५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

रायमाझी, खाण र पाण्डेमाथि थप ६० दिन अनुसन्धान हुन सक्ने !

नक्कली भुटानी शरणार्थी प्रकरण

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे (तत्कालीन गृहसचिव) नीतिगत निर्णय गर्ने भूमिकामा रहेको किटान गर्दै प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। 

अलगअलग भूमिका किटान गर्दै प्रहरीले पक्राउ परेका १६ जना र पक्राउ नपरेका १७ जना गरी ३३ जनाविरुद्ध मुद्दा चलाउन राय दिँदै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो। तर प्रहरीले पक्राउ परेका सबै र फरार तथा शंकाको घेरामा रहेकाहरूलाई पुनः अनुसन्धान गर्ने बाटो पनि खुला राखेको छ। प्रहरीले पीडितहरूबाट पूरक निवेदन लिएर थप ६० दिन अनुसन्धान गर्ने अधिकार राखेर सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पठाएको छ।  

सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले प्रहरीले पूरक निवेदन लिएर पुनः ६० दिनसम्म थुनामा राखेर अनुसन्धान हुन सक्ने बताए। ‘पुनः अनुसन्धान गर्नुपर्ने अवस्थामा पहिलाको जस्तै थुनामा लिएर प्रहरीले अनुसन्धान गर्नेछ,’ सहन्यायाधिवक्ता न्यौपानेले भने। प्रहरीले पीडितहरूका तर्फबाट पूरक निवेदन लिइरहेको छ। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म प्रमाण भेटिएकाहरूको अनुसन्धान प्रतिवेदन बुझाए पनि थप व्यक्तिमाथिको अनुसन्धान जारी रहने दाबी गरे। 

प्रहरीले ३० जनाको नामथरसहित अन्य तीनजनाको नामथर नखुलेको अवस्थामा ३३ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाएको छ। ‘अहिलेको अवस्थामा हामीले उपलब्ध प्रमाणका आधारमा अनुसन्धान गरेका छांै, तथ्य र प्रमाण भेटिए पुनः अनुसन्धान हुनेछ,’ एसएसपी कार्कीले भने। उनका अनुसार मुद्दामा कसुरदार ठहरिएकाको हकमा अहिले मागदाबी गर्ने र पछि थप तथ्य खुलेको अवस्थामा अनुसन्धान जारी रहनेछ। ‘अहिले वस्तुनिष्ठ प्रमाण नभएको अवस्थामा पछि पनि मुद्दा लाग्ने गरी हामीले काम गरेका छौं,’ एसएसपी कार्कीले भने। एसएसपी कार्कीले मुद्दामा उजुरीकर्ताको दाबीका आधारमा २७ करोड रूपैयाँ बिगो मागदाबी लिन सकिने राय दिइएको बताए।

जिल्ला प्रहरी परिसर काठमाडौंले संगठित अपराधमा अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउँदा तीनवटा कसुरलाई मुख्य मानेको छ। अर्थात् उनीहरूलाई संगठित अपराध, ठगी, राज्यद्रोहको मुद्दा लगाउन सिफारिस गरिएको छ। भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन किर्ते गरेको कसुर मुख्य अभियोग बनेको छैन। 

सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारमा पनि अनुसन्धान गर्नुपर्ने ठहर गरिएको छ। प्रतिवेदनमा प्रहरीले सो कसुरमा पनि लेखिपठाउन सिफारिस गरेको छ। ‘प्रहरीका तर्फबाट सबै अनुसन्धान पूरा गरेर प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ,’ प्रहरी परिसरका प्रमुख कार्कीले भने। प्रहरीले संगठित अपराधमा करिब ६० दिन अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन तयार पारेको थियो। सो अनुसन्धान प्रतिवेदनमा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण र नेपाल सरकारका सचिव पाण्डे (पूर्वगृहसचिव) लाई निर्णयकर्ताका रूपमा किटान गरिएको छ।

‘उहाँहरूले नीतिगत निर्णय गर्नुभएको छ। सबैभन्दा ठुलो प्रभाव नै उहाँहरूले पार्नुभएको हो। बिचौलियाको प्रभावमा परेको देखिन्छ,’अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने। सानु भण्डारी र केशव दुलाललगायत बिचौलियाको भूमिकामा रहेको प्रहरीले जनाएको छ।

पूर्वउपप्रधानमन्त्री रायमाझी बिचौलियाको भूमिकामा पनि रहेको प्रतिवेदनमा उल्लेख छ। यसमा पूर्वउपप्रधानमन्त्री तत्कालीन गृहमन्त्री रामबहादुर थापाको सचिवालयमा रहेका सुरक्षा सल्लाहकार इन्द्रजित राई, प्रतीक थापा र पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझीले बिचौलियालाई संरक्षण गरेको सो प्रतिवेदनमा उल्लेख छ। प्रहरीले उनीहरूसँगै शरणार्थी बनेर अमेरिका जान खोज्नेसँग पैसा उठाउने र मुख्य योजनाकारका रूपमा केशव दुलाल र सानु भण्डारीलाई किटान गरेको छ। सागर थुलुङ राई, टंक गुरुङ, गोविन्दकुमार चौधरी, गजेन्द्र बुढाथोकी र सन्देश शर्मालगायतले एजेन्टका रूपमा काम गरेको उल्लेख छ। प्रहरीले उनीहरूले ११३ जनाबाट १० लाखदेखि ५० लाख रूपैयाँसम्म असुलेको उल्लेख गरेको छ। यो प्रकरणमा संलग्न ३२ जनाबाट २७ करोड ५० लाखभन्दा बढी बिगो असुल गर्नुपर्ने प्रहरी अनुसन्धान प्रतिवेदनमा भनिएको छ। तर एकजनाको अझै नामथर खुलाउन सकेको छैन।

प्रहरीका अनुसार प्रतिवेदनमा ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, किर्ते र प्रमाण नष्ट गरेको विषयलाई प्राथमिकताका साथ उल्लेख गरेको छ। यद्यपि किर्ते तथा सरकारी प्रमाण नष्टबारे प्रहरी प्रतिवेदन प्रस्ट नभएको सरकारी वकिल कार्यालय स्रोतको भनाइ छ। केही व्यक्तिमाथि थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पठाउन पनि सिफारिस गरेको छ। ‘हामीले गर्ने अनुसन्धान भएको छ, थप छानबिनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पत्राचार गर्नुपर्ने उल्लेख गरेका छौं,’परिसर प्रमुख एसएसपी कार्कीले भने। प्रहरीले सरकारी साक्षी पनि राखेको छ। भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउने भन्दै गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो। सो कार्यदलमा सहभागी भएका सदस्यहरू साक्षीमा राखिएका छन्।

कार्यदलका संयोजक पन्थी, कार्यदलका सदस्य गणेश केसी, गृह मन्त्रालयका तत्कालीन सहसचिव फणीन्द्रमणि पोखरेल पनि सरकारी साक्षीका रूपमा सिफारिस गरेको छ। सरकारी वकिलको कार्यालयले सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेको नेतृत्वमा आठजनाको समूह बनाएर सो प्रतिवेदन अध्ययन गर्ने र अदालतमा बुधबारसम्म मुद्दा बुझाउने भएको छ। ‘हामी रातभर काम गर्नेछौं, प्रहरीको प्रतिवेदन अध्ययन गर्नेछौं,’सहन्यायाधिवक्ता न्यौपानेले भने। उनले प्रतिवेदन सबै अध्ययन नगरी कुनै पनि कुरा भन्न नमिल्ने पनि बताए।  

मन्त्रालयमै बिचौलियासँग बैठक  

प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा खाण २०७८ पुस २९ मा गृहमन्त्री भएपछि बिचौलियासँग बैठक गरेको उल्लेख छ। २०७९ पुस ११ सम्म गृहको नेतृत्वमा रहेका खाणसँग भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्ने गिरोहले मन्त्रालयमै भेटेर बैठक गरेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। सो प्रतिवेदनअनुसार पूर्वउपप्रधानमन्त्री रायमाझीपछि पूर्वगृहमन्त्री खाणलाई गिरोहले दोस्रो चरणमा जोडेर बैठक गरेको सो प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा पहिलो चरणको प्रक्रियामा रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, छोरा प्रतीक थापा र एमाले सचिव (हाल निलम्बन) टोपबहादुर रायमाझीमार्फत नै काम भइरहेको तर सरकार परिवर्तन भएपछि उनीहरूबाट काम लिन नसकेपछि खाणसँग बैठक गरेर कार्यदलको प्रतिवेदन कार्यान्वयनमा गर्ने निर्णय गराएका थिए।

शरणार्थीका नाममा ठगीधन्दा चलाउने मुख्य योजनाकारमा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, मोरङ घर भएका केशव दुलाल र ललितपुर घर भएका सानु भण्डारी हुन् भन्ने स्पष्ट उल्लेख गरिएको स्रोतले जनाएको छ। भण्डारी नेपाल स्याटेलाइट कम्पनीमा काम गरिरहेका बेला रायमाझी पनि सानुको घरनजिकै बस्ने भएकाले मामा नाता लगाउँदै योजना बनाएको पनि सो प्रतिवेदनमा उल्लेख छ। रायमाझीले नै दुलाल र भण्डारीलाई राईसँग चिनजान गराएर काम अघि बढाउन भनेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।  

यी हुन् फरार आरोपी  

प्रहरीले मिसिलमा केही व्यक्तिहरू फरार रहेको उल्लेख छ। गिरोहमा संलग्न एमाले उपाध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, निरज राई, बेचन झा, केशव तुलाधर, अशोक पोखरेल, लक्ष्मी महर्जन, धिरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी र रमा थापालाई फरारको सूचीमा राखेको छ। त्यसबाहेक एक जना नामथर खुल्न नसकेको व्यक्तिलाई पनि फरार सूचीमा राखेको छ। नाम खुलेको तर ठेगाना नखुलेका दुई व्यक्ति छन्। अशोक पोखरेललाई भने प्रहरीले अमेरिकामा रहेको पहिचान गरेको छ।

प्रकाशित: ९ जेष्ठ २०८० ००:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App