१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

कर्णाली करिडोर सरकारको उच्च प्राथमिकतामा छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली करिडोरलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।

उनले केही समयपछि हुने चीन भ्रमणमा कर्णाली करिडोर निर्माण र सञ्चालनको विषयमा आवाज उठाउने बताए।

कर्णाली प्रदेश स्थापना दिवसको अवसर पारेर सोमबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा दाहालले चुनावका बेला गरिएको बाचा अनुसार कर्णालीलाई उच्च प्राथमिकतामा राखेर बजेट छुट्याइएको बताउँदै आगामी दिनमा पनि कर्णालीलाई प्राथमिकता दिने बताए।

चीन सरकारले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि चीनसँगको सीमा नाका हिल्सासम्मको सडकको डिपीआर गरेको थियो। चीन सरकारले आफूलाई निर्माण गर्न दिए तीन वर्षभित्र सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताएको थियो। तर, संघीय सरकारले निर्माण अनुमति नदिँदा ४१० किलोमिटरको यो सडक निर्माण र स्तरोन्नति हुन सकेको छैन। 

दक्षिणको छिमेकी भारतसँग सीमा नजोडिएको कर्णाली प्रदेशका लागि उत्तरको छिमेकी चीन जोडिनका लागि कर्णाली करिडोर सबैभन्दा महत्त्वपूर्ण मार्ग हो।

‘माननीयज्यूहरुले राख्नुभएको कुरामा ध्यान केन्द्रित भएको छ,’ उनले भने, ‘ कर्णाली कोरिडोरको विषय यस पटक हुने चीन भ्रमणले सार्थकता पाउने विश्वास दिलाउँछु।’

कर्णालीका पूर्व मुख्यमन्त्री एवम् नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीसँगै भेरी करिडोर निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए।

प्रकाशित: ४ भाद्र २०८० ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App