coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानसेनापति चिफ अफ डिफेन्स सम्मेलनमा

संयुक्त राष्ट्र संघमा शान्ति सेना पठाउने देशका प्रमुखहरुको सम्मेलनमा सहभागी हुदै प्रधानसेनापति राजेन्द्र क्षत्री । सौजन्य नेपाली सेना ।

काठमाडौं – शान्ति सेना पठाउने छैठौँ ठूलो देशको हैसियत बनाएको नेपालले संयुक्त राष्ट्र संघ शान्ति सेनामा नेपाली सेनालाई महत्वपूर्ण जिम्मेवारीका लागि पहल थालेको छ । शान्ति सेनामा एकपटक महासचिवको सैन्य सल्लाहकारको जिम्मेवारी पाएको नेपालले त्यसपछि विभिन्न मिसनको फोर्स कमाण्डरको जिम्मेवारी निभाउदै आएको छ । संयुक्त राष्ट्र संघका तत्कालिन महासचिव कोफी अन्नानको सैन्य सल्लाहकारमा रथी चित्रबहादुर गुरुङ नियुक्त भएका थिए । 

संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा शुक्रबार सम्पन्न शान्ति सेना पठाउने देशका चिफ अफ डिफेन्सको सम्मेलनपछि प्रधानसेनापति राजेन्द्र क्षत्रीले संघका अधिकारीसँगको भेटमा नेपालको योगदान, बहादुरी र जिम्मेवारी बहनको क्षमता तथा कुशलता प्रर्दशनका आधारमा उच्च ओहदामा सहभागी हुने अवसर पाउनु पर्ने बताएका थिए । उनले नेपाली सेनाले शान्ति स्थापनाका लागि युद्ध र द्धन्दग्रस्त देशमा उच्च मनोबलका साथ जिम्मेबारी निभाउदै आएको बताएका थिए । 

प्रधानसेनापति क्षत्रीको सहभागिताका विषयमा जानकारी गराउँदै सैन्य प्रवक्ता सहायक रथी झंकरबहादुर कडायतले नेपाल शान्ति सेनाको ऐतिहासिक पक्ष भएको र जोखिमपूर्ण कार्यक्षेत्रमा नेपालले सम्हालेको जिम्मेबारीका बिषयमा सम्मेलनमा प्रशंसा भएको बताए । उनका अनुसार सम्मेलनपछि प्रधानसेनापतिबाट हुने उच्चस्तरीय भेटघाटमा नेपाली सेनाले शान्ति सेनामा गर्दै आएको प्रतिनिधित्वलाई उच्च तहमा पु¥याउने विषयमा छलफल भएको हो । 

‘हाम्रो प्रतिनिधित्व संयुक्त राष्ट्र संघ शान्ति सेनामा उच्च तहमा होस भन्ने हो, यसका लागि हाम्रो योगदान, जिम्मेवारी र निरन्तर निर्वाह गरेको दायित्वका बिषयमा छलफल भएको हो,’ सहायक रथी कडायतले भने । 

प्रधानसेनापति क्षत्रीले संघको शान्ति कार्य विभागका जेनरल जिन पिरे लाक्रोइक्स,अतुल खरे तथा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधी दुर्गा प्रसाद भट्टराईसँगको छुट्टा–छुट्टै भेटघाटमा शान्ति सेनामा नेपालको प्रतिनिधित्वका बिषयमा छलफल गरेका छन । 

युद्धग्रस्त देश र शान्ति सेना पठाउने देशका प्रमुख एउटै मञ्चमा 
युद्धग्रस्त देश र शान्ति सेना पठाउने देशका सैन्य प्रमुख र सैन्य प्रतिनिधीले एउटै मञ्चमा बसेर शान्ति प्रयासका चुनौतीका विषयमा छलफल गरेका छन । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा शुक्रबार भएको चिफ अफ डिफेन्स सम्मेलनमा दक्षिण सुडान, सेन्ट्रल रिपब्लिक अफ्रिका र कंगोका सैन्य प्रतिनिधी सहभागी भएका हुन । सम्मेलनमा अफ्रिकन युनियन, युरोपियन युनियन, उत्तरी एटलान्टिक सन्धी संगठन नाटो सहित एकसय देशका सैन्य प्रमुख सहभागी छन । नेपालबाट प्रधानसेनापति क्षत्रीले सम्मेलनको प्रतिनिधित्व गरिरहेका छन ।
  
शान्ति सेना पठाउने देश र नाटो तथा अफ्रिकन र युरोपियन युनियनका सैन्य प्रतिनिधी सम्मेलनमा सहभागी भै रहेका छन । संघले आयोजना गरेको दोस्रो सम्मेलनमा यसपटक एकसय पाँच देशको प्रतिनिधित्व भै रहेको हो । 

सैन्य प्रवक्ता कडायतका अनुसार शान्ति सेना पठाउने देश (टिसीसी)का प्रमुखहरुको बैठकले शान्ति सेनाले कार्यक्षेत्रबाट पठाएको फिड ब्याक, आवश्यक सामाग्री र प्रविधि तथा शान्ति प्रक्रियाका चुनौतीका विषयमा टुङगो लगाउछ । संयुक्त राष्ट्र संघको यस सम्मेलनमा यसपटक रोवोट तथा अन्य उच्च प्रविधिको प्रयोगका बिषयमा सम्मेलनमा छलफल भएको हो। 

नेपालको एकलाख बढी योगदान 
सन १९५८ मा द्वन्द्वग्रस्त लेबनानमा ६ जना अनुगमनकर्ता पठाएर सुरु भएको नेपाली सेनाबाट  शान्ति सेनामा एकलाख १२ हजार भन्दा बढी सहभागी भै सकेका छन । नेपालको आधा शताब्दीभन्दा लामो शान्ति सेनाको योगदानमा ५९ जनाले विरगति पाइसकेका छन । 

शान्ति सेनामा सहभागी नेपाली सेनाका तीन सेनानी सहित ५९ जनाले ज्यान गुमाएका हुन । नेपाली सेनाले लेवनान मिसनमा सबैभन्दा बढी २८ जना आफ्ना अधिकारी र जवान गुमाएको छ । यस्तै हैटीमा, सोमालियमा, कंगोमा, पुरानो युगास्लाभियामा, सिरिया लियोन, वुरुण्डी, इराक र इस्ट टिमोर मिसनमा विरगति पाएको हो । 

हाल शान्ति मिसनमा चारहजार तीनसय ३८ जना सहभागी भै रहेका छन । यस्तै शान्ति सेनामा सैनिक विशेषज्ञका हैसियतमा ५६ जना कार्यरत रहेका छन । नेपाली सेना ४२ देशमा विभिन्न नामले संयुक्त राष्ट्र संघको झण्डा मुनि शान्ति प्रक्रियामा सहभागिता जनाइसकेको छ । नेपालले सन १९७४ मा इजिप्टमा सेना पठाएसँगै शान्ति सेनामा उसको विधिवत सुरुवात मानिँदै आएको छ।

 

प्रकाशित: २५ असार २०७४ ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App