अमेरिका र इरानबीच सम्भावित वार्ताको खबरहरूबीच खाडीका देशहरूले नयाँ आक्रमणको सूचना दिएका छन्। कुवेत सेनाले केही समयअघि मात्रै जनाएको छ कि कुवेती एयर डिफेन्स प्रणालीले अहिले शत्रुको मिसाइल र ड्रोन आक्रमणको सामना गरिरहेको छ।
सेनाको जनरल स्टाफका अनुसार यदि विस्फोटको आवाज सुनिन्छ भने त्यो एयर डिफेन्स प्रणालीले शत्रुका आक्रमण रोक्ने क्रममा भएको प्रतिक्रिया हो।सेनाले सर्वसाधारणलाई सम्बन्धित निकायहरूले जारी गरेका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको छ।
उता, बहराइनको गृह मन्त्रालयले इरानी आक्रमणका कारण एक सरकारी प्रतिष्ठानमा लागेको आगो नियन्त्रणमा लिइएको जनाएको छ। गृह मन्त्रालयका अनुसार उक्त घटनामा कोही पनि घाइते भएका छैनन्।
यसैबीच अलजजिराका अनुसार संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले पनि इरानबाट मिसाइल र ड्रोन आक्रमण भएको जानकारी दिएको छ। रक्षा मन्त्रालयले यूएईको डिफेन्स प्रणालीले ती आक्रमणहरूलाई रोकिरहेको जनाएको छ।
उता फार्स न्युज एजेन्सीका अनुसार हिज्बुल्लाहले तेल अवीवमा इसराइलको रक्षा मन्त्रालय र युद्ध मुख्यालयलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। एजेन्सी
प्रकाशित: १२ चैत्र २०८२ १०:२२ बिहीबार





