५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

लुम्बिनीमा ओलीको अवज्ञा

पार्टीमा चुनावी प्रतिस्पर्धाको बाटो खुल्यो

फाइल तस्वीर

नेकपा एमालेको दसौं महाधिवेशनपछि भएको प्रदेश अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न–गराउन दिएको निर्देशन लुम्बिनी प्रदेशमा अवज्ञा भएको छ।

खुला र बन्द दुवै सत्रमा सम्बोधन गरेका अध्यक्ष ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए तर उनको सो निर्देशनविपरीत मतदानबाट नेतृत्व चयन भएको छ। लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका समूहबिच कडा टक्कर भएको छ। उपाध्यक्ष पौडेलनिकट राधाकृष्ण कँडेलले झिनो मतले जित हासिल गरे। उनले महासचिव पोखरेलबाट अघोषित रूपमा समर्थन पाएका हरि रिजाललाई दुई मतले पराजित गरेका हुन्। कँडेलले जितेपछि ओली खुसी देखिएका छैनन्। उनले आफ्नो आधिकारिक फेसबुक पेजमा कँडेललाई बधाई पनि दिएका छैनन्।

‘लुम्बिनी प्रदेशको नेतृत्व चयन सकेसम्म सर्वसम्मत गर्न खोजिएको थियो, सम्भव भएन, प्रतिस्पर्धा भयो,’ एमालेका एक पदाधिकारीले भने। उनका अनुसार लुम्बिनीमा सर्वसम्मत रूपमा नेतृत्व हुन नसक्दा अन्य प्रदेशमा समेत प्रतिस्पर्धाका लागि बाटो खुलेको छ।

नेकपा एमालेको दसौं महाधिवेशनपछि भएको प्रदेश अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न–गराउन दिएको निर्देशन लुम्बिनी प्रदेशमा अवज्ञा भएको छ।

अध्यक्ष ओलीले गुटबन्दी हुने भनेर त्यस्तो प्रतिस्पर्धा रोक्न खोजेका थिए। तर उनी आफैंले भने दसौं महाधिवेशन अघिदेखि नै हाल महासचिव रहेका पोखरेललाई काखी च्याप्दै आएका छन्। लुम्बिनी प्रदेशको राजधानी सार्नेदेखि दसौं महाधिवेशनमा महासचिव बनाउनेसम्ममा ओलीले पोखरेललाई साथ दिएका छन्। त्यसैको परिणाम यसपटक केन्द्रीय सदस्यबाट राजीनामा दिन लगाएर रिजाललाई लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा प्रतिस्पर्धा गराइएको थियो।

‘प्रतिस्पर्धामा रहेका कँडेल र रिजालमध्ये प्रदेशमा कँडेलकै वर्चस्व रहे पनि निर्वाचनका लागि मतदान गर्ने समय एक दिन ढिलो गराएर रिजालको पक्षमा नतिजा ल्याउने कसरत पनि गरिएको थियो,’ ती पदाधिकारीले भने। उनका अनुसार अध्यक्ष ओली आफैं सक्रिय हुँदाहुँदै पनि उनको टिम हारेको छ। ‘यसबाट अध्यक्ष ओलीलाई धक्का लागेको छ। लुम्बिनीको सिको गरे अब सबै प्रदेशमा पौडेल र पोखरेलनिकट नेताहरूबिच नै प्रतिस्पर्धा हुनेछ,’ उनले भने।

लुम्बिनीमा मंगलबार सम्पन्न भएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार पाल्पाका कँडेल ४७९ मत प्राप्त गरी विजयी भएका हुन्। प्रत्यासी प्युठानका रिजालले ४७७ मत प्राप्त गरे। लुम्बिनी अधिवेशनले उपत्यका विशेषसहित सातवटै प्रदेशमा नेतृत्वका लागि गुटगत प्रतिस्पर्धा हुन सक्ने आकलन गरिएको छ।

अध्यक्ष ओलीले प्यानल बनाएर सकेसम्म प्रतिस्पर्धा नगर्न निर्देशन दिँदै आए पनि त्यसलाई रोक्न नसक्ने अवस्था लुम्बिनीले देखाएको छ। लुम्बिनी अधिवेशनको उद्घाटन सत्रमा पार्टी उपाध्यक्ष पौडेल र महासचिव पोखरेल दुवैले सम्बोधन गरेका थिए। त्यस क्रममा पौडेलले गुट बनाउनेहरू पार्टीबाटै सकिने धारणा राखेका थिए भने पोखरेलले पार्टीलाई मजबुत बनाउन उपाध्यक्ष पौडेल र आफूबिच सहकार्य रहेको बताएका थिए। तर त्यहीकै अधिवेशनमा उनीहरूबाट गुट झल्को दिने खालको अभ्यास भएको छ।

आगामी असोज १२ र १३ गते विराटनगरमा कोसी प्रदेशको अधिवेशन हुँदैछ। त्यसका लागि असोज ५ भित्र प्रतिनिधि छनोट भइसक्नेछन्। त्यहाँ दोहोरो जिम्मेवारीमा रहेका ३५१ प्रदेशस्तरीय नेताहरू छन्। उनीहरू दोहोरो जिम्मेवारीबाट मुक्त हुने भएपछि नेतृत्वका लागि प्रतिस्पर्धा हुने सम्भावना छ। ४७१ सदस्यीय कोसी कमिटी अब १५१ सदस्यीय बन्नेछ। त्यसका लागि पोलिटब्युरो सदस्य विशाल भट्टराई, हालका प्रदेश अध्यक्ष तुलसी न्यौपाने, केन्द्रीय सदस्यहरू विनोद ढकाल, घनश्याम खतिवडा, टीकाराम चेम्जोङ लगायतले प्रतिस्पर्धाको तयारी गरेका छन्। ओलीलाई साथसहयोग गर्दै आएका उनीहरू हाल उपाध्यक्ष पौडेल र महासचिव पोखरेल खेमामा विभाजित भइसकेका छन्। तीमध्ये केही पूर्वराष्ट्रपति विद्या भण्डारीनिकटका पनि छन्।

लुम्बिनीमा मंगलबार सम्पन्न भएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार पाल्पाका कँडेल ४७९ मत प्राप्त गरी विजयी भएका हुन्। प्रत्यासी प्युठानका रिजालले ४७७ मत प्राप्त गरे।

असोज ५ र ६ गते मधेस प्रदेशको अधिवेशन तोकिए पनि समयाभावलाई कारण देखाउँदै पछि सारिएको छ। अधिवेशन सम्पन्न गराउन र प्रदेशको संगठनलाई मजबुत बनाउन खटिएका केन्द्रीय सचिव योगेश भट्टराईले तयारी अभाव भएकाले केही दिन प्रदेश अधिवेशन सारिएको बताएका छन्।

मधेस प्रदेशमा कम्तीमा १११ नेता-कार्यकर्ताहरू दोहोरो जिम्मेवारीबाट मुक्त हुनेछन्। मधेस प्रदेशमा ३१० सदस्यीय सदस्य कमिटी रहेकोमा अबको अधिवेशनबाट १९९ सदस्यीय हुनेछ। मधेस प्रदेशको नेतृत्व गर्न पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, रामदयाल मण्डल, राजकिशोर यादवले चासो राखेका छन्। पौडेल विगतमा माधव नेपालनिकट भए पनि पछिल्लो समय ओलीकै साथमा छन्। त्यसैगरी प्याकुरेल पनि ओलीनिकट नै रहेका छन्। मण्डल र यादव पनि मधेस प्रदेशको नेतृत्व आफूहरूले गर्न पाउनुपर्छ भनेर लागिरहेका छन्।

यस्तै असोज ८ र ९ गते हुने वाग्मती प्रदेशको अधिवेशनले २१३ जना सदस्यलाई दोहोरो जिम्मेवारीबाट हटाउनेछ। अहिले बाग्मती प्रदेश कमिटी ४५३ सदस्यीय छ। यो कमिटीलाई २४० सदस्यीय बनाउने तयारी थालिएको छ। त्यसका लागि दोलखाका पार्वत गुरुङ, सिन्धुपाल्चोकका अरूण नेपाल, भक्तपुरका महेश बस्नेत, रामेछापका कैलाश ढुंगेल र नुवाकोटका केशव पाण्डे आकांक्षी देखिएका छन्। उनीहरूमध्ये बस्नेतले पौडेल पक्षको नेतृत्व गर्ने सम्भावना छ।

युवा विद्यार्थीहरू रहेको उपत्यका विशेष प्रदेश कमिटीमा ४० भन्दा बढीलाई अलग बनाउने तयारी भएको छ। असोज १९ र २० गते हुने भनिएको सो अधिवेशनबाट १४० सदस्यीयबाट घटाएर बढीमा १०१ वा ९० सदस्यीय मात्रै बनाउने गरी तयारी थालिएको छ। यसका लागि विद्यार्थी विशेषमा रहेर काम गरिरहेका नेताहरूले आकांक्षा गरिरहेका छन्।

असोज ५ र ६ गते मधेस प्रदेशको अधिवेशन तोकिए पनि समयाभावलाई कारण देखाउँदै पछि सारिएको छ।

असोज १५ र १६ गते गण्डकी प्रदेशको अधिवेशन मिति तय भएको छ। गण्डकी प्रदेशमा ५५५ सदस्यीय कमिटी छ। अब हुने अधिवेशनबाट त्यसलाई १६५ सदस्यीय बनाउने तयारी भएको छ।

गण्डकीको नेतृत्वका लागि विद्यार्थीबाट बिदा भएका रश्मि आचार्य, मायानाथ अधिकारी, डा. सूर्य पाठक, धनञ्जय दवाडी, हिरा केसी, राजीव पहारीलगायतले इच्छा राखेका छन्। गण्डकीमा धेरैजसो उम्मेदवार पौडेल पक्षका छन्। लुम्बिनी र गण्डकीमा उपाध्यक्ष पौडेलको वचस्र्व छ। कोसी र वाग्मतीमा भने पोखरेल समूह अलि बलियो देखिन्छ।

असोज १० र ११ गते कर्णाली प्रदेशको अधिवेशन तोकिएको छ। त्यहाँबाट पनि कम्तीमा ९० जना वा त्योभन्दा बढी सदस्य कमिटीबाट बिदा हुनेछन्। कर्णाली प्रदेशमा अहिले २२५ सदस्यीय कमिटी छ। त्यसलाई १३५ भन्दा पनि कम बनाउने तयारी छ। कर्णालीमा विष्णु रिजाल, निरज आचार्य, मीनबहादुर शाही, राजबहादुर बुढा, दलबहादुर रावल, गुलाबजंग शाहलगायतले आकांक्षा राखेका छन्। त्यहाँ पनि पौडेल पक्षकै वर्चस्व छ। पोखरेल निकट रहेका नेताहरूको अवस्था कमजोर रहेका कारण कर्णालीमा पौडेललाई सहज हुने अवस्था छ।

असोज १५ र १६ गते गण्डकी प्रदेशको अधिवेशन मिति तय भएको छ। गण्डकी प्रदेशमा ५५५ सदस्यीय कमिटी छ। अब हुने अधिवेशनबाट त्यसलाई १६५ सदस्यीय बनाउने तयारी भएको छ।

त्यस्तै भदौ २१ र २२ मा सुदूरपश्चिम प्रदेशको अधिवेशनको तयारी गरिएको छ। सो प्रदेश कमिटीलाई ३७५ बाट १५५ सदस्यमा झार्ने गरी तयारी भइरहेको छ। सो प्रदेशमा २२० जना जिम्मेवारीबाट अलग हुनेछन्। यसका लागि पोलिटब्युरो सदस्य कर्ण थापा आफैं खटिएका छन्। माओवादी केन्द्रबाट एमालेमा रहेका लेखराज भट्टको पनि क्षेत्र भएकाले सुदूरपश्चिमलाई पार्टी केन्द्रले पनि चासो राखेको छ। त्यहाँ प्रदेश अध्यक्षका लागि वचन सिंह, लालबहादुर थापा, कृष्ण जैसीले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। कर्ण थापाले एमालेभित्र ओलीको खिलाफमा जान नसक्ने नेताका रूपमा परिचय बनाए पनि गत साउनमा सम्पन्न सचिवालय बैठकमा पोखरेलले कारबाहीको प्रस्ताव राखेपछि उनी चिढिएका छन्।  

प्रकाशित: २१ भाद्र २०८० ०१:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App