२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार: एमाले

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आक्रोश व्यक्त गरेको छ।

एमाले बागमती प्रदेश संसदीय दलको दुई दिन बसेको बैठकले मुख्यमन्त्री जम्मकट्टेलले केही समयअघि प्रदेशको राजधानीका विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको निष्कर्ष निकालेको हो। मुख्यमन्त्री जम्मकट्टेलले सार्वभौम संसद्ले गरेको निर्णयविरुद्ध गएर पदीय मर्यादासमेत भुल्दै गैरजिम्मेवार अभिव्यक्ति दिएको एमाले बैठकको निष्कर्ष छ।

जम्मकट्टेलले वैदेशिक भ्रमण जानुअघि असोज ३ गते भक्तपुरमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेशको नाम र राजधानी उपयुक्त नभएको भन्दै भाषण गरेका थिए। उनले बागमतीको नाम र राजधानी नै परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए। अघिल्लो कार्यकाल अन्तिम समयसम्म आफूले प्रदेशको नाम नेवा–ताम्सालिङ राख्नुपर्छ भन्ने अडान लिएको उनले बोलेका थिए।

त्यति मात्र नभई उनले प्रदेश राजधानी हेटौंडा प्रदेशको एउटा कुनामा रहेकाले चितवन र मकवानपुरबाहेक अन्य ११ जिल्लालाई पायक नपरेको समेत बताएका थिए। उनले सबैलाई पायक पर्नेगरी प्रदेश राजधानी धुलिखेल नै राखिनुपर्ने धारणा राख्दै नाम र राजधानी परिवर्तन प्रदेशसभाको क्षेत्राधिकार रहेकाले उपयुक्त समय आएपछि राजनीतिक सहमतिबाटै परिवर्तन गर्ने दाबी गरेका थिए।

मुख्यमन्त्रीको अभिव्यक्तिले प्रदेशमा राजनीतिक अस्थिरताको सुरुवात हुने एमालेको निष्कर्ष छ। संसदको अघिल्लो कार्यकालमै बागमती प्रदेशको नामकरणलगायतका विषयहरूमा  टुङ्गो लगाइसकेकोमा त्यसका विरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध गरेको छ।

 एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री जम्मकट्टेलको अभिव्यक्तिले अस्थिरता निम्त्याउने खतरा बढेको भन्दै त्यस्ता अभिव्यक्ति नदिन अनुरोध गरे। उनले जनतालाई समेत सचेत हुन अनुरोध गरेका छन्।

मुख्यमन्त्री जम्मकट्टेलको अभिव्यक्तिलाई लिएर सत्तारूढ दलकै सांसदसमेत असन्तुष्ट बनेका छन्। असोज ३ गतेको कार्यक्रमपश्चात उनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री बहादुर सिंह लामालाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएर दुबई भ्रमणमा निस्किएका थिए। एकसाता दुबई घुमेर उनी सोमबार नेपाल फर्किएका छन्। मुख्यमन्त्रीले दिएको अभिव्यक्तिपछि प्रदेशको राजधानी र नामको विषयमा फेरि एकपटक खैलाबैला सुरु भएको छ।  

प्रकाशित: १६ कार्तिक २०८० ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App