्यालय काठमाडौंले हुन दिएन।

 प्रशासनले प्रसाईंलाई भक्तपुर ठिमीस्थित उनकै घरमा स्थानहद (नजरबन्द) मा राख्यो, तीनकुने आउन खोज्ने प्रसाईं समर्थकलाई पनि धरपकड गरेर तितरबितर पार्‍यो।

९ गते प्रसाईं समूहले सिफलमा कार्यक्रम गर्‍यो, जहाँ प्रसाईं समूहको आन्दोलनको वास्तविक रूप देखियो। चौथो दिन १० गते धर्मगुरुहरूको आवरणमा प्रसाईं समूहले गौशालामा प्रदर्शन गर्‍यो। त्यहाँ पनि उपस्थिति निकै कम रह्यो।  प्रमुख दल र सरकारलाई समेत त्रसित बनाएको आन्दोलन अब करिब–करिब तुहिएको छ। 

प्रकाशित: १४ मंसिर २०८० ०१:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App