२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रपति, प्रधानमन्त्री र संस्कृति मन्त्रीको संसदीय समिति बनाएर छानबिन गर्नुस्: योगेश भट्टराई

नेकपा एमालेका सांसद एवं सचिव योगेशकुमार भट्टराईले देश आवधिक निर्वाचनको दिशामा गइसकेको बताएका छन।

आज संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो कुरा बताएका हुन। उनले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमा ल्याउनुले सरकारको मनसाय स्पष्ट हुने बताए। 

सांसद भट्टराइले निर्वाचनमाथि अंकुश लगाउने मनसायबाट सरकारले जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्न खोजेको धारणा राखे। उनले सरकारले दुग्ध विकास बोर्ड, कपास विकास समिति र तथ्याङ्क विभागको कार्यालय खारेज गर्नु षड्यन्त्रपूर्ण रहेको दाबी समेत गरे। 

सचिव भट्टराईले पशुपतिनाथ मन्दिरको जलहरीमा नाम नलेखिएको दाबी गर्दै ताम्र पत्रमा नाम लेख्नु सामान्य विषय भएको बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका भवन, पुलहरू नाम लेखिएको छ भन्दैमा भत्काउन जाने हो ? भन्दै प्रश्न गरे। उनले जलहरी प्रकरणमा संसदीय समितिले छानबिन गर्नुपर्ने माग उठेको भन्दै राष्ट्रपतिको संयोजकत्वमा प्रधानमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सहितको तीन सदस्य संसदीय छानबिन समिति बनाएर छानबिन गर्न आग्रह गरे। 

उनले राष्ट्रपति पनि संसदको अङ्ग भएकाले उक्त समितिले पनि निष्पक्ष छानबिन गर्न नसके माओवादीका लडाकु ल्याएर छानबिन गराउन आग्रह गरे। सांसद भट्टराईले ललिता निवास जग्गा प्रकरणको छानबिन स्वतन्त्र र निष्पक्ष रुपमा हुनुपर्ने बताए। उनले अयोग्य लडाकु घोटाला प्रकरणमा पनि महालेखा परीक्षकको कार्यालयले घोटाला भएको तथ्याङ्क निकालेको भन्दै त्यसको पनि निष्पक्ष छानबिन गर्न माग गरे। 

प्रकाशित: १२ असार २०८० १३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App