१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपति हिगिन्सबीच शिष्टाचार भेट

आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरे र आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्सबीच शिष्टाचार भेट भएको छ। 

राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए। भेटमा सभामुख घिमिरेले कूटनीतिक सम्बन्ध विस्तार भएको २४ वर्षमा दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताएका थिए।

‘सन् २०१९ सेप्टेम्बरमा आयरल्याण्डको प्रतिनिधि सभाका सभामुखले गरेको नेपाल भ्रमणले दुई संसद्बीचको सम्बन्धलाई घनिष्ट बनाएको छ’, उनले भने।

सभामुख घिमिरेले नेपाल र आयरल्याण्ड भौगोलिक रुपले टाढा भएता पनि कला, साहित्य, सङ्गीत तथा संस्कृतिका माध्यमले नजिक रहेको उल्लेख गरे। ‘हाम्रा दुई मुलुकबीच विश्व शान्ति, मित्रता एवं सद्भाव जस्ता समान मूल्य मान्यताहरू हुन्। लोकतन्त्र, मानवअधिकार, विधिको शासन र स्वतन्त्रता हाम्रा साझा प्रतिबद्धतारहेका छन्’, सभामुखको भनाइ थियो।

सभामुख घिमिरेले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको जानकारी दिँदै नेपालको आर्थिक विकासको लागि कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधार तथा सूचना प्रविधि जस्ता क्षेत्रमा लगानी गर्न राष्ट्रपतिमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे। उनले लगानीकर्ताहरूलाई आकर्षित गर्न आवश्यक कानुनी एवं नीतिगत सुधार भइरहेको जानकारी दिए।

सभामुख घिमिरेले जलवायु परिवर्तनको चुनौती सामना गर्न विश्व मञ्चमा नेपाल र आयरल्याण्डबीच सहकार्यमा जोड दिए। उनले आयरल्याण्डमा शिक्षा हासिल गर्न नेपाली विद्यार्थी आकर्षित भएको बताउँदै आवश्यक सहजीकरणका लागि आग्रह गरे। भेटमा आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्सले नेपाल राजतन्त्रात्मक शासन अन्त्य गर्दै लोकतन्त्रको बाटोमा अघि बढेकाबारे आफू जानकार रहेको बताउँदै प्राकृतिक रुपमा दुवै मुलुक धनी रहेको उल्लेख गरे। उनले सर्वोच्च शिखर सगरमाथा र हरित पर्यटनका लागि नेपाल जान आइरिस नागरिक लालयित रहेको बताए।

राष्ट्रपति हिगिन्सले नेपाल–आयरल्याण्डमैत्री समूहमार्फत नेपालको कृषि, पर्यटन लगायतका क्षेत्रमा काम गर्न सकिने धारणा राखेका थिए। तीन सदस्यीय प्रतिनिधमण्डलको नेतृत्व गर्दै आयरल्याण्ड भ्रमणमा रहनुभएका सभामुख घिमिरे भोलि बिहान १०ः१५ बजे काठमाडौँ फर्कने कार्यक्रम छ। भ्रमण टोलीमा सभामुखसँगै प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी छन्।

आयरल्याण्डमा रहँदा सभामुख घिमिरले संसद्को माथिल्लो सदन सिनेटका अध्यक्ष र तल्लो सदन प्रतिनिधिसभाका सभामुखसँग भेट गरेका थिए। उनले सरकार मन्त्री र तथा उच्च अधिकारीसँग भेट गरी दुई पक्षीय सम्बन्ध विस्तारका विविध विषयमा छलफल गरेका छन्।

आइरिस राष्ट्रपतिका कविता सङ्ग्रहको सम्झना भेटमा सभामुख घिमिरेले आइरिस राष्ट्रपतिको कविता सङ्ग्रह स्मरण गरे। उनले भने, ‘तपाईंले लेखको कविता सङ्ग्रह नेपाली भाषामा अनुवाद भएको छ। अत्यन्त राम्रो छ। नेपालीले रुचाएका छन्।’

तत्कालीन बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीद्वारा अनुवादित तथा सम्पादित ‘सुप्रसिद्ध आइरिस कवि माइकल डि हिगिन्सका प्रतिनिधि कविता’ नामक कविता सङ्ग्रह नेपाली भाषामा प्रकाशित छ। राष्ट्रपति डि हिगिन्सले नै पाँच वर्षअघि डब्लिनमा भएको कार्यक्रममा कविता सङ्ग्रह लोकार्पण गरेका थिए।

सभामुख घिमिरेले राष्ट्रपति डि हिगिन्सको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै नेपाल भ्रमणका लागि आमन्त्रण गरेका छन्। रासस

प्रकाशित: ६ आश्विन २०८० ०६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App