कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम प्रति असन्तुष्टि व्यक्त गर्दै आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गरेका छन्।
१६ औं गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारले विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गरेका हुन्।
मुख्यमन्त्री कार्कीले विश्वका ठूला समस्याहरू र नेपालका ठूला आन्दोलनहरू पनि संवादमार्फत समाधान गरिएकाले संवाद र सहमतिबाट नामाकरणबारेको असन्तुष्टिको पनि समाधान खोज्न सकिने बताए।
उनले भने ‘संवाद र छलफलका माध्ययमबाट समस्याको समाधान खोज्न सकिने भएकाले संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गर्दछु।’
मुख्यमन्त्री कार्कीले लोकतन्त्रमा असन्तुष्टि राख्न पाउने, शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार सबैलाई भएकाले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण आन्दोलन गर्न पनि आग्रह गरे। नामाकरणको विषयमा आन्दोलनरत पक्षसँग वार्ताको विपक्षमा धारणा व्यक्त गर्दै आएका मुख्यमन्त्री कार्कीले सार्वजनिक रुपमा पहिलो पटक संवादका लागि आग्रह गरेका हुन्।
जेठ १४ गते देखि सुरु भएको कोशी प्रदेशको बजेट अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षीदल, तथा सत्ता साझेदारका संसदीय दलका नेताहरूले सरकारलाई आन्दोलनरतपक्षसँग वार्ता गर्न आग्रह गरेका थिए। प्रदेशसभाको शून्य समयमा बोल्ने सांसदहरूले पनि तत्काल वार्ताका लागि समिति गठन गर्न सरकारसँग माग गरेका थिए।
यसैबिच कोशीप्रदेश सरकारले प्रदेशका तीन जना पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार २०८० बाट सम्मान गरेको छ। जनही नगद १ लाख रुपैयाँ राशीको उक्त पुरस्कार मोरङका पत्रकार मोहन भण्डारी, उदयपुरका पत्रकार श्यामकुमार राई र सुनसरीका पत्रकार प्रदिपकुमार म्याङ्वोलाई प्रदान गरिएको छ।
प्रकाशित: १५ जेष्ठ २०८० १७:४४ सोमबार