१) मुक्तक
एउटा छोरो मेरी आमा भन्दै खुट्टो तान्छ
अर्कोचाहिँ चुल्ठो तान्दै आफूतिर लान्छ
साहिँलो कान्छो आमा भन्दै दायाँबायाँ तान्छन्
प्रतिस्पर्धी मायाले नै आमाको ज्यान जान्छ।
२) मुक्तक
बादल भेट्न उचालिन्छन् पहाडका टुप्पाहरू
पहाड भेट्न ओरालिन्छन् बादलुका झुप्पाहरू
एकोहोरो प्रेम होइन दोहोरो नै होला सायद
त्यसपछि पो सरस बन्लान् आलिङ्गन र चुप्पाहरू।
३) मुक्तक
मेरो मातृभूमि भन्दै सबै अघि सर्ने
राम्रो पार्ने निहुँ गरी लुछाचुँडी गर्ने
आफू मात्र असल ठान्ने नियति भो सबको
थाहै हुन्न कसैलाई मैले केके गर्ने।
४) मुक्तक
जागिर भन्दै धाएको हो शिक्षक भएपछि,
पेटभरि खाएको हो शिक्षक भएपछि,
राम्रै गरेँ भन्ने लाग्थ्यो खै के गरेँ कुन्नि
झोले नाम पाएको हो शिक्षक भएपछि।
५) मुक्तक
पछि हटे नियतिले हाम्रा आँसु पुछ्ने
अघि बढे बरु हाम्रा खुनपसिना चुस्ने
नियमकानुन पोका परे मुर्ख अघि सरे,
नियति भो निर्धालाई बलियाले लुछ्ने।
प्रकाशित: ३ माघ २०८२ १२:२१ शनिबार





