२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

महासचिव गुटेरेसलाई राजकीय सुरक्षा

सुवेदी १४ गते संसद्लाई सम्बोधन

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका बेला उच्च सुरक्षा व्यवस्था मिलाइने भएको छ। जिल्ला सुरक्षा समिति काठमाडौंको शुक्रबार बसेको बैठकले त्यसका लागि अहिलेदेखि नै उच्च सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ। प्रस्तुत सुरक्षा योजनामाथि छलफल गर्दै अहिलेदेखि नै उच्च सतर्कता अपनाउने निर्णय भएको हो।

महासचिव गुटेरेस नेपालको चारदिने भ्रमणका लागि कात्तिक १२ (अक्टोबर २९) मा नेपाल आउने तय भएको छ। यसै विषयलाई जिएर काठमाडौं जिल्ला प्रशासनले सुरक्षा समितिको बैठक राखेको हो।

बैठकमा नेपाली सेना, जिल्ला प्रहरी परिसर काठमाडौं, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सहभागी थिए।बैठकले केन्द्रीय सुरक्षा समितिलाई पनि काठमाडौंको सुरक्षा अवस्थाबारे जानकारी गराएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेका कारण सुरक्षा समितिले राजकीय सम्मानको सुरक्षा योजना बनाएको छ, भिभिआइपीको सुरक्षामा उच्चतम विधि अपनाइने छ’, जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले भने।

जिल्ला सुरक्षा समितिले गुटेरेसलाई राजकीय सम्मानसहितको सुरक्षा प्रदान गर्न सिफारिस गरेको छ। जिल्ला सुरक्षा समितिले यसअघि नै तयार पारेको सुरक्षा योजना केही परिमार्जनसहित पास गरेको छ।

गृह मन्त्रालयले संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणका बेला मिलाइने सुरक्षा प्रबन्धबारे जिल्ला सुरक्षा समितिलाई योजना बनाउन निर्देशन दिएको थियो। ‘हामीले निर्देशनअनुसार सुरक्षा समितिको बैठक राखेर सुरक्षा योजनाबारे मन्त्रालयलाई जानकारी दिएका छौं’, जिल्ला प्रशासन कार्यालय काठमाडौंका ती अधिकारीले भने, ‘मन्त्रालयले स्वीकृत गरेपछि कार्यान्वयन हुन्छ।’

यसअघि महासचिव गुटेरेसले अक्टुबर १३ देखि १५ सम्म नेपाल भ्रमण गर्ने कार्यतालिका तय भएको थियो। तर अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि उक्त भ्रमण स्थगित गरिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन न्युयोर्क गएका बेला महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निम्ता दिएका थिए।महासचिव गुटेरेसले नेपाल बसाइका क्रममा कालापत्थर, अन्नपूर्ण सर्किटलगायत क्षेत्रको भ्रमण गर्ने कार्यतालिका तय भएको स्रोतले जनाएको छ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले महासचिव गुटेरेसको भ्रमण कार्यक्रम स्वीकृत गरेको छ। बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महासचिव गुटेरेसको भ्रमण कार्यक्रम स्वीकृत भएको जानकारी दिएकी थिइन्।

गुटेरेसको नेपाल भ्रमणका बेला नेपाली सुरक्षाकर्मीले शान्ति मिसनमा पुर्‍याएको योगदान र भूमिकाको बारेमा पनि छलफल हुने बताइएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी संयुक्त राष्ट्रसंघको समन्वयमा द्वन्द्वग्रस्त विभिन्न मुलुकमा शान्ति स्थापनाका लागि खटिएका छन्।

परराष्ट्रमन्त्री एनपी साउद भने महासचिव गुटेरेसको भ्रमणका बेला नेपालमा नहुने भएका छन्। उनी कात्तिक ८ देखि १६ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमणमा निस्कने कार्यक्रम तय भएको छ।उनको भ्रमण कार्यक्रम पनि मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ।

१४ गते संसद्लाई सम्बोधन

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कात्तिक १४ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। सरकारले शुक्रबार संसद् सचिवालयलाई पत्र पठाएर गुटेरेसको सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउन भनेको छ। त्यस दिन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बोलाइने छ।

संसद् सचिवालयले गुटेरेसको सम्बोधनमा उपस्थित हुन नेपालस्थित विभिन्न मुलुकका दूतावास र कूटनीतिक नियोगका अधिकारी, सरकारका सचिव, प्रतिष्ठित व्यक्तित्वलगायतलाई निमन्त्रणा पठाउने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणालाई स्वीकार गर्दै महासचिव गुटेरेस नेपाल आउन लागेका हुन्। राष्ट्रसंघीय महासभामा भाग लिन न्युयोर्क गएका बेला प्रधानमन्त्री दाहालले गुटेरेसलाई भेटेका थिए। महासचिव गुटेरेसले भ्रमणका क्रममा नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका विषयमा पनि जानकारी लिनेछन्।

महासचिव गुटेरेस सन् १९९५ देखि २००० सम्म पोर्चुगलका प्रधानमन्त्री थिए। संयुक्त राष्ट्रसंघको महासचिवका रूपमा उनको यो दोस्रो कार्यकाल हो।

उनी पहिलो कार्यकालका लागि सन् २०१६ मा महासचिवमा नियुक्त भएका थिए। यसअघि सन् २००८ संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बान की मुनले नेपाल भ्रमण गरेका थिए। सन् १९७० र ८० को दशकमा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिवहरू क्रमशः डा. कर्ट वाल्डहाइम र ज्याभियर पेरिज डी कुइलरले नेपाल भ्रमण गरेका थिए।

प्रकाशित: ३ कार्तिक २०८० २३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App