२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

जसपा मोरङका अध्यक्षमाथि दुर्व्यवहार गरेको आरोपमा तीन नगर प्रहरी निष्कासित

नगर प्रहरीद्वारा अध्यक्ष यादवमाथि दुर्व्यवहार (बायाँ) महानगर अगाडि जसपाको प्रदर्शन (दायाँ)

जनता समाजवादी मोरङका अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिकाका तीन जना नगर प्रहरीलाई महानगरपालिकाले कारबाही गरेको छ।

महानगरले नगर प्रहरी हवलदार रमेश निरौला भण्डारी, नगर प्रहरी जवान विक्रम श्रेष्ठ र बब्लु केशरीलाई कारबाही गरी असोज २ गते देखि जिम्मेवारी मुक्त गरेको हो।

महानगरले मंगलबार विज्ञप्ति मार्फत नगर प्रहरी हवलदारसहित दुई जना नगरप्रहरी जवानहरूलाई कारबाही गरी जिम्मेवारीबाट हटाइएको जनाएको छ।

भदौ २७ गते साँझ विराटनगरको कोशी अस्पताल अगाडिको आफ्नै फार्मेसीमा रहेका यादवलाई नगर प्रहरीहरूले लछारपछार गर्दै दुर्व्यवहार गरेका थिए।

दुर्व्यवहार विरुद्ध भदौ २९ गते महानगर कार्यालय घेराउ गर्दै जसपाका कार्यकर्ताले प्रदर्शनसमेत गरेका थिए। सडकमा राखिएको सिटी रिक्सामा महानगरका प्रहरीले व्हिल लक लगाइदिएको विषयमा जसपा मोरङका अध्यक्ष यादव र नगर प्रहरीबिच विवाद भएको थियो। 

भदौ ३१ गते जसपाका नेताहरूसँग महानगरपालिकाका मेयर कोइरालाले वार्ता गरेका थिए। वार्तामा घटनामा संलग्नलाई छानबिन गरी कारबाही गर्ने सहमति भएको थियो। सहमति अनुसार मेयर कोइरालाले नगर प्रहरी हवलदारसहित तीन जनालाई कारबाही गरेको हो।

प्रकाशित: २ आश्विन २०८० ०९:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App