१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संशोधन दबाबमा होइन सहमतिमा: ओली

सुवास र संविधान

कनकमणि दीक्षितको फेसबुकबाट

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको हतारो नभएको बताएका छन्। ‘भावना, दबाब, अनुचित उद्देश्य राखेर संविधान संशोधन गर्न सकिँदैन, अहिले हतारो छैन’, एमाले मुख्यालय ललितपुरको च्यासलमा मंगलबार आयोजित ‘सुवास र संविधान’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘संविधान संशोधन गर्दा राष्ट्रिय सहमति आवश्यक हुन्छ, जुन विगतमा भएको थियो।’

ओलीले संविधान कार्यान्वयनमा प्रमुख राजनीतिक दलहरू जिम्मेवार नभए मुलुक खतरामा पर्ने भएकाले त्यस्तो अवस्था आउन नदिन दलहरू नै गम्भीर हुनुपर्ने बताए।

देश हिसाब गर्न नसकिने ठुलो क्षति बेहोरेर यो ठाउँमा आइपुगेको चर्चा गर्दै उनले उपलब्धिहरूलाई कसैगरे पनि गुम्न दिन नहुनेमा सबै सचेत हुनुपर्ने बताए।

ओलीले संविधान निर्माणमा सुवास नेम्वाङको योगदानको सम्मान र प्रशंसा गर्दै मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘संविधान निर्माणमा गतिलो भूमिका निर्वाह गर्नुभएका सुवासजी यहाँ हुनुहुन्न तर हामी त छौं नि, संविधानका उपलब्धिलाई संस्थागत गर्ने जिम्मेवारीबाट एमाले बाहिर रहँदैन, जिम्मेवारीबाट भाग्दैन’, उनले भने।

दुई वर्षपछि पहिलोपटक एमाले मुख्यालय पुगेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता झलनाथ खनालले संविधान निर्माणमा नेम्वाङको भूमिकाको चर्चा गर्दा वामपन्थी एकतालाई भुल्न नहुने बताए। ‘आज हामीले उहाँ (सुवास नेम्वाङ) लाई सम्झँदै गर्दा हामीले वामपन्थी एकता भुल्नु हुँदैन’, एमालेका पूर्वअध्यक्षसमेत रहेका खनालले भने, ‘नेम्वाङको कदरका लागि पनि कम्युनिस्टहरू मिल्नुपर्छ। कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेम्वाङ संविधानसभाका सभामुख भएकाले संविधान जारी गर्न सहज भएको बताए। ‘संविधान निर्माणमा उहाँको संयोजनकारी मात्रै होइन, नेतृत्वदायी भूमिका छ’, सिटौलाले भने। संविधान जारी हुँदाका बखत दलहरूबिच राम्रो समझदारी भएको तर त्यसलगत्तै टुटेकाले संविधान कार्यान्वयनमा चुनौती थपिएको उनले बताए।

नेकपा माओवादी केन्द्रकी नेत्री एवं पूर्वसभामुख ओनसरी घर्ती मगरले नेम्वाङसँगको १३ वर्ष सहकार्य स्मरण गर्दै उनलाई संसद्प्रति इमानदार र जनताप्रति जिम्मेवार भएको आफूले पाएको बताइन्।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले संविधान जारी हुनु नै नेम्वाङको सफलता भएको बताए। उक्त अवसरमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रकम चेमजोङले संविधानमाथि चुनौती र आक्रमण गर्ने शक्तिहरू बढेका बेला समन्वयकारी नेता नेम्वाङको अभाव खड्किएको बताए।

प्रकाशित: ३ आश्विन २०८० ०३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App