१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रपतिको हातबाट उच्चपदस्थ अधिकारी र सर्वसाधारणले गरे टिका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरूलाई दसैँको टिका लगाइदिएका छन्।

राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेलले आम सर्वसाधारणहरुलाई नेपालीहरुको महान चाड बडा दसैँको उपलक्ष्यमा टिका लगाइदिएका हुन्।  

सो अवसरमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सांसदहरु, नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरुलाई टिका लगाइदिएका हुन्।  

राष्ट्रपति पौडेलले विजया दशमीको दिन विशिष्ट व्यक्तिकासाथै आम सर्वसाधारणलाई पनि विजया दशमीको टिका लगाइदिएका छन्।  

आज दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टिका तथा जमरा लगाइदिएका थिए। टिका लगाउनको लागि मानिसहरू राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा लामवद्ध छन्।  

यसअघि विजया दशमीको शुभ साईतमा राष्ट्रपति पौडेलले परिवार र आफन्तलाई टिका र जमरा लगाइदिएका थिए।

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ। आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टिका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ।  

प्रकाशित: ७ कार्तिक २०८० १०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App