१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

अराजक प्रसाईं, अपरिपक्व एमाले

लोकतान्त्रिक व्यवस्था विरोधी गतिविधि हुन थालेको भन्दै नेकपा एमालेले संगठित रूपमा यही मंसिर ७ गते काठमाडौंमा गर्न लागेको जनप्रदर्शन चुनौतीपूर्ण बनेको छ। व्यवस्था विरोधी तत्वहरुले ले एमालेको प्रदर्शनमा घुसपैठ गर्न सक्ने आकलन गरिएको छ। 

दुर्गा प्रसाईंको आवरणमा हुन लागेको प्रदर्शनमा पनि घुसपैठ हुन सक्ने अनुमान गरिएको छ। त्यसक्रममा आतंकको अवस्था निम्तिन सक्ने भएकाले एमालेका लागि ७ गतेको प्रदर्शन चुनौतीपूर्ण बनेको हो। दुवै प्रदर्शनका सहभागीको आपसमा भेट नहोस् भन्नेमा सरकार पनि सचेत देखिएको छ। त्यसकारण माइतीघर मण्डलामा दुवै पक्षलाई प्रदर्शन गर्न रोक लगाइएको छ। अन्यत्रै प्रदर्शन गरे पनि अराजक तŒवको घुसपैठ भए  त्यसको जिम्मेवारी कसले लिने भन्ने चिन्ता देखिएको छ।

आफूले गर्ने प्रदर्शनमा आतंक मच्चिए आफैंले त्यसको जिम्मा लिने एमालेले बताएको छ। तर प्रसाईंको आवरणमा हुने प्रदर्शनमा घुसपैठ भएको खण्डमा त्यसको अपजस पनि एमालेलाई नै जाने देखिएको छ। तर एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भने त्यस्तो खतरा नभएको बताउँछन्। युवा संघको अगुवाइमा हुने प्रदर्शनको सम्पूर्ण सुरक्षा एमाले कार्यकर्ताले गर्ने उनको भनाइ छ। सरकारको सुरक्षा के–कस्तो हुन्छ भन्नेमा आफू अनभिज्ञ रहेको बताउँदै उनले ७ गतेका लागि प्रदर्शन पूर्वघोषित कार्यक्रम भएकाले कुनै व्यक्ति वा संघसंस्थासँग मुठभेड गर्ने उद्देश्य आफूहरूको नरहेको स्पष्ट पारे। ‘हाम्रो सुरक्षा हामी आफैंले गर्छौं, अरू को, कहाँ, के भन्ने हामीलाई थाहा छैन। एमालेको सुरक्षाबारे अरूले चासो र चिन्ता जाहेर गर्नु स्वाभाविक भए पनि पार्टीले आफ्ना लागि सुरक्षा व्यवस्था आफैं मिलाउनेछ,’ उनले भने।  

मंसिर ७ गते एमालेको जनसंगठन युवा संघले काठमाडौंमा गर्ने प्रदर्शनको सिंगो पार्टीले स्वामित्व लिँदै देशव्यापी रूपमा जनसंगठन परिचालन गरेर प्रतिरोध गर्ने भएको थियो। त्यसपछि प्रसाईंको आवरणमा हुने प्रदर्शनमा मुठभेड हुन सक्ने अनुमानसहितका समाचारहरू प्रकाशित भएका थिए। एमालेले ७ गतेको प्रदर्शनलाई राजनीतिक मिसनका रूपमा समेत लिएको छ। एमालेले सुरुदेखि नै सरकारको विरोधका रूपमा उक्त कार्यक्रम तय गरे पनि मेडिकल व्यवसायी दुर्गा प्रसार्इंको एक समूहले पनि राजसंस्था पुनःस्थापनाको माग राख्दै सोही दिनमा प्रदर्शन गर्ने जनाएको थियो।

त्यसपछि युवा संघले मात्रै गर्ने भनेको प्रदर्शनप्रति पार्टीले नै स्वामित्व लिने निर्णय गरेको हो। ‘एमालेको कार्यक्रम छ। एमालेले सबै जनवर्गीय संगठनलाई मंसिर ७ को प्रदर्शनमा आउन आग्रह गरिसकेको छ,’ प्रचार विभाग प्रमुख गौतमले भने।

सुरक्षा अंगले पनि दुई पक्षबीच एकै स्थानमा कार्यक्रम नभए मुठभेडको अवस्था नआउने र सुरक्षा संयन्त्र परिचालन गर्न सहज हुने जनाउँदै दुवै पक्षलाई बेग्लाबेग्लै स्थान रोज्न लगाएको छ। जसअनुसार युवा संघले काठमाडौंको तिनकुनेलाई रोजेको छ भने प्रसाईं समूहले सोमबार रातिसम्म स्थान यकिन गरिसकेको छैन। एमालेको प्रदर्शनमा युवा, विद्यार्थी, सम्पर्क कमिटीलगायत २३ वटा जनसंगठनले सहभागिता जनाउने भएका छन्। उनीहरूले कामको जिम्मेवारी बाँडफाँट गर्ने र लोकतन्त्र, सामाजिक न्यायको पक्षमा प्रदर्शन गर्ने बताएका छन्। कुनै एउटा अराजक झुण्डले सामाजिक अराजकता फैलाएको र राज्यको अर्थतन्त्रमाथि नै चुनौती थपिदिएको, बैंकको ऋण मिनाहा गरिदिन्छु भन्ने, बैंक ऋण तिर्नुपर्दैन भन्नेजस्ता अराजक अफवाह फैलाएका कारण समाज झन् विशृंखलित हुँदै गएको एमालेको निष्कर्ष छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि औंला ठड्याउने र त्यसलाई अराजक दिशातर्फ लैजाने काम भए चुप लागेर नबस्ने संकेत गरेका थिए।

जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको २३ वटै संगठनका पदाधिकारी र सम्पर्क समन्वय समितिलगायतका सदस्यको विशेष भेलाले सबै शक्ति मंसिर ७ को प्रदर्शनमा केन्द्रित गर्ने घोषणा गरेपछि नेताहरूले लोकतान्त्रिक व्यवस्था जोगाउन एमालेले अग्रसरता लिन लागेको बताएका थिए।सो क्रममा प्रतिक्रियावादी शक्तिले कुनै एक व्यक्तिलाई उचालेर देशभरबाट काठमाडौंमा मान्छे ल्याउन लागेको भन्दै एमालेले आपत्ति जनाएको थियो।प्रदर्शनका क्रममा घुसपैठ हुन सक्ने भन्दै एमालेले युवा संघ, खेलकुद महासंघ तथा अन्य स्वयंसेवकलाई परिचालन गरी प्रदर्शनलाई सुरक्षित बनाउने जनाएको छ। युवा संघले हरेक ५० जनामा दुईजना स्वयंसेवक खटाउने र हरेक कार्यकर्ताले जनतालाई सुरक्षित बनाउने जनाएको छ। ‘हाम्रो कार्यक्रममा घुसपैठ हुन दिन्नौं, आफ्नो सुरक्षा हामी आफैं गर्छौं,’ युवा संघका प्रवक्ता निरोज पौडेलले भने।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते काठमाडौंको माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जनाएको छ। एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आवरणमा राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानले एकै समयमा माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेपछि स्थानीय प्रशासनले सो स्थानमा प्रदर्शन हुनबाट रोक्न निषेधाज्ञा जारी गर्ने जनाएको हो।काठमाडौं जिप्रकाले दुवै समूहलाई माइतीघर मण्डलाबाहेक तीनकुने, चावहिल, माछापोखरी, मूलपानी क्रिकेट मैदान र नक्साल नारायणचौरमध्ये एक ठाउँमा कार्यक्रम गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्न्यातले जानकारी दिए।उनका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले माइतीघर मण्डलादेखि बानेश्वरसम्म सोमबारदेखि लागु हुने गरी एक महिनाका लागि निषेधाज्ञा जारी गरेको हो।

त्यस्तै, शीतल निवास क्षेत्र, प्रधानमन्त्री तथा बालुवाटार क्षेत्र, संसद् भवन नयाँ बानेश्वर क्षेत्र, सिंहदरबार क्षेत्र र उपराष्ट्रपति कार्यालय रहेको हरित गृह क्षेत्र लैनचौरमा भने दुई महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।  

प्रकाशित: ५ मंसिर २०८० ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App