४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अन्तिम संविधानले दिएको अधिकार पनि यो संविधानले सम्बोधन गरेन: अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणका क्रममा गरिएको गल्तीका कारण अहिले मुलुक अप्ठेरोमा परेको बताएका छन्।

सोमबार नेपाली कांग्रेसका नेता प्रदीप गिरीको प्रथम स्मृति दिवसका अवसरमा ‘स्कुल अफ डेमोक्रेसी’ले काठमाडौँमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादका आयामहरू’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले मुलुक अप्ठेरो स्थितिमा परेको बताएका छन्।  उनले संविधान निर्माणका क्रममा गल्ती गरेका कारण अहिले मुलुकमा अप्ठेरोस्थिति आएको तर्क गरे। अन्तरिम संविधानले जनतालाई दिएको अधिकारलाई समेत वर्तमान संविधानले सम्बोधन गर्न नसकेको यादवले बताए।

उनले संविधानले भविष्यलाई नदेखेको पनि उल्लेख गरे। अध्यक्ष यादवले सोही कारण आफू र स्वर्गीय गिरी लगायतले संविधानमा हस्ताक्षर नगरेको बताए। उनले भने, ‘हामी दुई जनाले यो संविधानमा हस्ताक्षर गरेनौँ। किन हो त भन्दा खेरी यो संविधानले कमसेकम अन्तरिम संविधानमा जनताले प्राप्त गरेको अधिकार समेतलाई पनि सम्बोधन गर्न सकेन। यसले समानुपातिक समावेशिता, सही मानेको संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रका बलिया आधारहरू, शासकीय स्वरूप, निर्वाचन प्रणाली जस्ता महत्त्वपूर्ण पक्षमा जुन संविधानमा आएको छ त्यसमा उहाँको विमति थियो। र उहाँको बिचार, हाम्रो सोच, चिन्तन एकै ठाउँमा थियो । त्यसैकारणले आज सबैले महसुस गरेका छन् कि संविधान निर्माणमा धेरै गल्तीहरू भएका छन्। जुन गल्ती, कमीकमजोरीले गर्दा अहिले पनि मुलुक अप्ठेरोमा परेको छ। त्यसकारणले यो संविधानले भविष्यलाई देखेन। र यसले मुलुकलाई गति दिन सक्दैन भनेर नै हामी दुई जनाले हस्ताक्षर नगरेको। आज मुलुक दिशाहीनताको अवस्थामा, अर्थतन्त्र खस्किँदै गएको अवस्थामा, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग धराशायी हुँदै गएको अवस्थामा मुलुकलाई ट्र्याकमा ल्याउनका लागि अझ चिन्तनको आवश्यकता छ।’

अध्यक्ष यादवले मुलुक दिशाहीनताको अवस्थामा गएको पनि बताए। उनले अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, कृषि र उद्योग धराशायी हुँदै गएको भन्दै मुलुकलाई ट्र्याकमा ल्याउन चिन्तनको आवश्यकता रहेको बताए।

प्रकाशित: ४ भाद्र २०८० ११:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App