२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कोशीको सरकारलाई राप्रपाको समर्थन छैनः लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीमा नव गठित एमालेको सरकारलाई राप्रपाको समर्थन नरहेको बताएका छन्। आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले कोशीमा नवगठित एमालेको सरकारलाई समर्थन नगर्ने बताए।  

लिङ्देनले राप्रपाको तटस्थ बस्ने नीति रहेको र कोशीमा नव गठीत सरकारलाई समर्थन नरहेको स्पष्ट पारे। लिङ्देनले संघीय व्यवस्था आफूहरूको एजेण्डा नै नभएका कारण यसलाई जोगाउनुपर्ने आबश्यकता नरहेको धारणा राखे। लिङ्देनले कोशीमा कांग्रेस र एमालेले मिलेर सरकार बनाउन् भन्ने राप्रपाको चाहना रहेको स्पष्ट पारे। ‘राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेस मिलेर सरकार चलाउन् भन्ने हाम्रो चाहना हो’ लिङ्देनले भने ‘कोशीमा अझै धेरै समय बाँकी छ। धारा ५ अनुसार सरकार गठन भएपछि राप्रपा निर्णायक देखिएको खण्डमा मात्रै आबश्यक निर्णय गछौं। त्यो भन्दा अगाडिसम्म हामी कतैपट्टी पनि लाग्दैनौ।सरकार अहिले हाम्रो प्राथमिकता नै नभएकाले सरकारमा सामेल हुने नहुनेबारे कुनै धारणा बनाएका छैनौं।’ 

कोशी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबै भन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा कार्की कोशी प्रदेशका मुख्यमन्त्री भएका छन्।  

राप्रपाको समर्थन नरहेपछि कार्कीलाई सभामुखको भूमिकामा रहेका उपसभामुखसमेत एमालेका ४० जना सांसदको मात्रै समर्थन रहेको छ। कोशी प्रदेशमा सभामुख नभएका कारण उपसभामुखले सभामुखको भूमिका निर्वाह गर्नुपर्दा कार्कीको पक्षमा ३९ जना मात्रै सांसद देखिएका छन्। प्रदेशसभाबाट विश्वासको मत पाउन ९३ सदस्यीय कोशी प्रदेशसभाका ४७ जना सांसदको मत  आबश्यक पर्दछ।

तर, अहिलेकै अवस्थामा कार्कीले विश्वासको मत पाउने संभावना देखिएको छैन। विपक्षी गठबन्धनमा भने बहुमत रहेको छ। कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकिकृत समाजवादीका ४ र जसपाका १ गरी ४७ सांसद विपक्षी गठबन्धनमा छन्। प्रदेशसभाको अध्यक्षता गरेको नेपाली कांग्रेसका सांसद इस्राइल मन्सुरीलाईसमेत मतदान गराएर  विश्वासको मत लिनु संविधान विपरित रहेको भन्दै सर्बोच्च अदालतले तत्कालिन मुख्यमन्त्री उद्वव थापालाई गत विहीबार हटाएर प्रदेशसभाको सबै भन्दा ठूलो दलको नेता हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो। अदालतको परमादेशबाट कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन्।  

प्रकाशित: २३ भाद्र २०८० ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App