१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एकपछि अर्को विवादित निर्णय गर्दै मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती। फाइल तस्बीर।

भोजपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेकपा माओवादी केन्द्रका नेता सुदन किराती २०७९ माघ ३ गते संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भए। मन्त्रीको शपथग्रहणअघि नै सामाजिक सञ्जालमा एउटा भावुक स्टाटस लेखेर उनले सबैको ध्यान खिचेका थिए। सामाजिक सञ्जालमा उनले पिताजीसँग गरेको कुराकानीका केही अंश लेखेका थिए। कुराकानीका क्रममा उनले पितालाई भनेका थिए, ‘मन्त्री पद पाउनु ठुलो कुरा होइन, काम गर्नु ठुलो कुरा हो। म मिहिनेत गर्छु।’

मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बेला उनले एउटा ‘स्टन्ट’ गरे। मन्त्रालयको गेटमै सहयोग पेटिका राखे। त्यहाँबाट उठेको पैसा दुर्गम हिमाली जिल्लाको शिक्षामा सदुपयोग गर्ने जनाए। राज्यको नीतिनिर्माणको थलो संसद् र सरकार दुवै ठाउँमा पुगेका सुदनको भूमिका दुर्गम क्षेत्रमा शिक्षाको पहुँच कसरी पुर्याउने भन्ने नीति निर्माणमा केन्द्रित हुनुपर्ने थियो तर चर्चामा आउन उनले आफ्नो भूमिका र जिम्मेवारी भुलेर चन्दा बाकस राखे।  

मन्त्रालयमा पदभार सम्हालेकै दिन आफूले खादा, माला र पुष्पगुच्छाको प्रयोग नगर्ने घोषणा गरे। खादा, माला र पुष्पगुच्छाको सट्टा त्यसबरारबर रकम चन्दा बाकसमा खसालेर सहयोग गर्न उनले आग्रह गरे। त्यसयता अहिलेसम्म किरातीले गरेका प्रायः निर्णय विवादित बनेका छन्।

विवादित व्यक्ति पशुपति विकास कोषको सदस्य

मन्त्री किरातीले साउन दोस्रो साता पशुपति क्षेत्र विकास कोषको सदस्यमा विवादित व्यक्ति राजुकुमार खत्रीलाई नियुक्त गरेका छन्। यसअघि खत्री २०७३ देखि २०७७ सम्म विकास कोषका सदस्यमै कार्यरत थिए। त्यतिबेला उनको भूमिका विवादित बनेको थियो। कोषका सदस्य अर्जुन बास्तोलाको कार्यकाल सकिएपछि किरातीले बास्तोलाको ठाउँमा खत्रीलाई नियुक्त गरेका हुन्। पर्यटन मन्त्रालय स्रोतका अनुसार मन्त्रीस्तरीय निर्णयबाट उनलाई चार वर्षका लागि सदस्यमा नियुक्ति गरिएको हो। खत्री कोषका वर्तमान सदस्य सचिव मिलन थापानिकट मानिन्छन्। कोषको स्वामित्वमा रहेको नेपाल–भारत धर्मशाला बतास समूहलाई भाडामा दिने विषयमा तथा पशुपतिको जलहरी काण्डमा खत्री मुछिएका छन्।

यसअघि २०७७ सालमा खत्रीको कार्यकाल सकिनै लागेको बेला कोषका तत्कालीन कोषाध्यक्ष थापाले खत्रीलाई जलहरी व्यवस्थापन समितिको सदस्यमा नियुक्त गरेका थिए। कार्यकाल सकिए पनि जलहरी निर्माणमा खत्रीको संलग्नता रहेको छ। बतास समूहलाई पशुपति धर्मशालाभित्र पाँचतारे होटलसरहको भौतिक संरचना निर्माण गर्न अनुमति दिने विषयमा पनि खत्रीको मुख्य भूमिका रहेको कोषका एक कर्मचारी बताउँछन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जलहरी काण्डको छानबिन अहिले अन्तिम चरणमा पुर्याएको छ।

नाट्येश्वरीको १५ रोपनी जग्गा हडप्ने प्रयास

किरातीले अर्को यस्तै विवादित निर्णय गर्ने प्रयास गरे। किरातीकै कार्यकालमा बाल मन्दिरबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा आएको १५ रोपनी जग्गा हडप्ने प्रयास गरियो। यस काममा किराती र प्रतिष्ठानकै पदाधिकारीले कुलपति निशा शर्मा पोखरेललाई दबाब दिएका थिए। तर सो प्रयास सफल हुन सकेको छैन।  

किरातीकै चाहनामा उक्त जग्गामा व्यावसायिक प्रयोजनका लागि नयाँ भवन बनाएर निजी क्षेत्रलाई ठेक्कामा दिने अन्तिम तयारी भएको थियो। नाट्येश्वरीको जग्गा निजी क्षेत्रलाई बजार मूल्यभन्दा निकै कम मूल्यमा लिजमा दिने तयारी भएको समाचार बाहिरिएपछि सो प्रयास सफल हुन नसकेको हो। स्रोतका अनुसार मन्त्री किराती र पर्यटन मन्त्रालयका अधिकारीहरूको प्रस्तावप्रति नेपाल संगीत तथा नाट्य प्रतिष्ठानकी कुलपति पोखरेलले सुरुदेखि नै असन्तुष्टि जनाएकी थिइन्। यसमा उनले अडान नै लिइन्। नाट्येश्वरीको जग्गामा आफ्नै भवन बनाउने घोषणा शर्माले गरेकी छन्। १५ रोपनी जग्गा हडप्न खोज्ने टोलीले कुलपति पोखरेलसमक्ष १० प्रतिशत कमिसनको आकर्षक प्रस्ताव राखेको थियो। गत वैशाख १० गते प्रतिष्ठानको वार्षिकोत्सवका लागि पुगेका मन्त्रीले यतिका जग्गा देखेपछि यसको व्यावसायिक प्रयोग गर्नुपर्ने धारणा राखेका थिए। त्यसलगत्तै नाट्येश्वरीका पदाधिकारीले मन्त्रीले भनेअनुसार लिजमा दिनुपर्ने भन्दै दबाब बढाएका थिए।

लकरमा गोली राख्ने ल्हारक्याल कोषको उपाध्यक्ष

किरातीले शान्ति क्षेत्रको नेतृत्व गर्ने लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित व्यक्ति ल्हारक्याल लामालाई नियुक्त गरेका छन्। लामा यस्ता व्यक्ति हुन्, विगतमा उनको पृष्ठभूमि निकै विवादित छ। नेपाल इन्भेस्टमेन्ट बैंकको केन्द्रीय लकरमा १४ थान गोली राखेको अभियोगमा लामा २०७२ फागुन ३० गते पक्राउ परेका थिए। त्यसको ९ दिनमा ६६ हजार धरौटी राखेर उनी रिहा भए। यसैगरी वैदेशिक रोजगारमा ठगी गरेको आरोपमा पक्राउ परे। त्यतिबेला ३० लाख धरौटी बुझाएर दुई दिनमै रिहा भए। २०७३ मा उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्यो।  

सो मुद्दामा उनी १ करोड रूपैयाँ धरौटी राखेर रिहा भएका थिए। अख्तियारबाट अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन गर्ने क्रममा नेपाल इन्भेस्टमेन्ट बैंकको लकर खोलिएको थियो। त्यतिबेला लकरमा बहुमूल्य धातु नभई १४ राउन्ड गोली फेला परेको थियो। आफ्नो फाइदाका लागि लामा प्रायः सबै दलमा पुगिसकेका छन्। पछिल्लो समय उनी नेकपा माओवादी केन्द्रमा आबद्ध छन्। २०५८ सालमा उनी नेपाली कांग्रेसको तर्फबाट गुम्बा व्यवस्थापन समिति अध्यक्षमा नियुक्त भएका थिए। त्यसपछि उनी एमालेमा प्रवेश गरे। २०६४ सालमा एमालेले उनलाई समानुपातिक सांसद बनायो भने २०६७ चैतमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्व सरकारमा लामा राज्यमन्त्री भए।  

लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्न लागेको चर्चा आएपछि साउन पहिलो साता लुम्बनी प्रदेश मुख्यमन्त्री डिल्ली चौधरीको नेतृत्वको एउटा टोली काठमाडौं आयो।  

लामालाई लुम्बिनी विकास कोषमा नियुक्त गर्न उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालगायत विभिन्न मन्त्रीसँग आग्रह गरेको थियो। तर त्यतिखेर त्यो आग्रह काम लागेन। अन्ततः उनी नियुक्त भए। स्रोत भन्छ, ‘ल्हारक्याललाई लुम्बिनी विकास कोषमा नियुक्त गरिएकोमा वर्तमान सरकारकै अन्य मन्त्रीहरू खुसी छैनन्।

प्रकाशित: २३ श्रावण २०८० ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App