१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

रुपेडिहा नाकाबाट ल्याइँदै प्रधानमन्त्रीको भारत भ्रमणका उपहार ‘मुर्रा’ राँगा

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दिने भनिएका उपहारमध्येको एक १५ वटा ‘मुर्रा’ राँगा बिहीवार दिउँसो रुपेडिहा नाका हुँदै नेपाल ल्याउन लागिएको छ। 

पशु क्वारेनटाइन कार्यालय नेपालञ्जका प्रमुख विनयकुमार कर्णले भारतको हरियाणाबाट हिँडिसकेका ती राँगा आज दिउँसो १ बजे ट्रकमा रुपेडिहा नाका हुँदै नेपाल ल्याउन लागिएको जानकारी दिए।

‘ती राँगा आज १ बजे यहाँ आइपुग्छन् भन्ने खबर आएको छ’, उनले नागरिकन्यूजसँग भने। प्रमुख कर्णले ती राँगा क्वारेनटाइन गरेपछि काठमाडौँबाट आउने भनिएको पशु क्वारेनटाइन विभागका पदाधिकारीलाई जिम्मा लगाउने जानकारी पनि दिए।

‘प्रधानमन्त्रीको भारत भ्रमणमा प्रतिवद्घता जनाइए अनुसार यी राँगा नेपाल पठाइएका हुन’, प्रमुख कर्णले भने। उनले यी राँगालाई नेपालको कुन–कुन ठाउँमा कसरी राख्ने भन्ने विभागले निर्णय गर्ने जानकारी पनि दिए।  

प्रधानमन्त्री दाहाल भारत भ्रमणबाट फर्किएपछि छिमेकले मुर्रा राँगा उपहार दिन लागेको भन्दै प्रतिनिधिसभा बैठकलगायतमा यसलाई हाँसो र ठट्टाको विषय बनाइएको थियो। प्रधानमन्त्री दाहाललाई प्रतिपक्ष दललगायतका नेताहरूले पटक–पटक यही विषयमा धेरै पछिसम्म पनि व्यङ्ग्य गरेका थिए। यसलाई प्रधानमन्त्रीको भारत भ्रमणको प्रमुख उपलब्धिका रूपमा अर्थाइएको थियो।  

प्रधानमन्त्री दाहालले गत जेठ १७ गतेदेखि २० गतेसम्म दक्षिणी छिमेकी भारतको भ्रमण गरेका थिए।

प्रकाशित: ६ मंसिर २०८० ०४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App