२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
कला

आमा

कविता

टाउकोभरि सेताम्मे तुसारो फुलाएर पनि

मलाई माया दिएर नअघाउने आमा

भन तिम्रो मनभित्र कत्रो प्रेमको समुन्द्र छ?

मलाई अहिले पनि याद छ

तिमी दिनभर खेतमा धान रोपेर आउँदा

भाइहरू पटुकी हेर्न आउँथे,

त्यहाँ रोटी मात्रै हुँदैनथ्यो

सँगै तिम्रो प्रेम हुन्थ्यो

म सोध्थें, ‘आमा दिनभर काम गरेर

के तपाईंलाई भोक लागेन?

किन खाजा बँचाएर ल्याउनुभएको?’

जवाफमा खाएर बचेको बाबु भन्नुहुन्थ्यो,

कति मीठो झुठ

अनि

मनभरि मायाको मधुशाला जमाएर

स्नेहको च्यवनप्रास खुवाएर हामीलाई

यो धर्तीमा टिक्न सक्ने बनाएकी मेरी आमा,

तिम्रो अनुपम स्नेह

मेरा लागि सिङ्गो आकाश हो।

आमा, मलाई याद छ

सानो बिसन्चोमा पनि

मेरो टाउको सुम्सुमाउँदै

रातभर तिम्रा आँखा

सूर्यको पारिलो घाम ओछ्याइरहेको

कहीं कतै जाँदा

म आउने बाटोभरि

बिछ्याइएको मायाको

रातो कार्पेट

कसरी भुल्न सक्छु म?

छोरो भोको छ कि भन्ने

मीठो सन्त्रास बोकेर

जहिल्यै बस्ने मेरी आमा,

तिमी मेरो हृदयकेन्द्रमा

मखमली बनी फुलिरहेका छौ।

प्रकाशित: २६ वैशाख २०८१ १०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App