जुम्लालाई कर्णाली प्रदेशको चौथो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका आठवटै स्थानीय तहले जेठभित्र पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि सोमबार औपचारिक रूपमा जिल्लास्तरमा घोषणा गरिएको हो।
एक नगरपालिका र सात गाउँपालिका रहेको जुम्लालाई ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता : पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ।
जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माका अनुसार जिल्लामा कुल ५ हजार ४ सय ३५ जना बालबालिकालाई खोप प्रदान गरिएको छ। तीमध्ये जन्मेदेखि पाँच वर्षमुनिका २ हजार ६८ जना तथा १६ महिनादेखि २३ महिनासम्मका ३ हजार ३ सय ६७ जना बालबालिकाले आवश्यक खोप प्राप्त गरेका छन्।
स्थानीय तहगत विवरणअनुसार पातारासी गाउँपालिकामा पाँच वर्षमुनिका ४ सय ६७ तथा १६ देखि २३ महिनासम्मका २ सय ४४ जना बालबालिकाले खोप पाएका छन्। कनासुन्दरी गाउँपालिकामा पाँच वर्षमुनिका २ सय १८ तथा १६ देखि २३ महिनासम्मका ४ सय ७२ जना बालबालिकालाई खोप दिइएको छ।
यस्तै, सिंजा गाउँपालिकामा पाँच वर्षमुनिका २ सय ३० तथा १६ देखि २३ महिनासम्मका ५ सय ७८ जना, चन्दननाथ नगरपालिकामा पाँच वर्षमुनिका २ सय ७९ तथा १६ देखि २३ महिनासम्मका ८ सय ७५ जना बालबालिकाले खोप प्राप्त गरेका छन्।
स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी प्रेम सुमाईका अनुसार गुठीचौर गाउँपालिकामा पाँच वर्षमुनिका १ सय ६५ तथा १६ देखि २३ महिनासम्मका १ सय २० जना बालबालिकालाई खोप लगाइएको छ।
त्यस्तै तातोपानी गाउँपालिकामा पाँच वर्षमुनिका २ सय ६३ तथा १६ देखि २३ महिनासम्मका ६ सय ६१ जना, तिला गाउँपालिकामा क्रमशः २ सय ४३ र २ सय ५१ जना तथा हिमा गाउँपालिकामा १ सय ९४ र १ सय ६६ जना बालबालिकाले खोप सेवा प्राप्त गरेका छन्।
कार्यक्रममा सबैभन्दा पहिले पूर्णखोप सुनिश्चितता घोषणा गर्ने स्थानीय तहका रूपमा सम्मानित गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ललितबहादुर रोकायालाई अविर तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै सबै स्थानीय तहका स्वास्थ्य शाखालाई प्रमाणपत्र वितरण गरिएको थियो।
जिल्लालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्नुअघि गर्भवती महिलाका लागि एक, किशोरीका लागि एक तथा नियमित कार्यक्रमअन्तर्गतका नौ गरी ११ प्रकारका खोप प्राप्त भएको सुनिश्चित गरिएको जनाइएको छ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय तहबीचको सहकार्यका कारण जुम्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्न सम्भव भएको बताए।
स्वास्थ्य सेवा कार्यालयका अनुसार जन्मेदेखि १५ महिनाभित्र सबै नियमित खोप पूरा गर्नुपर्ने भए पनि विभिन्न कारणले छुटेका १६ देखि ५९ महिनासम्मका बालबालिकालाई स्थानीय तहमार्फत खोजी गरेर ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको थियो।
कार्यक्रममा सहभागी कर्णाली प्रदेश खोप समन्वय समिति सदस्य तथा जनस्वास्थ्य अधिकृत ओमप्रसाद पौडेलले दैलेख, सुर्खेत र कालीकोटपछि जुम्ला पूर्णखोप सुनिश्चितता जिल्ला बन्न सफल भएकोमा बधाइ दिँदै अब कुनै पनि बालबालिका खोप सेवाबाट नछुट्ने वातावरण बनाउन सबैको भूमिका महत्वपूर्ण हुने बताए।
उनले माघ, फागुन र चैत महिनामा घरधुरी सर्वेक्षण गरी वैशाखलाई खोप महिनाका रूपमा सञ्चालन गरिएको र छुटेका बालबालिकालाई जेठमा खोप दिएपछि वडा, पालिका, जिल्ला हुँदै प्रदेशस्तरसम्म घोषणा प्रक्रिया अघि बढाइएको जानकारी दिए।
उनका अनुसार असार मसान्तभित्र कर्णाली प्रदेशलाई पनि पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा गर्ने तयारी गरिएको छ।
जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यले औपचारिक रूपमा जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका थिए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले पूर्णखोप सुनिश्चितता भनेको तोकिएको अवधिभित्र सबै बालबालिकाले आवश्यक खोप प्राप्त गरेको अवस्था भएको उल्लेख गर्दै महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको भूमिका प्रशंसनीय रहेको बताए।
उनले गाउँ–टोलदेखि जोखिमपूर्ण क्षेत्रमा पुगेर सेवा दिने स्वास्थ्यकर्मीहरूले नागरिकको जीवन रक्षा गरिरहेको उल्लेख गर्दै स्वास्थ्य सेवामा संलग्न सबैप्रति सम्मान व्यक्त गरे।
प्रकाशित: १५ असार २०८३ २१:०८ सोमबार





