१५ आश्विन २०७७ बिहीबार
राजनीति

‘उहिलेको चुनाव, अहिलेको चुनाव’

बनेपा – ‘२०१५ सालको चुनावमा हामी सबै धुलिखेलको टुँडिखेलमा सांसद चुन्नका लागि लाम लागेका थियौं । पुरुष र महिलाका लागि डोरीले छुट्टाएर अलग लाम बनाइएको थियो । त्यतिखेर छाप लगाएर बाकसमा भोट खसाल्ने चलन थिएन । हात उठाएर हाउस फुल भन्नुपथ्र्यो’, बनेपा–७ का ८० वर्षीय गौरीशंकर मानन्धरले ६ दशक अघिको चुनाव सम्झँदै भने।

‘चुनाव गराउन आउनेले हंशराज भन्यो, लाममा बसेका एकदुई जनालेमात्रै हात उठाए । त्यति भएपछि धुलिखेलका चीजलाललाई झोक चलेछ । उनले लाममा बसेकालाई ११ सालको बाढी आउँदा तिमीहरूलाई खानेकुरा ल्याएर खुवाउनेलाई पनि चिन्दैनौं भनेपछि सबैले हात उठाएर हाउस फुल–हाउसफुल भने’, मानन्धरले थपे।

त्यतिखेरको चुनावमा उम्मेदवार र जनता कसैले पनि पैसा खर्च गर्दैनथ्ये । जितेपछि भोज खुवाउँथे, त्यो पनि सबैले मिलेर । भोट देऊ भनेर भोज खुवाउने चलन धेरै पछिमात्रै आएको हो । यतिखेरको चुनाव त पैसाको राजजस्तो भयो ।’

लाममा बसेकाहरूको चर्को आवाज सुनेपछि चुनावमा उठेका अर्का द्वारिकानाथ उप्रेती केको हाउस फुल भन्दै जंगिएको मानन्धर सम्झन्छन् । ‘उप्रेतीको नाम पनि चुनाव गराउन आएकाले भन्यो, तर समर्थनमा धेरै हात उठेन । तैपनि दुईजनाले नै जितेनन् । चुनाव गराउन आउनेले अर्कै कसलाई जितायो । अहिले सम्झन सकिनँ’, बनेपा–नाला सडक खण्डको गौरीमार्गस्थित खेतमा भेटिएका मानन्धरले भने ।

मानन्धरका अनुसार त्यतिखेर फोटो, पर्चा पम्प्लेटजस्ता प्रचार सामग्रीको चलन थिएन र नाम सुनेकै भरमा भोट दिनुपथ्र्यो । ‘बाढीले बितन्डा मच्चाउँदा भोकभोकै भएका जनतालाई खाना खुवाउने हंशराजलाई त चिन्न सकेनन् त्यतिखेर सोझासीधा भोटरहरूले । उनीहरूले अरुलाई के नै चिन्न सक्थे र’, उनले थपे ।

त्यो चुनावताका २० वर्ष पुगिसकेका मानन्धर  साथीहरूसँगै भोट माग्दै तीन दिन लगाएर दोलालघाटसम्म पुगेको स्मरण गर्छन् । ‘बाटो खुलेको थिएन । रबिओपीबाट हिँडेर पाँचखाल पुग्यौं । बनेपालीको कपडा पसलमा एक दिन बास बस्यौं । भोलिपल्ट पलाञ्चोक भगवती पुग्यौं र त्यहाँ एक रात बसेर अर्को दिन ठाडै ओरालो दोलालघाट झ¥यौं । पलाञ्चोकबाट झर्दा डाँडाबाट गुल्टिएर झन्डै नमरेको’, उनले घटना  सुनाए ।

त्यतिखेरको चुनावमा उम्मेदवार र जनता कसैले पनि पैसा खर्च नगरेको मानन्धरले सुनाए । ‘पैसा भनेको महँगो थियो । जितेपछि भोज खुवाउँथे, त्यो पनि सबैले मिलेर । भोट देऊ भनेर भोज खुवाउने चलन पछिमात्रै आएको हो’, उनले भने ।

मानन्धरका अनुसार ऊ बेलाको चुनावमा उम्मेदवार पनि थोरै, मतदाता पनि थोरै भएकाले घरघरै पुगेर सम्झाउन–बुझाउन सकिने अवस्था थियो । उनले भने, ‘यतिखेरको चुनाव त पैसाको राजजस्तो भयो । उसले उसलाई किन्यो रे । भोज–पार्टी ग¥यो रे । एक भोटलाई यत्ति दियो रे भन्ने सुनिन्छ । चुनाव प्रचारप्रसारको तौरतरिका र खर्चबर्च भएको सुन्दा अहिलेको चुनाव नौटंकीजस्तो लाग्छ । त्यही भएर बिहानै खेततिर हिँड्यो, फर्केर खाना खायो, फेरि बाहिर हिँड्यो । भोट माग्नेलाई भेट्नै नपरे हुन्थ्यो भन्ने लाग्छ ।’

बनेपाका मानन्धर समुदाय खेती किसानीमा कहलिँदै आएको छ । परिवारका एक्लो छोरा त्यही भएर होला गौरीशंकरका पिताले नाला जाने बाटोमा उनका लागि थुप्रै जग्गा जोडिदिएका थिए । १२ वर्षको उमेरबाट साइकल चढ्न थालेका मानन्धर ८० वर्ष पुगिसक्दा पनि हरेक बिहान साइकलमै खेतमा पुगेर टहलिरहेका हुन्छन् ।

‘२०१७ सालमा राजा महेन्द्रले १५ सालमा जनताले चुनेको सरकार र संसद्लाई अन्त्य गरेर निरंकुश व्यवस्था ल्याए । राजनीति गर्ने विचार छाडेर केही वर्ष खेती किसानीमै रमाएँ । पञ्चायतले पनि चुनाव गराउने भयो भनेपछि मलाई पनि प्रधानपञ्चमा उठ्ने रहर जाग्यो’, मानन्धरले स्मरण गरे ।

बनेपा सहरमा त्यतिखेर बकुटोल, स्वधाटोल, भोलाखाटोल र दक्षुटोल गरी ४ वटा गाउँ पञ्चायत रहेको उनले बताए । ‘मैले स्वधाटोलको प्रधानपञ्चमा २०१८ साल, २० साल र २२ सालमा उम्मेदवारी दिएँ । तीनपटक हारें । मैले लगातार तीन पटक हारेकोमा मेरो बाले दुःख मान्नुभयो । छोरा हारेको तोडमा मेरो बाले पानी नआइरहेको तीनधारामा निजी खर्चबाट ढगाल गणेशबाट पानी ल्याएर खुवाउनुभयो’, उनले भने ।

तर, तीन पटकसम्म हार बेहोरेका मानन्धरलाई २०२४ सालमा भने स्वधाटोलवासीले प्रधानपञ्चमा जिताए । एक कार्यकाल पूरा गरेर २०२६ को चुनावमा फेरि उठ्ने क्रममा आफूलाई घात गरिएको घटना मानन्धरको सम्झनामा घरिघरि आउँछ । ‘त्यतिखेर उम्मेदवारलाई रङ–रङ अनुसारको बाकस दिइएको हुन्थ्यो । अनि अधिकृतको सही भएको कागजको चिर्कटो खसाल्नुपथ्र्यो । मेरो सेतो रङको बाकस थियो । मलाई दिन लागेको भोट बाकसमा खसाल्नु पर्दैन, मलाई दिन ल्याऊ भन्दै चुनाव गराउन आउने आफैंले जम्मा गर्दै राखेछ’, मानन्धरले भने। 

यो कुरा आफूले बाकस खोल्ने क्रममा मात्रै चाल पाएको बताउँछन्, ‘मसँग लड्नेको बाकस खोल्दा उसकोमा मुठा–मुठा भोट रहेछ । मेरोमा खालीजस्तै रहेछ । मलाई अन्याय भयो भनेर भोट भएको सबै बाकस सरस्वती स्कुलअघिको पोखरीमा फ्याँकिदिएँ । सिडिओ अफिसको वासु पासाले त्यो मानन्धरलाई बुट हानेर ल्याउनु भनेर आदेश दिएछन् । तर, मलाई फेला पार्नै सकेनन्’, उनले सुनाए। 

त्यो घटनापछि राजनीतिको मोह त्यागेका मानन्धरले अरनिको राजमार्ग बन्दैगर्दा २०२९ सालमा गाडी व्यवसाय गर्न थाले । केही वर्षपछि यो व्यवसाय पनि छोराहरूलाई जिम्मा लगाएका उनी पुरानै खेतीकिसानीमा रमाइरहेका छन्।

२०१५ सालयता संसद् र संविधानसभाका गरी ६ वटा चुनावमा भोट हालेका बताउँदै उनले भने, ‘कहिले भोट दिएको उम्मेदवारले जित्यो, कहिले हार्‍यो । तैपनि यसपटक नयाँ संविधानपछिको संसद् र प्रदेशसभाको पहिलोे चुनावमा भोट हाल्दैछु’, मानन्धरले थपे।

 

गौरीशंकर मानन्धर

प्रकाशित: १७ मंसिर २०७४ ०७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App