२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सभागृहको चौरमा २ वटा कुर्सी राखेर ‘ईं’ लाई वार्ताका लागि कुर्दै थिए बालेन

फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान दिनुपर्ने लगायतका माग राखेर ६ दिनदेखि उभिएर काठमाडौं महानगर अगाडि ईः लगायत अभियन्ताहरुले आन्दोलन गरिरहेका छन्।

अभियन्ता ईः बिहान ५ बजेदेखि राति ११ बजेसम्म काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि उभिँइरहन्छन्। उनको नेतृत्वमा रहेको विरोधको यो शैलीको सबैतीर चर्चा पनि छ।

उनीहरुले काठमाडौं महानगरपालिका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको विरोधमा विभिन्न नारा उल्लिखित प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन्। ७७ घन्टा भनेर सुरु गरिएको यो आन्दोलन १ सय २३ घन्टा हुँदै अब १ सय ९९ घन्टासम्म लम्बाइएको छ।

यसैबीच सोमबार (आज) मेयर बालेनले ईः लगायत अभियन्ताहरुलाई वार्ताका लागि बोलाएको तर छलफलमा नआएको उल्लेख गर्दै फेसबुकमा स्टाटस नै लेखे।

बालेनले लेखेका छन्, ‘विगत केही दिन देखि केही अभियानताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैं गएर वार्ता गरौं यहाँहरूको कुरा र समस्या सुनौं भन्दा अभियानताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन। लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौं, सयाद कुनै राजनितिकी स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं।के वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने?,’

त्यसको जवाफमा अभियान्ता ईः ले आफूहरूलाई भेट्न मेयर बालेन शाह नभई एक जना नगर प्रहरी मात्र आएको उल्लेख गरेका छन्।

ईः ले लेखेका छन्,  ‘मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्। करिब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए। हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए – त्यसोभए मेयरले भेट्दैन।’

महानगर स्रोतका अनुसार सोमबार मेयर बालेन वार्ताका लागि भन्दै राष्ट्रिय सभागृहको अगाडीको चौरमा दुई वटा कुर्सी लिएर बसेका थिए। सोमबार १२ बजे अघिनै बालेनले यसरी वार्ताको तयारी गरेका थिए।

त्यसपछि उनले एकजना नगर प्रहरीलाई आन्दोलनरत अभियन्ताहरुलाई बोलाउन पठाए। बाेलाउन गएका नगर प्रहरी नर्फकुन्जेल बालेन चौरमा नै पर्खिरहेका थिए।

स्रोत भन्छ, ‘ईः लाई बोलाउन गएका नगर प्रहरीले ईं एक्लै नआउने विज्ञसहितको टोली छलफलमा आउने जानकारी पनि गराए। त्यसपछि मेयर बालेन आफ्नो मागको छलफलमा किन विज्ञसहितको टोलि चाहिने भन्दै चौरबाट उठेर कार्यालय गएका थिए।’ मेयर बालेनले चौरमा छलफलका लागि १० मिनेट पर्खिएको स्रोत बताउँछ।  

को हुन आन्दोलन गर्ने ईः?

आफ्नो पूरा नाम समेत नखुलाउने इशान अधिकारी आफूलाई ईः भनेर चिनाउँछन्। संविधान मेरो होइन भनेर सिंहदरवारमा केही वर्षअघि रातो पोतेर चर्चामा आएका थिए उनी। संविधान सभाबाट संविधान जारी भएपछि ‘यो मेरो संविधान होइन’ भन्ने अभियानका क्रममा उनले सिंहदरवारको पर्खालमा रातो पोतेका थिए।

कोरोनाको समयमा ईं ले सरकार विरुद्ध इनफ इज इनफ अभियान सञ्चालन गरेका थिए। कोभिड महामारीको बेला सरकारविरुद्ध उनी २३ दिन ‘अनसन’ बसेका थिए।

प्रकाशित: ८ आश्विन २०८० ०८:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App