१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

विश्व मञ्चमा नेपालको निरीह कूटनीति

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदका लागि भएको चुनावमा नेपालले लज्जास्पद हार बेहोरेको छ । भारतको नयाँ दिल्लीमा बुधबार अपराह्न भएको चुनावमा नेपालका तर्फबाट उम्मेदवार रहेका शम्भुप्रसाद आचार्यले खसेको १० मतमा २ मात्र पाए । उनका प्रतिस्पर्धी बंगलादेशका उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेद ८ मत प्राप्त गरी विजयी भइन् ।  

गोप्य मतदानमा यस क्षेत्रका स्वास्थ्यमन्त्रीहरूले भाग लिएका थिए । डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड र टिमोर लिस्टे सदस्य छन् । मतदानमा सैनिक शासन भएको देश म्यान्मारबाहेक १० सदस्य राष्ट्र सहभागी भए ।  

प्रतिस्पर्धात्मक क्षमता राखेका आचार्यको हारले क्षेत्रीय स्तरमा नेपालको कूटनीतिक क्षमता अत्यन्त कमजोर र निरीह देखिएको छ । ‘यो मत परिणामले यस क्षेत्रमा कूटनीतिक हिसाबले नेपाल अत्यन्त कमजोर र निरीह देखिएको छ,’ डब्लुएचओ क्षेत्रीय कार्यालयमा कार्यरत एक नेपाली अधिकारीले भने । नेपालले यसअघि आफ्नो पक्षमा रहेका भारत र थाइल्याण्ड जस्ता सहयोगी देश पनि गुमाएको ती अधिकारीले बताए ।

एसिया क्षेत्रीय निर्देशक पदका लागि आचार्यको अनुभव र दक्षताअगाडि बाजेद कमजोर थिइन् तर बंगलादेशको बलियो कूटनीतिक लबिङका कारण उनले सफलता हात पारिन् । अटिजम रोगको उपचारका लागि पैरबी गर्दै आएकी बाजेद डब्लुएचओको मानसिक स्वास्थ्य विषयको सल्लाहकार समूहकी सदस्य थिइन् । उनले फेब्रुअरी १ तारिखदेखि ५ वर्षे कार्यभार सम्हाल्नेछिन् ।

जनस्वास्थ्यमा तीन दशक लामो अनुभव बोकेका नेपाली उम्मेदवार आचार्यसँग डब्लुएचओको मुख्यालयमा नेतृत्वदायी पदमा रहेर काम गरेको अनुभव छ । नेपाल सरकारले आफ्ना उम्मेदवारको पक्षमा बलियो लबिङ नगरेको आरोप नागरिक अभियन्ताले लगाएका छन् ।

अहिले क्षेत्रीय निर्देशक भारतीय नागरिक डा. पुनम क्षेत्रपाल छन् । उनी यो पदमा पहिलो पटक सन् २०१४ मा र दोस्रो पटक २०१८ मा निर्विरोध निर्वाचित भएकी थिइन् । क्षेत्रपाललाई दुवैपटक नेपालले समर्थन गरेको थियो । डब्लुएचओका विश्वभर ६ वटा क्षेत्रीय कार्यालय छन् । यसको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयको स्थापना सन् १९४८ मा भएको हो ।

प्रकाशित: १६ कार्तिक २०८० ००:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App