प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले चीनलाई तत्काल नेपालको नयाँ नक्शा (चुच्चे नक्शा) लाई मान्यता दिन कुटनीतिक नोट पठाउनुपर्ने बताएको छ।
एमालेका सचेतक महेश बर्ताैलाले चीनले आफ्नो नयाँ नक्शा जारी गर्दा नेपालको पुरानै नक्शा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई सो बारे कुटनीतिक नोट तत्काल पठाउनुपर्ने बताएका हुन्।
सोमवार सङ्घीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले चीन सरकारलाई सो नक्शा सच्याउन नेपाल सरकारले अविलम्ब पहल गर्नुपर्ने बताए। चीनले नेपालको नक्शा पनि समेटदा पुरानै नक्शालाई मान्यता दिनु दुःखद् भएको उल्लेख गर्दै सचेतक बर्तौलाले त्यसलाई कुटनीतिक माध्यमबाट सच्याउनका लागि नेपाल सरकार लाग्नुपर्ने बताए।
उनले भने, ‘हामीलाई एक इन्च पनि जमिन कसैको चाहिँदैन। कसैलाई छोड्दैनौं पनि। यही मान्यता बमोजिम हामी आज पनि यसमा उभिएका छौं। जहाँसम्म चीनले नेपालको नक्शा पनि छेउमा राख्दै गर्दा चुच्चे नक्शा गायब गरेर राख्यो। यस सन्दर्भमा नेपाल सरकारले अविलम्ब चीन सरकारलाई कुटनीतिक नोट पठाओस्। अविलम्ब सरकारले चीन सरकारसँग समन्वय गरेर यो विषयलाई चाँडो हल गरोस्।’
सचेतक बर्तौलाले एमाले आफ्नो एक ईन्च भूमि छोड्ने पक्षमा नरहेको दोहार्याउँदै उनले नेपालको भुगोलबारे अन्यथा टिप्पणी गर्ने अधिकार अरु राष्ट्रलाई नभएको पनि बताए।
प्रकाशित: १८ भाद्र २०८० १२:०६ सोमबार





