१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

लोसे लोसपा

पार्टी गठनको दुई वर्षपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर केन्द्रीय समिति गठनको गृहकार्यमा छन्। उनी एकदुई दिनभित्रै केन्द्रीय समितिको सूची सार्वजनिक गर्ने तयारी रहेको पार्टीका नेताहरूले जनाएका छन्।

निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बेला लोसपाका नेताहरूले १९ सदस्यीय कार्यकारिणी समितिको सूची बुझाएका थिए। पार्टी दर्ता गर्ने प्रयोजनका लागि मात्र बुझाइएको उक्त सूची केन्द्रीय नभई कार्यकारिणी समितिको थियो।

आयोगमा बुझाइएको १९ सदस्यीय सूची कार्यकारिणी समिति भएकै कारण केन्द्रीय समिति अब एकदुई दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको पार्टीका नेता अकवल महमद साहले बताएका हुन्।

दुई वर्षसम्म अध्यक्ष ठाकुरले पार्टीका भ्रातृ संगठनहरू पनि बनाएका छैनन्। जनता समाजवादी पार्टी (जसपा) बाट विद्रोह गरी महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा लगायत नेताहरूले २०७८ भदौ १ गते निर्वाचन आयोगमा लोसपा दर्ताका लागि निवेदन दिएका थिए। दर्ता भएको नौ दिनपछि आयोगले त्यसलाई दलका रूपमा मान्यता दिएको थियो। अहिले पनि लोसपा आयोगमा बुझाइएको १९ सदस्यीय कार्यकारिणी समितिका आधारमा चलेको छ।

आयोगमा बुझाइएको १९ सदस्यीय कार्यकारिणी समितिको अध्यक्षमा ठाकुरको नाम छ। पार्टी स्रोतका अनुसार पार्टी ठाकुरले बल्ल ३०८ केन्द्रीय सदस्यको नाम तयार गरेका छन्। जसमध्ये १०८ जना महिला मात्र भएको पार्टी स्रोतको भनाइ छ। पार्टीको विधानमा ४०१ सदस्यीयसम्म केन्द्रीय समिति बनाउन सकिने व्यवस्था छ।

पार्टीका एक नेताले भने, ‘अध्यक्षज्यूले केन्द्रीय समितिको सूची बनाइसक्नुभएको छ। कहिले सार्वजनिक गर्नुहुन्छ, हामीलाई थाहा छैन तर चाँडै सार्वजनिक गर्नुहोला भन्ने हामीले अनुमान गरेका छौं।’

ठाकुरनिकट नेता डा. सुरेन्द्र झाले एक साताभित्र पार्टी अध्यक्षले केन्द्रीय सदस्यको सूची सार्वजनक गर्ने तयारी भएको बताए। ‘अहिले पनि अध्यक्षले पार्टीका नेताहरूलाई जिम्मेवारी दिनुभएकै छ। खाली औपचारिक सूची सार्वजनिक नगर्नुभएको मात्र हो,’ उनले भने।

ठाकुरले लामो समय केन्द्रीय तथा भ्रातृ संगठन नबनाएको विषयमा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोनिकट नेताहरू असन्तुष्ट छन्। यस विषयमा उनीहरूले पटकपटक ठाकुरको ध्यानाकर्षण गराएका छन्। तर पनि ठाकुरले खासै चासो नदेखाएको उनीहरूको दुखेसो छ।

 ‘पार्टीका सबै नेतालाई समेट्न केन्द्रीय समिति बनाउन केही ढिलो भएको हो। अब केन्द्रीय समितिको सूची तत्काल सार्वजनिक हुनेछ,’ ठाकुरनिकट नेता साहले भने।

अहिले लोसपाका नेताहरू दुई गुटमा बाँडिएका छन्। ठाकुरले एउटा गुट र वरिष्ठ नेता महतोले अर्को गुटको नेतृत्व गरेका छन्। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनयता ठाकुर र महतोबीचको सम्बन्ध बिग्रिएको हो। महतोसँगको सम्बन्ध बिग्रेपछि ठाकुरले केन्द्रीय समिति गठन गर्न आलटाल गरिरहेको महतोनिकट नेताहरूको भनाइ छ। पार्टीबाट सरकारमा गएका श्रम तथा रोजगार मन्त्री शरत्सिंह भण्डारी अध्यक्ष ठाकुरसँग निकट मानिन्छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा महतो पराजित भएका कारण ठाकुरलाई संसदीय दलको नेता छान्न भने सजिलो भयो। ठाकुर स्वयं लोसपा संसदीय दलको नेता चुनिएका छन्।

पार्टी अध्यक्षको निष्क्रियताका कारण अहिलेसम्म केन्द्रीय समिति गठन नभएको र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले थ्रेसहोल्ड नकटाएको महतोनिकट नेताहरूको भनाइ छ। तर ठाकुरनिकट नेताहरूले पार्टीले थ्रेहहोल्ड कटाउन नसक्नुमा पार्टीका सबै नेता उत्तिकै जिम्मेवार रहेको बताउँछन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन हारेपछि महतो काठमाडौंभन्दा मधेसमा धेरै बस्दै आएका छन्। ठाकुर भने स्वास्थ्यका कारण अधिकांश समय काठमाडौंमै बस्छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा लोसपाले चार स्थानमा मात्र विजयी भएको छ। निर्वाचनमा थ्रेसहोल्ड कटाउन नसक्दा लोसपा राष्ट्रिय पार्टी पनि बन्न सकेको छैन।

प्रकाशित: २४ भाद्र २०८० ०३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App