२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई वर्ष भित्र सबै नेपालीको पहुँचमा विद्युतः ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्ष भित्र सबै नेपालीको पहुँचमा विद्युत पुर्‍याउने घोषणा गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्।

मन्त्री बस्नेतले हालसम्म ९६ प्रतिशत नेपालीहरुको पहुँचमा विद्युत पुगेको उल्लेख गर्दै आगामी २ वर्ष भित्रै सबैले भरपर्दो र गुणस्तरीय विद्युत सेवा पाउनेगरी योजना बनाइएको र त्यसलाई कार्यान्वयनमा लगिने बताए।

उनले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आगामी दुई वर्ष भित्र विद्युतीकरण गरिसक्ने लक्ष्यका साथ सरकारले काम गरिरहेका दावी समेत गरे।

मन्त्री बस्नेतले विद्युत खपतका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउने र खाना पकाउने एलपी ग्यासको परनिर्भरता घटाउँदै लैजाने सरकारले नीति रहेको स्पष्ट पारे।

उनले भने, ‘देशमा हालसम्म विद्युत उत्पादनको जडित क्षमता यस आवमा ४६२ मेघावाटले थप भई २७३२ मेघावाट पुगेको छ। र, ९६ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको आजको अवस्था हो। 

आगामी २ वर्ष भित्रमा सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्ने गरी तयार गरिएको योजनालाई कार्यान्वयन गरिनेछ। अब त्यस मध्येमा पनि ५ वटा प्रदेशहरुमा यसै आर्थिक वर्षमा पूर्ण विद्युतीकरणको योजनाका साथ अहिले त्यो कार्यक्रम बनेको छ। र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आगामी २ वर्ष भित्रमा पूर्ण विद्युतीकरणको लक्ष्यसहित कामहरु अगाडि बढाइएको छ।

विद्युतीय सवारी साधनको प्रयोग बढाउने र खाना पकाउने ग्याँसलाई स्वदेशमा उत्पादित विद्युत खपत गरी घटाउँदै लैजानेतर्फ नेपाल सरकारको कार्यक्रम लक्षित छन्। र, यसबाट क्रमशः एलपी ग्याँसको आयात घटदै जानेछ भन्ने हाम्रो विश्वास छ।’

मन्त्री बस्नेतले मुलुकलाई आत्मनिर्भर हुने गरी विद्युतको उत्पादन र बजारीकरणको कामलाई सरकारले प्राथमिकता दिएको पनि बताए।

प्रकाशित: ११ असार २०८० १३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App