नेपाल र भारतका सीमावर्ती सुरक्षा पदाधिकारीहरुको बैठक भारत बिहारको सीतामढीमा सम्पन्न भएको छ।
भारत बिहार प्रान्तको सीतामढी जिल्लासित सिमाना जोडिएका नेपालका जिल्लाका सुरक्षा पदाधिकारीहरुको संयुक्त बैठक शनिवार सीतामढीमा भएको हो।
बैठकमा खुला सीमानाकाका कारण हुन सक्ने चोरी चस्करी नियन्त्रण, लागू औषध तथा मदिराको ओसारपोसार नियन्त्रण, सूचना आदानप्रदान, अवैध मुद्राको कारोबार नियन्त्रण तथा सुरक्षा संवेदनशीलताको विषयमा छलफल भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
बैठकमा नेपालको सर्लाही, महोत्तरी र रौतहट तथा भारतको सीतामढी जिल्लाका पदाधिकारीहरु र सम्बद्ध अधिकारीहरु सहभागी थिए।
महोत्तरीका प्रमुख जिल्ला अधिकारीको नेतत्वमा छलफलको लागि गएको टोलीमा महोत्तरी, सर्लाही र रौतहटका प्रमुख जिल्ला अधिकारी, महोत्तरी र सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी, तिन वटै जिल्लाका नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक र तिन वटै जिल्लाका भन्सार कार्यालयका कार्यालय प्रमुखहरु सहभागी थिए।
यसै गरी भारतको तर्फबाट सीतामढी जिल्लाका मुख्य जिल्ला अधिकारीको नेतृत्वमा पुलिस अधिक्षक, भन्सार प्रमुख तथा एसएसबिका पदाधिकारीहरु सहभागी थिए।
दुवै देशका सीमावर्ती पदाधिकारीहरुबीच सौहार्द्रपूर्ण वातावरणमा छलफल सम्पन्न भएको र छलफल उपलब्धिपूर्ण भएको सर्लाहीका प्रजिअ यादवले जानकारी दिए।
प्रकाशित: १३ जेष्ठ २०८० १४:१५ शनिबार