१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमालेको लुम्बिनी अधिवेशन लम्बियो, सर्वसम्मतीको सम्भावना न्यून

नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशन एक दिन लम्बिने भएको छ। शनिबार र आइतबार दुई दिनकालागि तोकिएको अधिवेशन सोमबार सम्म लम्बिएको हो।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास स्वरूप भन्दै अधिवेशन लम्ब्याइएको हो। अध्यक्षका आकाङ्क्षी बीच सहमति जुट्न नसकेपछि आज (आइतबार) साँझ देखि बल्ल निर्वाचन प्रक्रिया सुरु गरिएको थियो। निर्वाचन समितिले अहिले राती ९ बजे सम्मकालागि ‘नोमिनेसन’ को समय तोकेको छ।

अहिले अर्थात् आइतबार साँझ सम्मको अवस्थाले निर्वाचन हुने संकेत गरेको छ। अध्यक्षका आकाङ्क्षीहरू निर्वाचनको तयारीसँगै प्यानल बनाउने कसरतमा जुटिरहेका छन्। निर्वाचन कमिटीले जिल्लागत संख्याको कोटा निर्धारण गरिदिएपछि त्यसकै सीमा भित्र रहेर केही जिल्लाहरुमा प्रदेश कमिटीमा जानेहरुको टुंगो लागेको बताइएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबारको उद्घाटन समारोह र आइतबारको बन्द सत्रमा सहमति मै नेतृत्व छान्न कडा निर्देशन दिए पनि अध्यक्षका दावेदारहरु टसकोमस नभएपछि ढिलो गरी निर्वाचन प्रक्रिया सुरु गरिएको हो। सहमतिको सम्भावना करिब करिब टरेको नेताहरुले बताएका छन्। मतदान भोली हुने भनिएको छ। पार्टीका लुम्बिनी प्रदेश प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले निर्वाचन प्रक्रिया सुरु भएपनि सहमतिको प्रयास भने जारी नै रहेको बताए।

अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल दाबेदार छन्। कँडेल साविकको प्रदेश कमिटी अध्यक्ष हुन। रिजाल केन्द्रीय सदस्य छोडेर प्रदेश अध्यक्षको दावेदारी सहित प्रतिनिधि छनौट भएर आएका हुन। उनी पूर्व मन्त्री पनि हुन। कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकट छन्। यो अधिवेशनमा कँडेल र रिजालको प्रतिस्पर्धा देखाइए पनि मुख्य प्रतिस्पर्धा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल बिच रहेको कसैबाट लुकेको छैन।

हुन त शनिबारको अधिवेशन उद्घाटन समारोहबाटै उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले पार्टीमा गुटबन्दी गर्ने छुट कसैलाई नभएको र आफुहरुबीच पार्टीलाई बलियो बनाउने सवालमा बलियो एकता रहेको भाषण गरेका थिए। तर यसअघि बुटवल आसपासमै दिनहुँ जसो दुई नेता नजिकका नेता तथा प्रतिनिधि बिच आफ्नो समूहका नेतालाई जसरी पनि नेतृत्वमा ल्याउने प्रतिबद्धता सहितका गोप्य छलफल भएको थियो।

शनिबारनै पनि राती सम्म केन्द्रीय नेताहरुले सहमतिको प्रयास गरे। तर कँडेल र रिजाल टसकोमस नभएपछि अध्यक्ष ओलीले नै आज (आइतबार) बिहान दुवै आकाङ्क्षीसँग छलफल गरेका थिए। तर दुवै जनाले निर्वाचनको परिणाम स्वीकार गर्ने प्रतिक्रिया अध्यक्ष ओलीलाई नै दिएकाले सहमतिको सम्भावना क्षीण भएको नेताहरु बताउँछन्।

प्रथम अधिवेशनको बन्द सत्रलाई आज बिहान सम्बोधन गर्दे पार्टी अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए। बन्द सत्रलाई सम्बोधन गरेर ओली काठमाडौं फर्किए। हुन त अध्यक्ष ओलीले हिजोको उद्घाटन समारोहमै सहमति गर्न निर्देशन दिँदै आइतबार नयाँ नेतृत्व घोषणा गरेर काठमाडौं फर्कने बताएका थिए। 

तर आज बिहान सम्म सहमति नजुटेपछि दुवै आकाङ्क्षीसँग प्रत्यक्ष छलफल गर्दा निर्वाचनको परिणाम स्विकार्ने प्रतिक्रिया पाएपछि अध्यक्ष अ‍ोली बन्द सत्रमा पनि पुन सहमतिको निर्देशन दिएर काठमाडौं फिर्किएको नेताहरु बताउँछन्। यदि अध्यक्ष ओलीले उद्घाटन समारोहमा भाषण गरे जस्तै लुम्बिनीबाट सहमतिको सन्देश दिने पार्टीको बटम लाइन नै हो भने एकको उचित व्यवस्थापन सहित सर्वसम्मत नेतृत्व घोषणा हुन सक्ने सम्भावनालाई पनि अहिल्यै नकार्न सकिँदैन।

जे होस एमाले लुम्बिनी प्रदेश अधिवेशनमा सहमति या निर्वाचनबाट कँडेल या रिजाल को आउँछन् भन्दा पनि पार्टी उपाध्यक्ष पौडेल या महासचिव पोखरेलमा कसले बाजी मार्छन् भन्ने विषय नै अहिले मुख्य प्रतीक्षाको विषय बनेको छ।

प्रकाशित: १७ भाद्र २०८० १४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App