नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले सरकारले बजेटमार्फत आलु प्याजमा लगाएको कर सुधार गर्न आवश्यक रहेको बताएका छन्।
सोमबार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दैै नेता कोईरालाले यस्तो बताएका हुन्।
उनले सरकारले जनतालाई विदेशबाट आयात भएका आलु, प्याज र स्याउमा मूल्य बढ्ने र नेपाली उत्पादन सस्तो हुने भनेर झुक्याएको बताए। उनले जुनसुकै वस्तुमा १३ प्रतिशत कर लगाएपछि वस्तुको मूल्य सस्तो नभए महँगो हुने दाबी गरे।
अर्थमन्त्रीले नेपाली उत्पादनको मूल्य सस्तो बनाउने नाममा आलु, प्याजमा कर लगाउनु नेपाली उपभोक्ताको लागि राम्रो नभएको उनको भनाइ थियो।
उनले नेपाली जनताको भान्सा महँगो भएकाले सरकारले आलु, प्याजमा लगाएको कर तत्काल संशोधन गरेर जान माग गरे। सत्तापक्षका सांसदहरुले नै आफ्ना मागहरु सम्बोधन नभए बजेट पास हुन नदिने भनेकाले यस्तो अवस्था काँग्रेस कसरी अगाडि बढ्ने विषयमा छलफल गर्न आवश्यक रहेको उनको भनाइ थियो।
नेता कोईरालाले सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय प्रशासन कार्यालयको शाखा बनाउँने विषयकोे बिरोध जनाएका छन्। उनले सरकारले जिल्ला निर्वाचन कार्यालयहरु खारेज गरेर प्रशासन कार्यालयको शाखा बनाउदाँ कसरी निर्वाचन स्वच्छता र निश्पक्ष हुन्छ सरकारले बुझाउन समेत आग्रह गरे।
उनले अहिले देशले बाटो बिराएको जस्तो आफूलाई आभाष भएको बताए। उनले मुलुकमा जवाफदेहिता, उत्तरदायित्व, सुशासन र दण्डहिन्ताको अन्त्य हुन नसके लोकतन्त्र सुदृढ हुन नसक्ने बताए। उनले नेपाली काँग्रेस लोकतन्त्र सुदृढ बनाउन खरो रुपमा मैदानमा उत्रन आवश्यक रहेको जनाए। उनले मुलुकमा दण्डहिनता, सुशासन, भ्रष्टाचार मौलाएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
प्रकाशित: ४ असार २०८० १४:१५ सोमबार