१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै : सभापति देउवा

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान सभा मार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमन चयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको बताएका छन।संविधान दिवसको अवसरमा उनले शुभकामना सन्देश दिदै संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको पनि बताएका छन।

ऐतिहासिक जननिर्वाचित संविधान सभा मार्फत संविधान निर्माण भई जारी भएको आज ८ बर्ष पुरा भएर ९ बर्षमा प्रवेश गरेको छ । यो अवधिमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन सम्पन्न भई तीनै तहले दोस्रो कार्यकालको रुपमा काम गरिरहेका छन् । नयाँ संविधान अनुसार विभिन्न ऐन÷कानून निर्माण सम्पन्न भई संविधान पूर्ण कार्यान्वयन तर्फ अघि बढेको र नयाँ संविधान अनुसारको स्थानीय, प्रदेश र केन्द्र तीनै तहका सरकार जनताको अपेक्षा अनुसारको काम गर्न अग्रसर देखिएको पनि सभापति देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

लोकतान्त्रिक संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको पनि उनले उल्लेख गरेका छन्।संवैधानिक अभ्यासमा भएका कमी–कमजोरी सच्चाउँदै संविधानको व्यवहारिक कार्यान्वयनमा विशेष ध्यान दिएर अघि बढ्नुपर्ने जिम्मेवारी रहेको सभापति देउवाले सुझाव दिए । सबै राजनीतिक दल, नागरिक समाज, नीजि क्षेत्र र विभिन्न पेशाकर्मीहरुको सामुहिक प्रयत्नबाट अब मुलुकलाई समुन्नत देशको रुपमा अघि बढाउनु पर्ने दायित्व हामी सबैको काँधमा आएको नेपाली कांग्रेसका सभापति देउवाले बताएका छन ।  

संविधान दिवसको अबसरको उपलक्ष्यमा सभापति देउवाले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ,‘२००७ सालदेखि सुरु भएको विभिन्न चरणका राजनीतिक संघर्ष र प्रातः स्मरणीय सहिदको बलिदानको उपलव्धिका रुपमा संविधान सभा मार्फत संविधान जारी भएको हो । संविधानको सफल कार्यान्वयन गरेर जनतालाई न्याय, सुशासन, समानता, सुख एवम् समृद्धि सहितको समुन्नत मुलुक बनाउन हामी सबैले एक आपसमा हातेमालो गरेर अघि बढ्नु पर्ने आवश्यकता छ । 

मुलुकलाई केही बर्षमा नै समुन्नत मुलुकको रुपमा अघि बढाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने भएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसको यो पावन अवसरमा समुन्नत मुलुक बनाउने अभियानमा सबैलाई एकताबद्ध भएर सहभागि हुन म हार्दिक अनुरोध गर्न चाहन्छु ।अन्त्यमा, संविधान दिवसको यस पावन अवसरमा विगतका हरेक राजनीतिक र सामाजिक आन्दोलनको अगुवाई गरेका हाम्रा अग्रज नेता गणहरु, विभिन्न आन्दोलनका क्रममा ज्यानको  आहुति दिने महान सहिदहरु, लोकतन्त्र प्राप्तिको आन्दोलनमा त्याग, संघर्ष र योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरु, हरेक आन्दोलनमा साथ सहयोग गर्ने नागरिकहरु लगायत सबैप्रति उच्च सम्मान प्रकट गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

प्रकाशित: ३ आश्विन २०८० ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App