१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि कँडेल र रिजालको उम्मेदवारी

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्वकालागि दुई जनाको उम्मेदवारी परेको छ।

अध्यक्ष पदकालागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजालले उम्मेदवारी दर्ता गराएका हुन्। रिजालको उम्मेदवारीमा विजयविराज विष्ट प्रस्तावक र बालसिंह काउछा समर्थक रहेका छन्। कँडेलको उम्मेदवारीमा राजु प्रसाद श्रेष्ठ प्रस्तावक र भोजराज पोखरेल समर्थक छन्।

आइतबार राती सम्म अध्यक्ष पदमा २ जना सहित पदाधिकारी र सदस्य गरी १०५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कमिटीले जनाएको छ।

उम्मेदवारी दर्ताको समय भोली (सोमबार) बिहान १० बजे सम्मकालागि राखिएको छ। पार्टी सर्वसम्मत नेतृत्व चयनकालागि अध्यक्ष केपी शर्मा ओलीले दिएको कडा निर्देशनका बाबजुद अध्यक्षका दुई उम्मेदवार टसकोमस नभएपछि  निर्वाचनमा जाने निश्चितप्राय भएको हो। 

सोमबार बिहान मनोनयनको काम सकिएपछि निर्वाचनमा जाने निर्वाचन कमिटीले बताएको छ। अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ।

अध्यक्षका उम्मेदवार कँडेल निवर्तमान प्रदेश कमिटी अध्यक्ष हुन्। रिजाल केन्द्रीय सदस्य छोडेर प्रदेश अध्यक्षको दावेदारी सहित प्रतिनिधि छनौट भएर आएका हुन। उनी पुर्वमन्त्री समेत हुन।  कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकट छन्।

यो अधिवेशनमा कँडेल र रिजालको प्रतिस्पर्धा देखाइए पनि मुख्य प्रतिस्पर्धा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल बिच रहेको कसैबाट लुकेको छैन। मिति तोकिनु भन्दा पहिले देखि नै यो अधिवेशनलाई पौडेल र पोखरेलले आफ्नो शक्ति परीक्षणको रुपमा लिएर सोही अनुरूप नेता कार्यकर्ता परिचालन गरेको अधिवेशनमा सहभागी प्रतिनिधिहरु नै बताउँछन्।

हुन त ती प्रतिनिधिको भनाइलाई पुष्टि गर्ने गरी उपाध्यक्ष पौडेल र महासचिव पोखरेल निकटका नेता तथा प्रतिनिधिहरुले आफ्नो समूहका नेतालाई जसरी पनि नेतृत्वमा ल्याउने प्रतिबद्धता सहितका गोप्य छलफल गर्दै आएको पनि कसैबाट लुकेको छैन। ती गोप्य भेलामा सहमतिको नाममा कुनै हालतमा अध्यक्षको दावेदारी नछोड्न आ–आफ्ना समूहका आँकाक्षीलाई निर्देशन दिइए अनुरूप नै दुवै जना आ–आफ्नो निर्णयमा अडिग रहेको अधिवेशनमा सहभागी प्रदेशका एक जना नेताले नागरिक न्युजलाई बताए। कँडेल निकटका ती नेताले यसअघि नै आफ्नो समूहको बहुमत रहेको निचोड निस्केकाले निर्वाचन स्वीकार गर्ने रणनीति अनुरूप अगाडी बढेको बताए।

उद्घाटन सत्रलाई शनिबार सम्बोधन गर्दै सर्वसम्मत नेतृत्व चयनको निर्देशन दिएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबारको बन्द सत्रमा पनि सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए।

अध्यक्ष ओलीले कँडेल र रिजालसंग पनि आइतबार बिहान भेटेर सहमतिका लागि आग्रह गरेका थिए। तर दुवै जनाले निर्वाचनको परिणाम स्वीकार गर्न तयार रहेको जवाफ दिएको एक केन्द्रीय नेताले बताए।

जे होस एमाले लुम्बिनी प्रदेश अधिवेशनमा सहमति या निर्वाचनबाट कँडेल या रिजाल्को आउँछ भन्दा पनि पार्टी उपाध्यक्ष पौडेल या महासचिव पोखरेलमा कसले बाजी मार्छन्  भन्ने विषय नै अहिले मुख्य प्रतीक्षाको विषय बनेको छ।

प्रकाशित: १७ भाद्र २०८० १७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App