६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले मधेश प्रदेश अधिवेशन: रघुवीरको अडानले सहमतिमा नेतृत्त्व चयन गर्न सकस

नेकपा एमाले मधेश प्रदेश अधिवेशनमा आजबाट बन्दसत्र सुरु भएको छ। जनकपुरधामास्थित महेन्द्रनरायण निधि मिथिला सांस्कृतिक केन्द्रमा बिहान ११ बजेबाट बन्दसत्र सुरु भएको हो।

अधिवेशनको उद्घाटनसत्र लगत्तै राति ८ बजेबाट बन्दसत्र सुरु हुने भनिएको थियो। तर, बन्दसत्र अघि प्रदेश नेतृत्वका लागि नेताहरू सहमति जुटाउने प्रयासमा लागेपछि आजबाट मात्रै बन्द सत्र सुरु भएको हो। नेतृत्त्व चयनमा खिचातानी बढेपछि कुनै निष्कर्ष निस्कन नसक्दा बन्द सत्र सुरु भएको हो।

एमाले प्रदेश अध्यक्षका लागि आधा दर्जनभन्दा बढी आकांक्षीहरू देखिएका छन्। तर, अहिलेसम्म कुनै नेता खुलेका छैनन्। तर, चर्चामा भने केहीको नाम सुनिएको छ। सहमतिको प्रयास पश्चात अब मुख्य चार नेता प्रदेश अध्यक्षको दौडमा देखिन्छन्। धनुषाकै तीन जना लक्ष्मीनरायण यादव, शिवशकर साह, राजकिशोर यादव र सिरहाका चन्देश्वर मण्डल प्रदेश अध्यक्षयका लागि प्रतिस्पर्धामा देखिन्छन् ।

प्रदेश अधिवेशनमा मुख्यतः दुई गुट सक्रिय देखिएका छन्। प्रतिनिधि सभा सदस्य तथा पार्टी सचिव रघुवीर महासेठ र मधेश प्रदेशसभा संसदीय दलका नेता सरोज कुमार यादवले आफ्नो सक्रियता बढाएका छन्। रघुवीरले अध्यक्षका लागि शिवशंकरलाई अघि सारेका छन् भने सरोजले लक्ष्मीनरायण र चन्देश्वरको नाम सारेका छन्। उनले दुईमध्ये कुनैपनि एक नेताको नाममा सहमति जुटे मात्रै आफू मान्ने अडानमा छन्।

प्रदेश अध्यक्ष राजकिशोर कुनै पक्षमा देखिएका छैनन्। तर पछिल्लो समय उनलाई रघुवीर महासेठलेसँगै लिएर बार्गेनिङ गरिरहेका छन्। रघुवीरले कसैमा सहमति  नजुटे राजकिशोरलाई प्रदेश अध्यक्ष बनाउनुपर्ने बताउँदै आएका छन्।

खिचातानीका कारण सहमति जुट्ने अवस्था नदेखेपछि पार्टी नेतृत्वले सचिव रघुवीर, पोलिटव्यूरो सदस्य लीलानाथ श्रेष्ठ र सुमन प्याकुरेललाई नेतृत्वमा सहमति जुटाउन जिम्मेवारी सुम्पिएको स्रोतले जनाएको छ।

श्रेष्ठ र प्याकुरेल भने सिरहाका चन्देश्वरको पक्षमा छन्। अन्ततः सहमति नजुटे चुनावमा जाने देखिएको छ। तर, चुनाव भए मण्डल जित्ने लगभग निश्चित जस्तै आँकलन गरिएको छ। प्रदेशमा रघुवीर महासेठ बाहेकका नेताहरू चन्देश्वरको पक्षमा उभिएकाले अहिलेको परिस्थितिमा चुनाव भए उनी नै बाजी मार्ने एक नेताले बताए।

प्रकाशित: २५ आश्विन २०८० ०७:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App