पक्राउ परेकी डा. चेतना तारिखमा छुटेकी छन् । एक सातादेखि प्रहरी हिरासतमा राखिएकी योग तथा प्राकृतिक चिकित्सक डा. चेतना सोमबार थुनामुक्त भएकी हुन् ।
उनलाई साधरण तारिखमा छोडेको उनका पति डा. सुनिल पौडेलले बताए । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यही असारको ९ गते गैरकानुनी चिकित्सकीय अभ्यास गरेको आरोपमा पक्राउ गरी कानुनी प्रक्रियाको लागि हिरासतमा राखेको थियो।
सोमबारको थुनछेक बहसकै क्रममा जिल्ला अदालत काठमाडौंले गम्भिर अपराध नभएको भन्दै साधरण तारिखमा छोडेको उनको पति तथा स्पार्क हेल्थ एण्ड रिसोर्टका डा. सुनिल पौडेलले बताए ।
डा. चेतनाको मुद्दामा बहस गरिरहेका अधिवक्ता आमितेष पण्डितको अनुसार डा. चेतनालाई अदालतले प्रक्रियामै राखी साधरण तारिखमा छोडेको हो । अदालतले साधरण तारिखमा छोड्नु भनेको मुद्दा डा. चेतनाकै पक्षमा छ भन्ने मान्यता हुन्छ । तर डा. चेतना माथि इलाज सम्वन्धी कसुरको मुद्दा लगाएकोले अदालती प्रक्रिया पुरा गर्न भने केही समय लाग्छ ।
‘आजको फैसलाले मुद्दा डाक्टरकै पक्षमा फैसला छ भन्ने बुझिन्छ’, अधिवक्ता पण्डितले भने । डा. चेतना माथि लगाइएको मुद्दा अनुसार प्रमाण नपुगेपछि साधरण तारिखमा छोडेको उनले बताए । गैरकानुनी उपचार गरेको अभियोग रहेकोमा उनले गरेको उपचार र अस्पताल सम्वन्धित निकायमा दर्ता गरेर गरेको पाइएकोले मुद्दा पक्षतिर गएको अधिवक्ता पण्डितको भनाइ छ । सिआइबीले नेपाल मेडिकल काउन्सिलको प्रतिवेदनको आधारमा उनलाई पक्राउ गरेको थियो ।
प्रकाशित: १५ असार २०८३ १७:२५ सोमबार





