नेपाली यात्रा साहित्यका वरिष्ठ साहित्यकार घनश्याम राजकर्णिकारको अनुसन्धानमूलक संस्मरणात्मक कृति ‘सम्झनामा मेरा पुर्खा’ काठमाडौमा लोकार्पण भएको छ।
उक्त कार्यक्रममा साहित्यकार राजकर्णिकारले यो संस्मरणात्मक कृति आफूले इमानदारीपूर्वक लेख्ने प्रयास गरेको बताए। उनले मानिसले आफ्ना पुर्खालाई बिर्सन नहुने उल्लेख गरे। राजकर्णिकारको यस संस्मरण कृतिमा उनका पुर्खाले गरेका संघर्षका दिन, पिताले स्थापना गरेको कृष्ण पाउरोटीका रोचक र अप्ठेरा समयदेखि वर्तमान स्थितिसम्मलाई प्रस्तुत गरिएको छ।
कार्यक्रममा समालोचक प्राडा कृष्णप्रसाद दाहालले राजकर्णिकार परिवारको इतिहास मात्र नभएर औद्योगिक उन्नतिको कथा यस पुस्तकमा समेटिएको बताए।
अर्का समीक्षक महेश पौड्यालले राजकर्णिकारका पुर्खाहरूको गाथासहित नेपालमा पाउरोटी उद्योगको इतिहास यसले बोलेको उल्लेख गरे।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले अहिलेका संस्मरणमा लेखकले आफूलाई सकेसम्म महान बनाउने गरेकोमा साहित्यकार राजकर्णिकारले पाठकसँग इमानदार भएर यो कृति लेखेको बताए।
नेपाल स्रष्टा समाजले आयोजना गरेको सो कार्यक्रममा वरिष्ठ कथाकार पद्मावती सिंह, महासचिव देविका तिमिल्सिना, लेखकका ज्वाइँ नील ताम्राकार र रन्जना निरौलाले बोलेका थिए।
प्रकाशित: २६ वैशाख २०८१ ११:१४ बुधबार





