लहान- नेपाली कांग्रेसले प्रदेश नम्बर २ अर्थात् ‘कोर मधेस’लाई आफ्नो आधार क्षेत्र भन्दै आएपनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको हालसम्मको परिणाम कांग्रेसको पक्षमा देखिएको छैन ।
‘पछिल्लो मधेस आन्दोलनका कारण यो चुनावमा मधेसी दललाई पुनः एकपटक विश्वासको मत प्राप्त भएको छ । चुनावमा मधेसी जनताले बुलेटको जबाफ ब्यालेटमार्फत अभिव्यक्त गरेका छन् ।’
प्रदेश २ का ८ जिल्लामा प्रतिनिधिसभाका ३२ सिट छन् । तीमध्ये अधिकांश सिटमा मधेसी दलकै वर्चस्व छ । घोषित परिणामअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) ले १२ र संघीय समाजवादी फोरमले १० सिट जितेको छ ।
राजपा अध्यक्ष मण्डलका सबै ६ जना सदस्य निर्वाचित भएका छन् । अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर महोत्तरी ३, राजेन्द्र महतो धनुषा ३, अनिलकुमार झा रौतहट १, शरत्सिंह भण्डारी महोत्तरी २, राजकिशोर यादव सिरहा ४, महेन्द्र राय यादव सर्लाही २ बाट निर्वाचित भएका छन् । महतोले कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई २ हजार ९ सय १४ मतान्तरले हराए भने झाले कांग्रेसका कृष्णप्रसाद यादवलाई पराजित गरे । महेन्द्र राय यादव कांग्रेसका जंगीलाल यादवलाई पाखा लगाए । राजकिशोर यादवले माओवादी केन्द्रका अजयशंकर नायकलाई पराजित गरे । राजपा र संघीय समाजवादी फोरमले चुनावी गठबन्धन गरेका थिए ।
फोरम अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट निर्वाचित भएका छन् । उनले वाम गठबन्धन (माओवादी केन्द्र) का उम्मेदवार उमेश यादवलाई पराजित गरेका हुन् । सप्तरी १ मा फोरमका सूर्यनारायण यादवले माओवादीका अशोककुमार मण्डललाई पराजित गरेका छन् । सप्तरी ३ मा राजपाका चन्द्रकान्त चौधरीले सप्तरी कांग्रेस सभापतिसमेत रहेका दिनेश यादवलाई हराए । स्थानीय तहको चुनावमा कांग्रेसले टिकट नदिएपछि चौधरी राजपा प्रवेश गरेका थिए ।
बारा ३ मा फोरमका महासचिव रामसहायप्रसाद यादवले कांग्रेसका राधेचन्द्र यादवलाई हराएका छन् । सर्लाहीका ३ वटै क्षेत्रमा राजपाका उम्मेदवार प्रतिस्पर्धीभन्दा अगाडि छन् । धनुषा २ मा संघीय समाजवादीका उम्मेदवार उमाशंकर अरगरियाले माओवादी केन्द्रका उम्मेदवार रामचन्द्र झालाई पराजित गरेका छन् ।
पर्साका ४ क्षेत्रमध्ये तीनमा संघीय फोरम र एकमा राजपाका उम्मेदवार जितेका छन् । क्षेत्र नम्बर १ बाट प्रदीप यादव, २ बाट विमलप्रसाद श्रीवास्तव, ३ बाट हरिनारायणप्रसाद रौनियार र ४ बाट राजपाका नेता लक्ष्मणलाल कर्ण निर्वाचित भएका छन् । मतगणना भइरहेका २ नम्बर प्रदेशका अधिकांश स्थानमा फोरम र राजपाका उम्मेदवार अग्रस्थानमा छन् ।
प्रदेशमा पनि फोरम र राजपाकै अग्रता देखिएको छ । प्रदेशसभामा फोरमका २३ र राजपाका १३ जना प्रदेशसभा सदस्य उम्मेदवार निर्वाचित भएका छन् । बाँकी स्थानमा पनि फोरम र राजपाकै अग्रता देखिएको छ । प्रदेश २ मा प्रदेशसभाको ६४ सिट छ ।
प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्ज समेटिएको पर्सा जिल्लाको चारै निर्वाचन क्षेत्रमा मधेसी दलका उम्मेदवार निर्वाचित भएका छन् । सप्तरीका चार निर्वाचन क्षेत्रमध्ये तीनमा फोरम राजपा गठबन्धनका उम्मेदवार निर्वाचित भए भने एक क्षेत्रमा कांग्रेस उम्मेदवार निर्वाचित भए ।
सिरहाका चार निर्वाचन क्षेत्रमध्ये एक राजपा, एक एमाले, एक कांग्रेस, एक माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भए । धनुषाको चारमध्ये दुईमा फोरम राजपा गठबन्धनका उम्मेदवार निर्वाचित भए । यो तथ्यांक केलाउँदा तेस्रो मधेस आन्दोलन (०७२) को प्रभाव क्षेत्र अर्थात् केन्द्रबिन्दु रहेको जिल्लाको चुनावी परिणाम आन्दोलनको प्रभाव कम रहेको जिल्लाभन्दा फरक छ ।
वीरगन्ज पछिल्लो मधेस आन्दोलन (तेस्रो मधेस आन्दोलन) को केन्द्रबिन्दु थियो । प्रदेश २ अन्तर्गतका पर्सा जिल्लाको वीरगन्ज मधेस आन्दोलनको पश्चिमी प्रमुख केन्द्र थियो भने सप्तरी पूर्वी । महोत्तरी, सर्लाही, बारा, रौतहट र सिरहा आन्दोलनको रापताप कम भएको जिल्ला थियो ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन परिणाम मधेसी दलका पक्षमा कसरी उर्लियो ? आधार क्षेत्रमै कसरी पछाडिए कांग्रेस ? यी र यससँग जोडिएका अन्य प्रश्नले देशको राजनीतिक बजार तताएको छ । यसको कारण खोतल्दै मधेस राजनीतिमा दखल राख्ने विश्लेषकहरुको विश्लेषण, तर्क र तथ्य मधेस आन्दोलनसँग जोडिएको छ ।
लामो आन्दोलन र नाकाबन्दीपछि भएको निर्वाचनको परणामलाई आन्दोलनले प्रभावित तुल्याएको विश्लेषकहरुको विश्लेषण छ ।
मधेसी जनताले मतमार्फत आफ्नो भावना अभिव्यतm गरेको बताउँछन् मधेस मामिलाका विश्लेषक तुलानारायण साह । ‘यो निर्वाचनलाई २०६४ को संविधानसभा चुनावसँग तुलना गर्दा दृश्य प्रस्ट हुन्छ,’ उनले भने ।
०६३ को पहिलो मधेस आन्दोलनको बलमा मधेसी दलले त्यो चुनावमा सहभागी हुँदा तीन दल मिलेर प्रदेश नम्बर २ को ४८ सिटमा ३५ सिट जितेका थिए । त्यो बेला मधेसी जनअधिकार फोरम, तराईमधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टी थिए । त्यो बेला आन्दोलन केन्द्रबिन्दु सिरहाका ६ निर्वाचन क्षेत्रमध्ये पाँचमा फोरम उम्मेदवार निर्वाचित भएका थिए । पछिल्लो मधेस आन्दोलनको रापताप कम भएकाले यो चुनावमा यहाँको चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ४ मा मात्र मधेसी दलका उम्मेदवार निर्वाचित भए ।
२०६४ को चुनावमा मधेसमा मधेसी दलको सिट बढ्दा कांग्रेस यसैगरी बढारिएका थियो । यसपालि मधेसी दलको पुनः उदयले फेरि प्रदेश २ बाट कांग्रेस बढारिएको छ ।
चुनावमा मत वितरणमा भएको धुव्रीकरण र अजेन्डागत अडानले पनि प्रभाव पारेको विश्लेषक साह बताउँछन् । यसपालिको चुनावमा एमाले–माओवादी धुव्रीकरण र मधेसी दलबीचको धुव्रीकरणको चेपुवामा कांग्रेस एक्लो प¥यो । वाम गठबन्धन र मधेस गठबन्धनका कारण कांग्रेस पहाड, हिमाल र मधेस तीनै क्षेत्रमा दोहोरो क्षति व्यहोरेको विश्लेषक साहको भनाइ छ । मत वितरणको अर्को एजेन्डागत अडान । साह भन्छन्, ‘कांग्रेसको अजेन्डामा अडान कमजोर हुँदा चुनावी परिणाम नकारात्मक आयो ।’
विगतका चुनावमा एमाले र माओवादी अलग भएर चुनाव लड्दा मत विभाजित हुन्थ्यो । यसपालि गठबन्धन बनाएर लड्दा मत एकत्रित भयो । यही फाइदा मधेसी दललाई पनि भयो । दुई गठबन्धनलाई फाइदा भएपछि कांग्रेस दोहोरो क्षती बेहोर्न बाध्य बनेको मधेस राजनीतिमा लामो समय सक्रिय खुसीलाल मण्डल बताउँछन् । ‘पछिल्लो मधेस आन्दोलनका कारण यो चुनावमा मधेसी दललाई पुनः एकपटक विश्वासको मत प्राप्त भएको छ,’ उनले भने, ‘चुनावमा मधेसी जनताले बुलेटको जबाफ ब्यालेटमार्फत अभिव्यक्त गरेका छन् ।’
प्रकाशित: २६ मंसिर २०७४ ०१:३० मंगलबार