विद्यार्थी राजनीतिमा मात्र होइन पार्टी र मुलुकको राजनीतिमा पनि विद्रोही नेताको छबि बनाएका गगनकुमार थापा मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको नेतृत्वमा पुगेका छन्। सिद्धार्थ वनस्थली स्कुलमा अध्ययन गर्नेक्रममा नै बाल कांग्रेस हुँदै पार्टीको मूल प्रवाहमा थापा प्रवेश गरेका हुन्।
महामन्त्रीका रुपमा २०७८ मंसिरको अन्तिम दिन निर्वाचित भएका थापा शेरबहादुर देउवाको नेतृत्वलाई विशेष महाधिवेशनबाट विस्थापित गर्दै पार्टी नेतृत्वमा स्थापित भएका छन्। महामन्त्रीका रुपमा पनि आफ्नो अडान र विद्रोही स्वभावलालाई अविछिन्न राखेका उनले भदौ २३ र २४ गतेपछि फेरिएको मुलुकको राजनीतिक परिवर्तनसँगै कांग्रेसको पुरानो नतृत्वमा हस्तक्षेप गरेका हुन्। पार्टीको नियमित महाधिवेशन हुने सम्भावना नदेखिएपछि विशेष महाधिवेशनमार्फत कांग्रेसमा विद्रोहको शंखनाथ गरेका उनी त्यही मञ्चबाट नेतृत्वमा पुगेका छन्।
पुसको अन्तिम दिन भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई शुक्रबार निर्वाचन आयोगले मान्यता दिएको छ। उनी आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेसको सभापति बनेका छन्। बिपी कोइरालापछि थापा कान्छा सभापति बनेका छन्। त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सचिवमा विद्रोह गरेर थापाले राजनीतिक यात्रा सुरु गरेका थिए। निर्वाचन परिणाम पक्षमा पारेपछि थापालाई संगठनले पछि आधिकारिकता दिएको थियो। २०५९ सालमा नेपाल विद्यार्थी संघको महामन्त्री बनेका थापा पार्टी राजतन्त्रको पक्षमा रहेकै बेला गणतन्त्रको पक्षमा उभिएका थिए। वीरगन्जमा भएको नेपाल विद्यार्थी संघको महाधिवेशनबाट गुरुराज घिमिरे अध्यक्ष र थापा महामन्त्री चयन भएका थिए।
संघको महामन्त्री चुनिएपछि थापाले उपत्यकाबाहिरको पहिलो कार्यक्रममा धादिङ जानेक्रममा गणतन्त्रको पक्षमा नेपाली विद्यार्थी संघले बेल्नुपर्ने बताएका थिए। नेपाल विद्यार्थी संघ नीलकण्ठ क्याम्पस एकाइले निर्माणको गरेको गेट उद्घाटनका क्रममा थापाले गणतन्त्रको पक्षमा सार्वजनिक रुपमा मुख खोलेका थिए।
गणतन्त्रको पक्षमा बोल्दा पार्टीभित्रैबाट राजावादी अरोप खेपेका थापाले तत्कालीन शाही शासनको बेला राजद्रोहको मुद्दा खेपेका थिए। त्यसक्रममा नेपाल विद्यार्थी संघमा विवाद बढेपछि केन्द्रीय समिति नै भंग भएको थियो। त्यसपछि पोखरामा भएको संघको महाधिवेशनमा पार्टी संस्थापनको चाहनाविपरीत संघको नेतृत्व लिन थापा सक्रिय भएका थिए। उनको सक्रियतासँगै संघको पोखरा सम्मेलन बिथोलिन पुगेको थियो। २०६४ जेठमा चितवनमा भएको संघको महाधिवेशनबाट थापा नेतृत्वमा पुग्न चाहेका थिए। तर प्रदीप पौडेलले नेतृत्वमा दाबी गरेपछि थापा पछि हटेका थिए। थापा २०६४ सालमा संविधानसभा सदस्य भएका थिए।
२०७० सालपछि काठमाडौं–४ बाट सांसदमा निर्वाचित हुँदै आएका थापा २०७४ मा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा पुगेका थिए। २०७९ को आमनिर्वाचनबाट कांग्रेस प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल बन्यो। नेता शेखर कोइरालाको समर्थनमा संसदीय दलको नेता बने पनि नतिजा थापाको पक्षमा आएन।
निर्वाचनपछि थापासहितका नेताले संसद्को ठुलो दलको हैसियतले सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने अडान लिए। कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दाबी गर्ने र त्यसका लागि पहल गर्ने निर्णय पनि गर्यो। तर गठबन्धनमा रहेको माओवादी केन्द्र पूर्वसहमति पालना नभएको भन्दै विपक्षी एमालेसँग मिल्न पुग्यो। एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भए। त्यसको दुई साता बित्दानबित्दै सभापति देउवासहित नेताहरू दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिने पक्षमा उभिए। तर महामन्त्री थापा त्यसको विपक्षमा उभिए। दाहाल नेतृत्वको सरकारमा कांग्रेस चैतमा सहभागी भयो। प्रदेशहरूमा पनि कांग्रेस सत्तामा फक्र्यो।
सरकारले पनि सोचेअनुसार काम गर्न सकेन। त्यसपछि थापा सरकारविरुद्ध आक्रामक बन्दै आए। पार्टी महासमिति बैठकमा थापाले २०८४ सालको निर्वाचनमा तालमेल नगर्ने प्रस्ताव राखेपछि त्यसलाई देखाउँदै माओवादी केन्द्रले सत्ताको काँध फेर्यो। केही महिना बित्न नपाउँदै फेरि सभापति देउवाले एमालेसँग सात बुँदे सहमति गरे। २०८१ असार अन्तिममा केपी ओली नेतृत्वको सरकारमा कांग्रेस सहभागी भयो। त्यसप्रति सुरुमा असन्तुष्ट थापा पछि केही नरम देखिए। सरकारले काम नगरेपछि फेरि आक्रामक बने। गत भदौ २४ पछि उनी पार्टी सभापति देउवाको विपक्षमा उभिए।
१२औं महाधिवेशनबाट सर्वाधिक मतसहित कांग्रेस केन्द्रीय सदस्य निर्वाचित थापा १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए। महामन्त्रीमा पराजित थापा १४औं महाधिवेशनमा शेखर कोइरालालाई सभापतिमा अघि सार्दै फेरि महामन्त्रीको उम्मेदवार बने। तीन हजार २३ मतसहित उनी महामन्त्रीमा निर्वाचित भएका थिए।
प्रकाशित: ३ माघ २०८२ १२:४९ शनिबार





